तिमी अझै अग्लो-अग्लो हुँदै जानू
यो विशालतामा अटेको आकाश छुनू
म धरातलमै सदा अडिग रहनेछु
यहीँको खोलानाला, नदीसगैँ बहनेछु
तिमीले ऊ... त्यो क्षितिजगाथा गाउँदै गर्दा
म मेरी आमा धराकै गाथा कहनेछु
तिम्रो आकाशलाई जति नै स्वर्ग भन
आफै स्वर्गकै इनद्रतुल्य देवता बन
म सबै कुरा चुपचाप मौन भई सहनेछु
भन्नेछु बुझाउनेछु यो सारा जगतलाई
कि यही मेरो ठहर हो, आफ्नै घर हो
सुखै सुखको अनुभूत गर्ने दरबार हो
हिरामा धुलो लागेको हुनसक्छ
आँखामा कसिङ्गर पसेको हुनसक्छ
देवता बस्नुपर्ने त्यो पवित्र आसनमा
दानव बसेको हुनसक्छ
पवित्रतालाई ढाकेर विषादले बर्को
ओढेको हुनसक्छ, ढाकिएको हुनसक्छ
क्षणिक सरकार छिनमै हराएको हुनसक्छ
तर यो होइन कि देश हराएको छ
हाम्रो अस्तित्वको सत्यता हराएको छ
अनि इतिहास बोकेको सभ्यता हराएको छ
ती सदाबाहार वीर गाथाहरू हराएका छैनन्
माटो पूज्ने देशभक्तहरू अझै डराएका छैनन्
आज त्याग्दैछौ आफ्नै जन्मभूमि
दाँज्दैछौ कयौँ पराईका सहरहरूसँग
ती बनिसकेका अग्ला-अग्ला धरोहरहरूसँग
रमाइरहेछौ त्यो भ्रमपूर्ण दुनियाँ अंगाली
शून्य आधारको नाङ्गो अस्तित्व समाइरहेछौ
तिमी मलाई-सबैलाई होचो देख्छौ सधैँ
आफ्ना आँखाका डिलमा नानीलाई खसाली
हेरिरहन्छौ यो पवित्रताको दुनियाँलाई
हौला तिमी मभन्दा टाढाको आकाशबासी
तर साथी, म त सदाको पातालबासी!