पुस महिना। निधारमा सुदूरपश्चिम यातायात, परेलामा धनगढी-काठमाडौं र ओठमा रात्री बस लेखेको गाडी बिहान करिब ८ बजे काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्पबाट एक सय मिटर अगाडिको पुल क्रस गरेर रोकिन्छ।
रोकिनासाथ लस्करै यात्रुहरू ओर्लिने क्रम जारी छ। त्यही बसबाट २२/२५ वर्ष जतिको एक लुखुरे केटो झोला बोकेर ओर्लन्छ। बसको सामान राख्ने पछाडिको डिक्कीबाट कपडाको टुक्रा जस्तोले मुख बाँधेको एक बोरा झिक्छ।
चामलको बोरा रहेछ। उसले त्यो बोरा सडक किनारमा राख्न मात्र के खोजेको थियो नजिकैबाट कसैले उसको हात समात्दै भन्छ, 'ए दाइ, मेरो दाइ, ट्याक्सी-ट्याक्सी, कता जाने दाइ? आउनुस् न।'
उसको झोला बोक्न खोज्छ मानौं कि उसको आफ्नै दाइ नै हो जस्तो। तर उसले त्यो ट्याक्सीवालाको वास्तै गरेन। किनकी कलंकीबाट ट्याङ्लाफाट हुँदै हिँडेर कीर्तिपुर पुग्न जम्मा बिस मिनेट लाग्छ भन्ने सुँगा रटाइ बिर्सेको थिएन उसले।
त्यसैले सडकको पेटीमा उक्त सुँगा रटाइ सिकाउने साथीको प्रतीक्षामा बस्ने विचार गर्यो। बस्यो।
पुसको महिनाको बिहानी चिसो समय। उसले यताउती हेर्यो। उसका आँखा नजिकै सडक किनारमा आगो बालेको ठाउँमा परे। ऊ आगो नजिक गयो। छेउमा एकजनाले चारपाङ्ग्रे ठेलागाडामा चिया पकाइराखेको थियो।
रात्री बसको अनिँदो, बसको भुइँचालोवाला कम्पनसहितको थकाइ अनि यात्रा क्रममा बाटोका पसलहरूमा पाइने खान मन नलागी-नलागी खाएको खानेकुराको बाबजुत पनि गाडीबाट ओर्लिनासाथ चिसो सिजन भएकोले उसले त्यो ठेलागाडाको चिया पसलेलाई एक कप दूधचिया माग्यो र नजिकै बलिरहेको आगो ताप्दै चिया घुट्क्याउन थाल्यो।
आगो ताप्दै चिया पिउँदै गर्दा करिब दश मिनेट जति भएको थियो। कतैबाट उसको नाम लिएर बोलाएको आवाज आयो। फर्केर हेर्दा उसले देख्यो। चिन्यो कि उसलाई साथै लैजान आउने उसको साथी पो रहेछ।
एकछिन दुवै जनाको सामान्य गफगाफपछि चिया पसलेलाई चियाको पैसा कति भनेर सोध्दा पसलेले बिस रुपैयाँ भन्यो।
उसको साथी बोल्यो, 'बिस हो र दाइ?'
जवाफ आयो, 'दूधचियाको पन्ध्र अनि आगो तापेको पाँच।'
उसले बिस तिर्यो र उसले मनमनै सोच्यो, चिया पिउनु कहाँ सजिलो रहेछ र काठमाडौंमा!
