बाबा 
आज म कविता सुनाउदिनँ 
कविता लेख्दिनँ 
बरु म हजुरकै कथा सुनाउँछु 
म त ताजै छु 
अलि पर कतै उज्यालो भेटिहाले 
कुनै दिन लेखुम्ला मेरो कविता।
 
पारिको साँझ घरै माथि उदाए जून 
त्यही शीतका थोपा टिपी
कुनै साँझ भरुम्ला 
मेरै जिन्दगीको हरियो डोको
तर आज एकै ढिक्को होस बरु 
म हजुरकै कथा सुनाउँछु बाबा 
पाटी र कलम 
पहिलो पटक बोकी स्कुल जाँदा 
सरले पहिलो शब्द आमा लेख्न सिकाउनु भो
मैले खुरुखुरु लेखें 
दोस्रो दिन मिसले दोस्रो शब्द 
माता लेख्न सिकाउनु भो 
मैले फेरि उस्तैगरी लेखें 
मलाई लाग्थ्यो 
अब पक्कै बाबा पनि लेख्न सिकाउँछन् होला
पिता पनि लेख्न सिकाउँछन् होला 
किताब पढ्न सुरु गराए
आमाकै कथा सुनाउन लागे
आमाकै कविता सुनाउन लागे
एकदिन त मैले गुरुलाई सोधिहालें
तपाईं बाबा भएर पनि 
तपाईंको अस्तित्वको कथा खोइ?
सधैं आमाकै मात्र गुनगान किन?
आमाकै मात्र वर्णन किन?
किन सिकाउनु हुन्न बाबा लेख्न?
खै त बाबाको कथा पढाएको?
खै त बाबाको कविता सुनाएको?
सरले भन्नुभयो 
आमा भएर मात्रै तिमी जन्मेको हो
तिमीले पिउने पानी जन्मेको हो
तिमीले फेर्ने सास जन्मेको हो
संसार जन्मेको हो
यो सृष्टिको सिर्जना भएको हो
मलाई अचम्म लाग्यो 
सम्पूर्ण यो जगत
यदि आमाकै सिर्जनाको उपमा हो भने
बाबा हुनुको अर्थ के?
यही प्रश्न स्कुल पढ्दासम्म 
मभित्र गुम्सिरह्यो 
एकदिन सहर झरें 
सहरका अँध्यारा गल्ली-गल्ली
चोक-चोकमा सजाएका पुस्तकालय भित्र छिरे
अहँ भेटिनँ!
साहित्यकार, कथाकार, कवि सबैसित 
सबै तिर खोजें
अहँ! भेटिनँ कतै 
बाबाको रङले भरिएका मसीहरू
बाबाको शब्दले रङ्गिएका पानाहरू
आमालाइ सर्वश्व ठान्नेहरू 
खै किन चुके बाबालाई देवता भनी पूज्न?
खै कहाँ छ र तिम्रो निम्ति बाबाको कर्तब्य झुकेको?
तिमीले हिँड्ने 
कुन चाहिँ बाटोमा तेर्सिएका छैनन् बाका हातहरू?
आफैंभित्र च्यात्तिँदै, चिथोरिँदै 
जिन्दगीका सुकुमार सपनाहरूको मलामी बनी
तिम्रो भाग्य लेख्न 
कति पटक आफैंभित्र मरिसके 
तिम्रो आँखामा जगमगाउने दियो बाल्न
कति चोटि आफैंभित्र जलिरहें 
खै त सपुतहरू जिँउदो देवतालाइ पर्दा पछाडि छोप्न 
कसरी आँतुर भए तिम्रा ती हत्केलाहरू?
खै किन अल्झेन ए कवि! 
तिम्रो कवितामा बगिरहेने भावनाको सागरमा 
बाबा रङले कोरिएको दुई अक्षर?
तिम्रो खुसीको डोको हरियो होस् भनी 
हुरी बतास नभनी 
चौतारीको वर झैं ठिङ्ग उभिरहे 
तिम्रो जिन्दगीको माटाे मलिलो बनाउन
सधैंभरि ढुंगाहरू चपाइरहे
डुङ्गा सरि तिम्रो पैतला छाती टाँसी
आधी, हुरी, बाढी, पहिरो कतै नभनी
तिमीलाई पारी तार्दातार्दै हर दिन आफैंभित्र गलिरहे 
खै त यसको लेखाजोखा? 
आमालाइ धर्ती भन्यौ, देवि भन्यौ
असल साथीको उपमा दियौ
तर तिम्रो सपना सुन्दर बनाउन
हलोको अनोमै छापिएका बाका हत्केलाहरूलाई 
भगवानको उपमा दिन किन कहिले पनि अघि सरेनन्
तिम्रा ती कलमका मुन्टाहरू?