पिँजडामा थुनिएको सुँगा
वर्षौं वर्षपछि
पिँजडाबाट उन्मुक्त हुँदा
सिङ्गो संसारमा
स्वतन्त्र रुपले विचरण गर्न पाउँछ
हो, त्यस्तै भएको थियो
मलाई सुरुआती दिनमा
तिम्रो दासताबाट मुक्त भएपछि।
अपसोच!
सुँगाले उड्न जानेन
सिङ्गो संसारलाई नियाल्न सकेन
आफ्नो पखेटा फिँजाएर उन्मुक्त भएर
सांसारिक मोह अनुभव गर्न सकेन
गोपिकृष्ण कहुँबाहेक
अन्य बोल्न जानेन।
स्वतन्त्रता र स्वच्छन्दतालाई
उपभोग गर्न सकेन
हो, म सुँगाजस्तै भएँ
आफ्नो जिजीविषाको लागि
अन्न जोह गर्न जानिनँ
परनिर्भरतामा बाँचेको म
आत्मनिर्भर बन्न सकिनँ
मैले यो संसारलाई चिनिनँ
वा
संसारले मलाई चिन्न सकेन।
स्वतन्त्रता र स्वच्छन्दता
मेरा लागि दुर्भाग्य भए
र अन्त्यमा
पुनः म तिम्रो दासतामा रहने
निष्कर्षमा पुगेँ।