नभन्दै उसको साथीले बोल्यो, 'काठमाडौंमा त सास फेरेको पनि पैसा लाग्छ हौ।'
दुवै जनाको सामान्य भलाकुसारीपछि घरबाट आमाले पठाइदिनु भएको चामलको एक बोरा र झोला भएकोले दुवै जनाले हिँडेर नगई सार्वजनिक गाडी चढेर उसको अबको गन्तव्य कीर्तिपुर जाने निर्णय गरे।
कीर्तिपुर जान दुई वटा गाडी चढ्नुपर्ने साथीले जानकारी गरायो। दुवैजना कीर्तिपुर जाने भनी गाडीमा चढे। कन्डक्टरको थप्पड खाँदै बस अघि हुइँकियो।
बसमा बसिसकेपछि उसको साथीले उक्त बसको कन्डक्टरतर्फ इसारा गर्दै 'बल्खुवारि' भन्यो।
यो बल्खुवारि के हो? उसले केही बुझेन। लगत्तै कन्डक्टरले भाडा माग्न आउँदा पो थाहा भयो, बल्खुवारि भनेको त कीर्तिपुर जानको लागि चढेको गाडी चढी उत्रिने पहिलो ठाउँ पो रहेछ।
उसको साथीको विद्यार्थी परिचयपत्रले बसभाडा आधा मात्रै तिर्नुपर्ने तर उसको विद्यार्थी परिचयपत्र नभएर पुरै १५ रुपैयाँ गरी २३ रुपैयाँ तिर्नुपर्नेमा 'चानचुन छैन दाइ' भन्दै कन्डक्टरको मसिनो सुने नसुनेजस्तो गर्नुपर्ने स्वरसहित २५ रुपैयाँ तिरेर दुवैजना बल्खुवारि गाडीबाट ओर्लिए।
त्यहाँबाट अर्को गाडी चढ्नुपर्ने रहेछ। दुवैजना चामलको बोरा र झोला बोकी गाडीबाट ओर्लिएर बाटो काट्दै कीर्तिपुर जाने बाटोमा पुगे। बल्खुपारी पुगेर कीर्तिपुर जाने बस कुरे।
एकछिनमा निधारमा 'कीर्तिपुर यातायात' अनि परेलामा 'कीर्तिपुर पाँगा' लेखिएको एउटा बस आयो। बस पुरै रोकिन नपाउँदै बसको ढोकैबाट एक जना हतार-हतार 'ओ पाँगा, पाँगा ओ... कीर्तिपुर, कीर्तिपुर..., सिट खाली, सिट खाली' भन्दै ओर्लियो र अझै भट्याउन थाल्यो दोहोरर्याइ तेहर्याइ।
यो आवाजको गुन्जन सकिन नपाउँदै बल्ल बस स्टपमा रोकियो। बसमा खाली सिट त के बसको ग्यालरीमा उभिएका यात्रुहरू बस बाहिरबाटै प्रष्ट देखिए। त्यो अघि चिच्याउने मान्छे बसको पछाडिको चक्कामा उक्लेर बसको झ्याल खोल्दै बसको ग्यालरीमा उभिएका यात्रुहरूलाई भन्न थाल्यो- 'ए दिदी, अलि पछाडि गैदिनू न, अलि पछाडि। ए दाइ टाउको उता फर्काउनु न, ए रातो क्याप लाउने अङ्कल अलि खुट्टा सार्नू न। मिलेर जाम् हो मिलेर....'
अनि बाहिर उभिएर बस कुरेर बसेका मानिसहरूलाई भन्न थाल्यो- 'ओ कीर्तिपुर, पाँगा-पाँगा, पाँगा… सिट खाली, सिट खाली।'
(त्यो दृश्यले कीर्तिपुर जाने अधिकांश बसमा जहिले पनि सिट खाली हुन्छ या कन्डक्टरको सुँगा रटाइ मात्र हो।)
दुवैजना उक्त बसको ढोकामा उक्लिए। चामलको बोरा ढोकाबाट अलि माथि अड्याउनासाथ उक्त बोरामाथि यात्रुहरूको खुट्टा बर्सिन थाले। चामल बस गुड्न थाल्यो। उनीहरू पनि बसको ढोकाको छेउ समातेर उभिए।
यात्रुहरूको एकअर्काको कहिले कुहिनो, कहिले टाउको ठोक्किँदै गरेको दृश्य देखिन थाले र अघि चिच्याइरहेको कन्डक्टरले चिच्याउने भाषा परिवर्तन गरेर भन्दै थियो- 'ए भाडा मिलाम् है, भाडा मिलाम्, चानचुन दिनु न है, चानचुन।'
उनीहरूले पनि भाडा दिन एउटा कार्ड दुई जना भन्दै ३० रुपैयाँ दिए। भाडा २३ रुपैयाँ बुझाउनुपर्नेमा अघि कलंकीको कन्डक्टरले जस्तै 'चानचुन छैन है दाइ' भन्दै २५ रुपैयाँ लिएर ५ रुपैयाँ फिर्ता गर्यो।
उसलाई लाग्यो कि काठमाडौंका सबै कन्डक्टरलाई एउटै कक्षामा एउटै खालको 'चानचुन छैन भनी भाडा बढी लिने' तालिम दिएजस्तो।
उनीहरूले पनि भाडा उक्त कन्डक्टरलाई बुझाउन मात्र के पाएका थिए, कन्डक्टर फेरि चिच्याउन थाल्यो- 'पाँगा दोबाटो छ, पाँगा दोबाटो?'
