ओ! अनुभूतिहरू 
नगिजोल मलाई नबनाऊ दास 
भावनाको भूमरीमा अल्झिने बतास
पर्गेल्न मलाई संवेदनाको थुन चाहिँदैन
समयको सिर्को न हूँ, मन फकाउन नौनी चाहिँदैन 
किन खोज्छौ
खुसी अटाउने तिमी छुट्टै आकाश 
रातहरूको राज त बुझ
मस्तमगन हुन कुनै तारा/जून चाहिँदैन 
ओ! अनुभूतिहरू
म त आफ्नै यादहरूको बर्को ओडेर सुत्छु 
न वर्षाले रूझाउँछ मलाई, न घामको रापले उठ्छु 
म निस्फिक्री हिँड्नेछु मनको 
आफ्नै सुखदुःखको उकाली-ओराली बाटो 
न पुग्नुको चिन्ता कतै, न अलमलिनुपर्ने दोबाटो
कसैको मनदेखि मनसम्म 
को-को गर्दैछ यात्रा यहाँ?
बुझेर जीवनको त्यही, प्रेमको अन्तिम मूल बाटो 
ओ! अनुभूतिहरू 
सम्हाल्दै आफैलाई अचेल 
संगाल्दैछु भुल्काभुल्का जिन्दगी 
नगिज्याऊ मलाई, नबनाऊ दास 
भावनाको भूमरीमा आफ्नै मन गलाई
म हिँडें जीवनभर एक्लै
भाग्य खजमजिएर बनेको 
निधारको धर्सा जस्ता अप्ठ्यारा भिर 
म हिँडें जीवनभर एक्लै
सम्झनु पर्नेहरूले नसम्झिएर 
बिरानो भएका- बोकेर धमिला अतीत
म हिँडें जीवनभर
पारिलो घाममा बिर्सँदै चौतारी 
पुछ्दै एक पछ्यौरी जीवनको पसिना 
र, खै! के बटुल्न
बिर्सेर रहरका आफ्नै गुलियो घार
ओ! अनुभूतिहरू 
नगिजोल मलाई नबनाऊ दास 
भावनाको भूमरीमा अल्झिने बतास  
मन भन्छ
तँ अब कसैको हुनेछैनस्  
घाम बिर्सेर छायालाई पछ्याएपछि
कसैको मनमा को छैन यहाँ 
हिउँबाट पानी छुटिन्छ, घाम बिछ्याएपछि  
यादहरूमा पग्लेर मलाई, न बन्नुछ अतीतको पानी 
जमेर न बस्नु नै छ समयको बनेर बरफदानी 
बोझिलो मन बोक्नु किन ठान्दै पत्थरको खानी 
ढोगीहरूको युग न हो यो, मान्छे सबै दानी 
ओ! अनुभूतिहरू 
नगिजोल मलाई नबनाऊ दास 
भावनाको भूमरीमा अल्झिने बतास  
 
टुलुटुलु टोलाउँदै जोर आँखा बनेको छ मुर्दा 
कस्तो हुनेछ सास छुटेको कुनै लास कुर्दा?
तिमीले मलाई बुझ्न पहिले तिमी ‘म’ हुनुपर्छ 
मैले तिमीलाई बुझ्न पहिले म ‘तिमी’ हुनुपर्छ
जो जे भए पनि त्यो त अस्तित्वको निहीत अनुभूतिमै हुनुपर्छ
ढुंगालाई खोपेर इश्वर बनाउने मान्छेले पनि   
ढुंगाको अस्तित्व ढुंगा नै बुझ्नुपर्छ 
न घुलाऊ मलाई त्यो पानीमा
भो! चिनीको रूप ठानेर 
हरपल म घुलेकै छु आफ्नै जिन्दगानीमा  
 
ओ! अनुभूतिहरू 
नगिजोल मलाई नबनाऊ दास 
भावनाको भूमरीमा अल्झिने बतास।