उमेरले सानो छँदा बाले
मेरा लागि नयाँ किताब ल्याइदिने बित्तिकै
आमाले उक्त किताबमा राखिदिने त्यो गाता
निकै मजबुत लाग्थ्यो
बरु किताबको भित्री पाना च्यातिएला
त्यो गाता च्यात्तिँदैन थियो
आफूसँगै पढ्ने अरू साथीहरूको
किताबको गाता च्यातिएको देख्दा
आफू निकै खुसी भइन्थ्यो
किताबप्रतिको त्यतिबेलाको प्रेम
मलाई आज आएर थाहा हुँदैछ
किताब निकै इमानदार साथी रहेछन्
घर छोडेर सहर पढ्न हिँडको म
दसैंमा अरुका छोराछोरीले
नयाँ लुगा अनि नयाँ नोट बोकेर
घर जाँदै गर्दा
दुई/चार वर्षपछिसम्म छोरो
तन्केर बढ्यो भने पनि
छोटो नहोस् भनी अघिल्लो दसैंमा
सिलाइदिनु भएको भोटो लगाएर
आफूसँग भएका सम्पूर्ण किताबहरू
कलेज जाने झोलामा बोकी
दसैंमा घर जान हिँडेको मलाई
त्यो किताबले भरिएको झोलाले
अरुभन्दा कमजोर देखाएन
त्यो कुरा आज आएर थाहा हुँदैछ
किताब निकै इमानदार साथी रहेछन्
कुनै दिन कलेजका साथीहरूसित
खाजा खाई खाजाको पैसा आफूले तिर्नुपर्दा
घरबाट पठाएको पैसाको हिसाब बिग्रिन गई
बिहानको अलिकति उब्रेको दालमा
एक गिलास पानी थपी उमालेको
दाल र स्टिलको गिलासको
पानीको सहाराले साँझको भात
कुक्क-कुक्क निल्दै गर्दा
खल्तीमा रहेको मोबाइलमा
टिरिङ्ग टिरिङ्ग घण्टी बज्दा
हेर्दै नहेरी ‘आमाको फोन’ होला भनी
ठम्याउन सक्ने मातृप्रेम सिकाउने
मेरा किताब
वास्तवमा निकै इमानदार साथी रहेछन्
गोजीमा सुको नहुँदा
देश-विदेश घुमाउने
एकअर्काका काँधमाथि चढेर
टाङमुनि छिरेर, कठालो समातेर,
पाखुरा तानेर, कपाल भुत्ल्याएर,
सिनेमाको टिकट किनेर
धित मरुन्जेल फिल्मी संसारमा डुबाउने
पहिलो पेगदेखि बोतलसम्म
प्रसव वेदनादेखि समाधिसम्म
स-साना चिजहरूको लागि कृतज्ञ हुन
बाह्य परिस्थितिको नतिजामा कम निर्भर हुन
यस्ता तमाम सीप सिकाउने
किताब निकै इमानदार साथी रहेछन्।