तिनीहरू ओर्लिनुपर्ने त्यही पाँगा दोबाटो रहेछ। उसको साथीले मुख फोर्यौ, 'पाँगा दोबाटो छ है।'
बस रोकिएजस्तो मात्र के हुन लागेको थियो अघि कराउने कन्डक्टर कराउन थाल्यो, 'ए दाइ, छिटो झर्नू न।'
उसले सोच्यो, कलंकीमा चिया खान आगोको पैसा तिर्नुपर्ने, सार्वजनिक गाडीको कन्डक्टरसँग चानचुन पैसा नहुने। यात्रुले बढी भाडा तिर्नु नै पर्ने। काठमाडौंमा गाह्रो रहेछ।
उनीहरू पाँगा दोबाटो ओर्लिए।
उसको साथीले कोठामा तरकारी छैन, किनेर जाने भन्यो। तरकारी किन्न भनी उनीहरू अगाडि बढे। दोबाटो नजिकै एउटा सुन्दर कलाकृतिले भरिपूर्ण बुद्धबिहार देखियो। त्यस बिहार नजिकैको ओरालो बाटोमा थुप्रै मानिसहरूको घुइँचो थियो।
उनीहरू पनि त्यसै घुइँचोमा मिसिन पुगे। फुटपाथमा डोको-नाङ्लोमा प्राय: बोडी, रायोको साग, मटर कोसा, टमाटर, चिप्ले भिण्डी, काउली, खुर्सानीलगायत यस्तै-यस्तै तरकारी राखिएको थियो। उसको साथीले एकजना अधबैँसे महिला पसलेलाई सोध्यो- 'दिदी, बोडी कसरी?'
दिदीको जवाफ आयो, 'दश रुप्पे दाइ।'
साथीले दश रुपैयाँको नोट पसले दिदीलाई दियो। पसले दिदीले दुई सय ग्राम बोडी तौलेर दिइन्।
उसको साथीले भन्यो, 'काठमाडौंमा एक पाउ भनेको दुई सय ग्राम हो, पाँच पाउको एक किलो।'
अनि उसले थाहा पायो कि, अघिको त्यो दश रुप्पे भनेको त एक पाउ बोडीको रुपैयाँ दश पो रहेछ।
त्यो पसलमा टमाटर नभएर साथीले अर्को नजिकैको पसलको साहुजीलाई नि उही पारामा सोध्यो, 'दाइ टमाटर कसरी?'
जवाफ आयो, पन्ध्र।
उसको साथीले सुनायो, यो बजारको खासियत भनेकै त्रिभुवन विश्वविद्यालय पढ्ने लगायत कीर्तिपुर बस्ने अधिकांश विद्यार्थीहरू यहाँ तरकारी किन्न आउने र अधिकांशले पाउ मात्र तरकारी किन्ने भएकोले पाउमा सामान किनबेच बढी हुने हुँदा पसलेले तरकारीको मूल्य किलोमा नभनी पाउमा सुनाउने गर्छन्।
उसको साथीले एक पाउ गोलभेडा किन्यो। उसले सोच्यो, कीर्तिपुरको पाउ बजार भनेको यो पो रहेछ। दुवै जना बाटो लागे।
सुखी हुनका लागि आर्थिक समृद्धि पहिलो अनि महत्त्वपूर्ण कुरा हो। देशभित्र प्रशस्त मात्रामा काम नपाउनु जसले गर्दा आफ्नो अनि परिवारको आकाङ्क्षा आपूर्ति गर्न नसक्नुले सिर्जित गरिबी र सोको कारणले विरक्त भएर कतिपय मानिसहरू आफ्नो जन्मथलो छोड्दछन्, देश छोड्दछन्।
तिनीहरू मध्येका केहीले आफ्ना छोराछोरीको भविष्य राम्रो होस् र पछि राम्रो होला भनी आफ्नै गाँउमा ज्यालामजदुरी गरी या साहु महाजनहरूसँग ऋण निकालेर भए पनि आफ्ना छोराछोरीहरूलाई उच्च शिक्षा आर्जन गराउन कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना गराउने र यतै कीर्तिपुर पाँगातिर कोठा भाडामा बस्न लगाउदा रहेछन्।
विद्यार्थीहरू पनि स्नातक सकेर त्रिभुवन विश्ववद्यालय कीर्तिपुरबाट आफ्नो उच्च शिक्षा अध्ययन गरेर 'चिल' बन्ने धोको (सबैभन्दा उचाइमा उड्न सक्ने पंक्षी) लिएर पुग्नुपर्ने ठाउँ ठान्दा रहेछन् र पुग्दा रहेछन् पनि।
