जब
प्रीतिको गीत सुन्दै
तिम्रो हृदयको सहरमा टेकेँ
मस्तिष्कको महलमा बसेँ
नयनको शयन कक्षमा पल्टिएँ
तब
अचानक तिमीले खसाइदियौ
मेरो शिरमाथि पत्थरको फूल
र
बजाइदियौ बिछोडको घण्टी।
प्रणयको कोसेली सम्झेर-
त्यहीँ फूलकै सिरानी हालेर
सुस्ताइरहेछु हर साँझ
त्यसैले होला
आजकाल त
मभित्र गाडिएको छ-
तिमीले खसाइदिएको
गाढा-गाढा यी पत्थरका फूल।
फूल गाढिएर रस निस्किँदै छ
म भित्रबाट
अनि म आफूले आफूलाई नै
निचोर्दै सोधिरहेको छु-
किन झरे होलान् मेरै शिरमा
त्यो पत्थरको फूल?
अनि
किन बिछ्याइन् होला मेरो पाउमा
त्यो पत्थरको फूल?
आज पनि फूल पत्थरकै छ
तर पनि
पत्थरको फूलले रुप परिवर्तन गर्ने आशमा-
मोबाइलमा लत्रिएको
संजालभित्र
तिमीले भूतकालमा पठाएको
खुइलिएको खामलाई नियाल्दै छु
धमिलो सम्झनामा रहेको
तिम्रै ठेगाना केलाउँदै छु
अनि
बादलभित्र गुटमुटिएको बाफजस्तै
तिमीलाई मुटुमा टाँसेर हिँडिरहेछु।
हो,
पत्थरको फूललाई गुलाबको फूल बनाउने
यात्रामा हिँडिरहेछु।