कविता
सुनौं है! मेरो घरको कथा!
नुनदेखि सुनसम्म खोज्दै,
लामबद्ध छौं हामी सदा।
केही फगत नुनको लागि
हप्तौं धाउँदै छन्,
केही सुनमा सुन थप्दै,
अनेकौं जुक्तिले कमाउँदै छन्।
नुनदेखि सुनसम्म पाउनुको संघर्ष,
आज होइन हिजो नि थियो।
भोटसँगको व्यापार,
दक्षिण सँगको सहकार्य,
दुइटैले सामान भित्र्याउन, हाम्रो जनशक्ति चलाउन,
सदैव तत्पर, चनाखो नै थिए।
तर आज सुन हुने र नुन नहुनेको,
खाडल झन् ठूलो भयो।
फगत यति कुरा बुझ्न बुझाउन,
नुनसम्म नपाउनेको आवाज,
आज पनि किन सुनिँदैन?
छिमेकीले चन्द्रमा टेकिसके,
हामीले घरसम्म मोटर चढी कहिले पुग्ने?
जाबो एक कच्ची बाटो कोर्दैमा,
देश जोडी सक्यौं भन्ने?
ठूला कुरा छोडौं,
आफ्नै राजधानी पुग्न वर्षौं एउटै राजमार्गको भर पर्नुपर्ने
यही हो हाम्रो विकासे मोडल?
हामीले नुनसम्म माग्नु पर्ने,
कसैलाई यहाँ सुनको गजुर थप्नु पर्ने,
खाली चुच्चे नक्सा देखाई भुलाउने,
हाम्राले विदेशिएर जीवन धान्नु पर्ने?
सुन भित्र्याउनेले त सुन भित्र्याउला,
तर नुनसम्म नपाउनेले के खाला?
यस्तै छ हाम्रो कथा व्यथा,
कसले पो यो बुझ्ने होला?