'अब तिमी ठूली भयौ, यस्तो खेल्नु हुन्न। पुतलीसँग खेलिराख्यौ भने तिमी कहिल्यै ठूली हुनेछैनौ’ आमाले मेरो हातको काठको पुतली फालिदिँदै भन्नुभयो।
'तिमी त अप्सरा हौ, तिम्रो नाम पनि त अप्सरा हो। अप्सराहरू आफैं पुतली हुन्छन्, पुतली खेलाउँदैनन्,’ फेरि आमाले थप्नुभयो।
म कक्षा सातको परीक्षा दिएर घरमा बसेकी थिएँ। मसँग वर्षौंदेखि एउटा काठको पुतली थियो। साथमा उसका लागि आमाका साडीका टुक्राहरू, अंगार, कमेरो र रातो माटो पनि थियो।
ऊ मेरी सखी थिई। म ऊसँग कसैले नदेख्ने गरेर गफ गर्थें। ऊ मेरो लागि सबै थिई। कहिलेकाहीँ बैनी ठानेर शृंगारपटार गरिदिन मिल्ने। कहिलेकाहीँ सखा ठानेर गफ गरिदिन मिल्ने। कहिलेकाहीँ आफैं ठानेर आफैं बनिदिन मिल्ने।
आमालाई केही वर्षदेखि मैले पुतली खेलाएको मन पर्दैनथ्यो। म नछुनी हुन थालेपछि झन् मनपर्न छोडेको थियो। पहिले-पहिले म जाँतो पछाडिको सानो कोठीमा बसेर खेल्ने गर्थें। तर आमाको गाली खान थालेपछि काठको पुतलीलाई मैले मेरै खाटमुनि राख्न थालेँ।
आमा मेलामा गएको बेलामा मलाई रमाइलो लाग्थ्यो। म ऊसँग खेल्न पाउँथें। आमाको आँखा छलीछली पुतलीसँग खेल्ने बानी मेरो गएको थिएन।
आमाले पहिलेपहिले त खेलेको देखेर पनि नदेखेझैं गर्नुहुन्थ्यो। तर खै किन-किन सात कक्षाको परीक्षा दिएपछि आमालाई मेरो पुतली देख्दै रिस उठ्न थाल्यो। खै किन त्यसपछि आमा सधैँ रिसाउन थाल्नुभयो।
आमालाई सबै देखेर रिस उठ्थ्यो, मेरो पुतली देखेर मात्र पनि होइन। बासँग पनि आमा झनै रिसाउन थाल्नुभएको थियो। कहिलेकाहीँ आधा रातमा म बिउँझँदा आमा र बा ठूलो-ठूलो स्वरमा कराएको सुन्थेँ।
एकपटक निद्राबाट बिउँझेको बेला बाले भनेको सम्झन्छु, 'तेरै कारणले मेरो मन बिथोलिएको हो, यस्तै गरिस् भने म पनि कुन दिन घर छाड्छु मैलाई थाहा छैन।’
पहिलेझैं बाआमा गफ गर्न छोड्नुभएको थियो। घरमा पहिलेझैं बाआमाको हाँसिखुसी अनुहार त्यसपछि मैले कहिल्यै देखिनँ।
बाआमाको झगडाले म झन् एक्ली भएकी थिएँ। बासँग केही भनु बा झर्किने। आमासँग केही भनु आमा झर्किने। वरिपरि अरु घर थिएनन्। एउटा भएको पुतली पनि आमाले फालिदिइ सक्नुभएको थियो।
पारि पाखा पात बजाउनेको बाहेक मैले अरु कसैको सुरिलो स्वर घरमा सुन्दैनथेँ। एउटा भएको दाइ पनि एसएलसी दिएपछि काठमाडौं गैसकेको थियो। कहिलेकाहीँ आएको बेलामा पनि मसँग धेरै बोल्दैनथ्यो।
स्कुलमा पनि मेरा धेरै साथी थिएनन्। म मोटी भएकाले मलाई अप्सरा भनेर कोहीकोहीले मात्र बोलाउँथे। प्रायः साथीहरूले मात्र होइन सरहरूले पनि मलाई मोटी नै भन्नुहुन्थ्यो। म पढ्न जान्ने नै थिएँ। मलाई म्याथ र साइन्स विशेष मनपर्थ्यो। त्यसमा पनि अल्जेब्रा अझै मनपर्थ्यो।
