कविता
निर्धक्क फूलझैं फुल्न पाए हुन्थ्यो
बिर्सिएर आफैंलाई उड्न पाए हुन्थ्यो
छोडेर यादहरू खुल्न पाए हुन्थ्यो
कस्तो पो हुन्थ्यो होला फिरङ्गि हुन पाए
आफैंलाई निर्लज्ज बनाई नाङ्गै सरह हुन पाए।
ब्यथाहरू सबै भुलाइकन आकाशबाट हेर्न पाए
थुम्थुमाउने थुमाउने हातहरू लाई शिरभरी लिन पाए
देखाउने गोरेटोहरूमा थिपथिपे प्रकाश पाए
कस्तो पो हुन्थ्यो होला चरा जस्तै उड्न पाए
आफैंलाई निर्लज्ज बनाई नाङ्गै सरह हुन पाए।
बन्धनहरू सबै बिर्सिएर यत्रतत्र भुल्न पाए
ब्यथाहरू बिसाएर आफैंमा मदमस्त हुन पाए
कथालाई आफ्नै कहानीमा बिलुप्त बनाउन पाए
कस्तो पो हुन्थ्यो होला खोलासरी बग्न पाए
आफैंलाई निर्लज्ज बनाई नाङ्गै सरह हुन पाए।
सबै आशाहरू छुटाएर आशा मुक्ति हुन पाए
सबै लोभहरू छुटाएर झरीसँगै पोखिन पाए
बिर्सिएर आफैंलाई प्रकृति भित्र रम्न पाए
कस्तो पो हुन्थ्यो होला सागर जस्तै बन्न पाए
आफैंलाई निर्लज्ज बनाई नाङ्गै सरह हुन पाए।
बिर्सिएर यत्रतत्र शून्यतामा हराउन पाए
सपनाहरू डढाएर कल्पनामा रम्न पाए
मधुर मधुर गुन्जहरूमा आफैंलाई भुल्न पाए
कल्पनाको सागर जस्तै आफैं शान्त हुन पाए
कस्तो पो हुन्थ्यो होला हिमाल जस्तै हुन पाए
आफैंलाई निर्लज्ज बनाई नाङ्गै सरह हुन पाए।
कस्तो यो निलज्ज कल्पना निर्धक्क ब्युँतिदिन्छ
आफैंलाई घरि घरि शून्यतामा लगिरहन्छ
ब्यथाहरू कथा बनि आफैंमा अड्किरहन्छन्
आफैंलाई निर्लज्ज बनाई घरि घरि दुखिरहन्छ
आफ्नै जीवन आफैंमा पटक पटक नाङ्गिइरहन्छ