ऊ पनि यस्तै चाहनाले कीर्तिपुर आएर त्रिभुवन विश्ववद्यालयमा स्नातकोत्तर पढ्न भर्ना हुन पुग्यो। भर्ना भयो। स्नातकोत्तर अध्ययन गर्न थाल्यो। कीर्तिपुरको अस्थायी बासिन्दा हुन पुग्यो।
सुरुसुरुमा त उसलाई कलंकीको चिया पिउँदा आगो तापेको पैसा तिरेको, चानचुन पैसा नहुने बसको कन्डक्टर अनि गाडी पूर्ण रुपमा नरोकिँदै ओर्लिनु पर्ने कुराले काठमाडौं नरमाइलो लागेको थियो। तर विस्तारै उसले रत्नपार्कको आकाशे पुल तथा कीर्तिपुरको बाघभैरब मन्दिरबाट देखेको काठमाडौं वास्तवमा फरक पायो।
कीर्तिपुरमा बसी त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्री पढ्ने हुँदा कीर्तिपुरको माइक्रो चढी विद्यार्थी परिचयपत्र देखाएर बल्खुपारि पुग्नासाथ सहर उपनामले चिनिने काठमाडौं निकै ठूलो, विशाल अनि राम्रो लाग्यो।
किनकी यहाँ ठूल्ठूला भवनहरू, बाटाहरू पनि निकै ठूलो अनि फराकिला, टन्नै गाडीहरू कुद्ने, जता गए पनि मानिसहरूको अनि गाडीहरूको भिडभाड, अस्पताल, सिनेमाहल, होटेल तथा लजहरू, स्कुलदेखि विश्वविद्यालयसम्मका थुप्रै शैक्षिक संस्थाहरू, मन्दिर अनि गुम्बाहरू, नाचघरदेखि फनपार्कसम्म, मजबुत सुरक्षा संयन्त्र, एयरपोर्ट, मुख्य प्रशासकीय अड्डाहरू, सपिङ मलहरू ठाउँठाउँमा भएको अनि केही राम्रै घुम्ने ठाउँहरू लगायतका थुप्रै अन्य कुराहरूले होला सायद।
उसलाई पनि जे देख्यो त्यही राम्रो, अचम्म अनि अनौठो निकै विशाल अनि गज्जबको लाग्यो कीर्तिपुर अनि काठमाडौं। थरिथरिका मानिसहरू अर्थात् थोरै लेखेर धेरै नाम कमाएका देखि धेरै लेखेर थोरै नाम कमाएसम्मका सबैका थरिथरिका मानिसहरूको आ-आफ्नै व्यस्तता। यिनीहरू सबैका आ-आफ्नै कथा-व्यथाहरू जो कपुरझैँ बिलाउने बाहेक पूरा होलान् जस्तो लाग्दैनथ्यो उसलाई। किनकी अधिकांशको बोली कमजोर पायो उसले। थियो पनि सायद।
उसले यहाँ बस्दै गर्दा महसुस गर्यो कि, यहाँ पुगेका अधिकांश मानिसहरू आर्थिक रूपमा सुकिला देखिन्छन् र देखाउने प्रयास गर्दछन् पनि। आधारभूत जीवनशैली प्राप्त छ। अर्थात् भौतिक रूपमा दुःख प्रवेश गर्ने प्वाल त्यति सहजै देखिँदैन वा तिनीहरू देखाउन चाहँदैनन्। तर किन हो तिनीहरू पटक्कै खुसी देखिँदैनन्, कुनै घाउलाई दबाएजस्तो।
यहाँ आएर तपाईं हामीहरूले सुन्दा उस्तै लाग्ने 'खुसी' अनि 'सुखी' शब्द वास्तवमा फरक चिज नै रहेछ भन्ने एक खालको धारणा बनाउन कुनै फरक अनि आपत्ति नरहला। यहाँ इन्ट्री भैसकेका धेरै मानिसहरू आफ्नो यस्तै खुसी नहुँदाको जिन्दगीभित्र अटाउँदारहेछन् वा सिङ्गो जिन्दगी बितेको पत्तै नपाउँदा रहेछन्। किनकी उनीहरू कीर्तिपुर अनि काठमाडौंलाई निकै ठूलो देख्दा रहेछन्, एकपल्ट पुग्नैपर्ने ठाउँ सम्झँदा रहेछन्।
उसले जे जसो सिके/नसिके पनि अब कीर्तिपुरमा ऊ निकै घुलमिल भैसकेको छ। दिउँसो त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्न जाने, साँझ-बिहान पाउ बजारवाला पाँगा जक्सनमा चिया डोनट खान हाजिर लगाउने अनि शनिबार ठूलो झोला बोकी (मानौं महिनौंसम्मको लागि कतै भ्रमणमा जाँदैछ) दूधपोखरीको धारामा गएर नजिकैको पसलबाट एक घण्टाको रुपैयाँ बीस तिरेर एउटा बाल्टी/बाटा भाडामा लिएर लुगा धुने र नुहाउने दैनिकी छ उसको।
