कविता
निद्रामा मस्त सरकार
सपना देख्दै छ रे
निराशा र बेचैनीको
इतिहास लेख्दै छ रे।
सीमापारिका प्रभुको
बैशाखी टेक्दै छ रे।
कानूनको आँखाबाट
अपराधी छेक्दै छ रे।
रित्तिऊन गाउँ रित्तियोस् देश
सत्ता-रेश चल्दैछ रे
निराशा उत्पादन केन्द्र भो देश
जन आशा जल्दै छ रे।।
मरून् जनता जलुन् आशा
सत्ता चाख्दै छ रे
कमिसनको कुण्डमा
माछा ताक्दै छ रे।।
सुशासन र विकास अनि
न्याय दिँदै छ रे।
जनसरोकार सम्बोधनको
जस लिँदै छ रे।
चिप्लो सम्बोधन खोक्रो वाचा
वीरबलको खिचडी पाक्दै छ रे।
भ्रमको खेती र सपनाको व्यापार
८४ को चुनाव ताक्दै छ रे।।
निद्रामा मस्त सरकार
सपना देख्दै छ रे
निराशा र बेचैनीको
इतिहास लेख्दै छ रे।।