थाहा छैन किन-किन मलाई अरुले मन नपराउने-नपराउने चिज मनपर्थ्यो। अरुलाई नेपालीका कविताहरू मनपर्थ्यो। देवकोटाको यात्री कविता ठूलो ठूलो स्वरमा सुनाउँथे। तर मलाई नेपालीका कविता कहिल्यै मनपरेन। मलाई गणितका सुत्रहरू मनपर्थ्यो। मलाई गणितका शूत्रहरू कविताभन्दा बढी मनपर्थे।
तर मलाई मेरो काठको पुतली असाध्यै मनपर्थ्यो। त्यो मसँग मैले थाहा पाएदेखि थियो। मलाई कहिल्यै लागेको थिएन कुनै दिन त्यस्तो आउँनेछ जुन दिनदेखि मैले आफ्नो पुतली पनि फाल्नुपर्नेछ। पुतली फालेका केही दिनहरू मेरा लागि रमाइला थिएनन्। मसँग मैलाई सुनिदिने ऊबाहेक अरु कोही थिएन।
म उसलाई गुमाउन चाहँदैनथें। तर मैले चाहेझैं केही भएन। केही पटक सम्झाउँदा पनि नलागेपछि एक दिन मेरो त्यो काठको पुतली आमाले अँगेनामा हालिदिनु भयो। सायद त्यो उसको अन्त्येष्टी थियो मान्छेको जस्तै। र आमाले मतिर नहेरी भन्नुभयो, 'अबदेखि फेरि यस्तै खेलेको देखेँ भने मैले जानेको छु। छोराछोरी खेलाउने उमेर भैसक्यो पुतली खेलाउँछे।’
त्यसपछि मैले अर्को पुतली बनाउन चाहिनँ। मलाई अरु कुनै काठको टुक्रा फेरि ऊजस्तै अर्को पुतली बन्नसक्छ जस्तो कहिल्यै लागेन। मेरो पुतली जले पनि त्यसले मात्र मेरी आमाको रिस शान्त पार्न सकेन। किन-किन बाआमाको सम्बन्ध पहिलेझैं कहिल्यै भएन।
त्यसपछि बा र आमा बुढाबुढीझैं मलाई कहिल्यै लागेन। विस्तारै उहाँहरूको ओछ्यान फरक हुन थाल्यो। अलि पछि कोठा पनि। दाइ आएको बेला अलिअलि मिलेझैं गरे पनि अरु बेला उहाँहरू राम्रोसँग बोलेको हाँसेको मैले कहिल्यै भेटिनँ।
बाआमाको सम्बन्ध त्यसरी नै चल्दैथ्यो। थाहा छैन के भयो, एक दिन बा बेलुका घर फर्किनुभएन। गाईबस्तु लिएर गोठालो जानुभएको बेलुका गाईबस्तु मात्र फर्किए, बा फर्कनुभएन।
कतिले भने तेरो बाउ तेरी आमाको कचकच सहन नसकेर चितौनको गाडी चढेर गएको छ। कतिले भने नजिकै मस्याङ्दीको बगरतिर गाईबस्तु लगेको थियो हाम फाल्यो होला।
त्यस दिन रातभर आमाले र मैले बालाई कुर्यौं तर बा आउनुभएन।
'मसँग रिसाएर गएका हुन् तेरा बा, दुई/चार दिनमा फर्कन्छन्’ आमाले भन्नुभयो।
भोलिपल्ट दाइ आयो, पुलिस रिपोर्ट लेख्यो, आफन्तलाई खबर गर्यो। तर हराएका बा फर्केनन्। आमा निराश भएझैं त गर्नुभयो तर जति हुनुपर्ने थियो हुनुभएन।
बा नफर्केपछि झन् घर निराश भयो। झन् म एक्ली भएँ। दाइ काठमाडौंतिरै जागिर खान थाल्यो। आमालाई घरधन्दाले फुर्सद हुन छाड्यो। तर बा नभएकोमा आमालाई कुनै गुनासो थिएन। एक तमासले काम गनुहुन्थ्यो।
स्कुलका साथीहरूले मलाई साथी ठान्दैनथे। उनीहरूको लागि म अप्सरा होइन, मोटी थिएँ। उनीहरू मुखै भन्थे- 'यस्ती मोटीलाई साथी भन्ने कि हात्ती भन्ने।’