कीर्तिपुरमा उच्च शिक्षा आर्जनका लागि आउने अधिकांशको दैनिकी भनेको विश्वविद्यालयमा पढ्ने र पढाउँदै गर्दा त्यहाँ पढाउने अधिकांश प्राध्यापकहरूले आफूले पढाउने विषयको नोट 'फलानो पुस्तक पसलमा छोडिदिन्छु, फोटोकपी किनेर लैजानू' भनी कक्षाकोठामै उद्घोषण गर्दा कक्षा सकिनासाथ धेरैजसो विद्यार्थीहरू हतार-हतार त्यो पुस्तक पसलतिर दगुर्ने।
त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका निजी पुस्तक पसलमा पाइने अग्रज विद्यार्थीहरूले बनाएर थोरै दाममा अर्थात् चटपटे दाममा बेचेका रफ नोटबुकका फोटोकपी किनेर पढ्ने (हाल यस्तो नहुन सक्छ)। त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको केन्द्रीय पुस्तकालमा गएर निकैबेर लगाएर खोज्दा पनि मुस्किलले भेट्टिने पुराना पुस्तकहरू।
लेख्नको लागि रुपैयाँ दश पर्ने जिस्ताकापी अनि दिनभरिको भोकलाई मज्जाले तह लगाउने एकमात्र उपाय पाँगा दोबाटोको सस्तो चियापसलको दूधचिया र डोनट। साँझ बिहानको छाक टार्न घरबाट बुबाआमाले पठाइदिएको मोटो चामलको भात जसलाई साँझ बिहान दुवै छाकलाई पुग्ने गरी एकैपटक पकाउने, दालको रुपमा गुन्द्रुकको झोल।
कहिलेकाहीँ तरकारीको रुपमा पाँगा दोबाटोको ओरालोमा रहेको पाउ बजारको दश रुपैयाँको दुई मुठा साग या पाउ तरकारी अनि जाडो छेक्न त्यहीँ नजिकैको फुटपाथ पसलमा दिनको दुई-तीन चोटि चक्कर लगाएर बार्गिनिङ गरी अन्तिममा रुपैयाँ एक सयको तीन जोर मोजा।
कीर्तिपुर बस्न आएका अधिकांश विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयबाट आफ्नो उच्च शिक्षा अध्ययन गरेर चिल बन्ने धोको लिएका हुन्छन्। चिल अर्थात सबैभन्दा उचाइमा उड्न सक्ने पंक्षी।
तर सबैको धोको 'चिल' नभए पनि अधिकांशको धोकोलाई 'चिल' बनाउन सफल देशको अग्रणी शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालय, साथीहरू भेटघाट गर्ने मुख्य ठाउँ कीर्तिपुरको पाँगा, त्यहाँको सस्तो पसलको दूधचिया र डोनट अनि तरकारी किन्ने पाँगा दोबाटो नजिक बुद्धविहारको ओरालोको पाउ बजार भुल्न हैन, सम्झिन ज्यादा मज्जा आउँछ।
वर्तमान समयमा हेर्दा यहाँको सबैभन्दा ठूलो चुनौती आवासको गुणस्तरीयता हो। जसलाई सम्बन्धित निकायले स्वीकार गरी समाधान गर्न पहल गरोस् र चाँडै समाधान होस्। बस्ने खर्चबारे व्यवस्थापन होस्।
काम पाउने ठाउँ (लेबर मार्केट) बारेमा अनुसन्धान होस् र श्रम बजारमा काम गर्न इच्छुकले आ-आफ्नो योग्यता, क्षमता, समय तथा आवश्यकताअनुसारको रोजगारी पाओस्। सबैले अनुभूति गर्न सक्ने किसिमको भरपर्दो, आधुनिक तथा दिगो विकास होस्।
विकृति, जटिलताहरू, सङ्कूचित बन्धनहरूको प्रभावकारी व्यवस्थापन होस्। पाउ बजार हुर्कँदै, बढ्दै, सुध्रँदै अनि सप्रिँदै किलो बजारमा परिणत होस्। सबैले महसुस गरून् कि, 'सम्पन्नता कीर्तिपुरमा फर्कदैछ' अनि 'फस्टाउँदो र फस्टाउँदै कीर्तिपुर' को नारा सबैको मुखबाट गुञ्जियोस्।