सप्तरंगी इन्द्रेणीको देश मेरो!
सातै रंगले रंगिएको सातै प्रदेश मेरो!
पूर्वीय इलाममा झूल्कीन्छ पहिलो किरण जहाँ,
केचनाको ६० मिटरदेखि छ सर्वोच्च शिखर,
हिमश्रृङखलाले गाँसेका छन् सोलुदेखि कन्चनजंघा,
तिनकै हिउँ बोकी बग्दैछ सप्तकोशी सातै नदी समेटी।
चौधै जिल्लाको प्रदेश एकको फुलबारी,
हिमाल,पहाड,तराई,अनेकौं छन् सम्पदाको घारी,
यस ईन्द्रेणीमा मधेशको रंग बेग्लै छ,
मिथिलाञ्चलको शेष,छठ मैया को विषेश छ,
माता जानकीको जन्मभूमि,
भगवान् रामको विवाहको पावनभूमि।
ताल तलैया,मन्दिर,उत्सव जनकपुरको पहिचान,
विवाह पन्चमी,परिक्रमा यात्राको छ विशेष स्थान।
बागमतीको गौरव नै हो स्वर्णिम कान्तिपुरी,
देवादी देव महादेवको हो बासस्थान,
स्वयम्भू र अनेक मठ-मन्दिरको शहर,
चाडपर्व र जात्राले विश्व लोभ्याउँछ सधैंभर।
उत्तरमा गोसाइँकुण्ड,
पूर्वमा गौरीशंकर,जुगल हिमाल,
दक्षिण चितवनमा,दुलर्भ वन्यजन्तुको बास।
त्यसैत रंगिन छ,सबैको ढुकुढुकी प्यारो गण्डकी,
उठेदेखि नसुतेसम्म जिवन्त रमाईलो छ पोखरा!
गोर्खा गोरखालीको,लम्जुङ्ग गुरुङको भन्छन् किल्ला,
चुम उपत्यका,मनास्लु त्यतिकै छ अदभूत जिल्ला।
मनाङ र मुस्ताङको यात्रा
कल्पना भन्दा मिठा छन्, अतुलनीय ताल,हिमाल र गाउँ घरको सत्कार।
यसै इन्द्रेणीको लुम्बिनीमा जन्मे भगवान बुद्ध,
जसको दर्शनले यहाँ विश्व,शान्ति खोज्न पुग्छन्।
लुम्बिनी माथि पहाडहरूमा रेसुङ्गा र रुरुधाम,
पश्चिममा दर्शन गरौ, सुपादेउराली र स्वर्गद्वारीधाम ।
लुम्बिनी पश्चिममा बाँके बर्दियाका नगर गाउँ।
त्यही छन् घरवाससँगै वन्यजन्तु देखिने ठाउँ,
प्रकृति र संस्कृतिले भरिएको छ कर्णाली,
सुर्खेतको क्राँक्रे विहार र दैलेखमा छन् अखण्ड ज्योति।
रूकुममा हेर्न सकिन्छ, ढोरपाटन,स्यार्पू र सिस्ने हिमाल।
चन्दननाथ र डुडुल चैत्यले थप्यो जुम्लाको शान,
स्वर्गको झै अनुभुती दिन्छ फोक्सुण्डो र रारा ताल।
हुम्लाको लिमी लाप्चा बाट हेर्न सकिन्छ मानसरोवर कैलास।
सूदुरको सुन्दर पश्चिम नै हो घुम्ने ठाउँ,
जहाँ शिरमा छन् अपि र सइपाल हिमाल,
तराईमा छन् शुक्लाफाँटा, भावरको घाँसे मैदान।
भगवती देवीका,सातै दिदिबहिनिको यो बासस्थान,
खप्तड,रामारोशनको पनि त्यत्तिकै छ पौराणिक महिमा,
गौरा र माघीमा देउडा र सखियाले बाँधेको छ समाज,
रातो सूर्य चन्द्र सँगै, इन्द्रेणीको यस देशमा,
हरेक प्रदेशको आफ्नै छ रुप रंग,
यसै इन्द्रेणीका,सातै रंगमा भिज्न र बुझ्न,
घुम्नै पर्ने हुन्छ सातै प्रदेश !