मैले जाँचमा सिकाइदिनँ भने उनीहरू मलाई हात्ती भनेर बोलाउँथे। त्यसैले मलाई किताबको पानाहरूमा भेटिने हात्ती पनि मन पर्दैनथ्यो। म देख्ने बित्तिकै अर्को पाना पल्टाइहाल्थेँ।
बा नभएपछि आमाको आफ्नै सुर थियो। मेलापाता गर्ने साथी थिएँ। कहिलेकाहीँ गाउँको एसटिडी फोनमा गएर बोल्ने सानिमाहरू थिएँ। घर भएका बेलामा गाली गर्ने र थर्काउने गाईबस्तु र म थिएँ। तर मेरा कोही त्यस्ता थिएनन्। साथीहरूले साथी मान्दैनथे वा साथी लायक ठान्दैनथे। आमाले केटाकेटी ठानेर सुखदुःख साट्नु हुन्नथ्यो।
विस्तारै बर्खा लाग्यो। फेरि हिउँद लाग्यो। बर्खामा नफर्के पनि हिउँदमा बा फर्कनुहुन्छ कि भन्ने थियो। तर बाको अत्तोपत्तो भएन। आमाको एकसुरको जिन्दगी चलिराख्यो। बेलाबेलामा खोइ किन हो अलि बढी सुस्केरा हालेको हो कि भन्ने लाग्थ्यो। तर बाआमाको सम्बन्धमा के समस्या थियो आमाले कहिल्यै भन्नुभएन। मैले सोध्न सकिनँ।
दाइ आएको बेला अलि घरमा चहलपहल बढ्थ्यो। तर ऊ पनि धेरै बस्न पाउँदैनथ्यो। भर्खरै १२ कक्षा भ्याएर बोर्डिङको मास्टर भएको थियो। बिदा कम पाउँथ्यो।
यसरी नै कक्षा नौ सिद्धियो। यसरी नै कक्षा दश सिद्धियो। बा फर्कनुभएन। आमालाई फुर्सद भएन। दाइ काठमाडौंतिरै हरायो। साथीहरूले र सरहरूले हात्ती र मोटी बन्न छाडेनन्। कविता कथातिर मन फर्केन।
बा हराएको पनि दुई वर्ष भैसकेछ। एसएलसीमा फर्स्ट डिभिजनमा पास भएकी छु। थाहा छैन अब म कहाँ पढ्ने हो, के पढ्ने हो? आमालाई सोधौं केही थाहा छैन। बा भएको भए केही भन्नुहुन्थ्यो होला, बा हुनुहुन्न। दाइ भन्छ- यही स्कुलमा पढ्। एजुकेसन पढेपछि जागिर पाउन सजिलो हुन्छ।
मलाई मास्टर बन्न मन छैन। मलाई सेतो एप्रोन लगाएर ल्याबमा जान मन छ। तर म जिद्धी गर्न सक्दिनँ। आमालाई तपाईंसँग बस्न मन छैन भन्न सक्दिनँ। मलाई पुराना साथीहरूसँग फेरि साथी हुन मन छैन। त्यही मर्स्याङ्दीका सुस्केराहरू फेरि सुन्न मन छैन।
सायद त्यही काठको पुतली भएको भएको भए पनि म उसलाई यो कुरा भन्ने थिएँ। ऊ पनि मसँग छैन।
आमा मेरो एसएलसीको नतिजाले खुसी त हुनुहुन्छ तर मलाई स्याबास् भन्नुहुन्न। उहाँ मलाई रुखी लाग्छ। कहिलेकाहीँ लाग्छ, त्यही रुखोपनका कारण बाले घर छोड्नुभयो। त्यही रुखोपनले मेरो पुतली जल्यो। त्यही रुखोपनको कारण बाको अभिभाकत्व गुम्यो।
तर आमाको अगाडि मेरो सात्तो जान्छ। आमासँग मेरो धेरै गुनासो छ। सबैभन्दा धेरै गुनासो मेरो पुतलीलाई जलाइदिएकोमा छ। तर म उहाँसँग यो कुरा भन्न सक्दिनँ।
पुतलीलाई फाल्नुअघि आमाले भन्नुभएको थियो- तिमी पनि पुतली हुनेछ्यौ।
आजकाल मलाई पनि कहिलेकाहीँ म काठको पुतली नै हो कि जस्तो लाग्छ। न ऊ स्वतन्त्र थिई, न म छु। अप्सरा, पुतली आमाले भनेका शब्दहरू सम्झन्छु। सायद आमाले भनेझैं हामी सबै मेरो काठको पुतली नै पो हौं कि?