एक्लै पिउँदै गरेको
चियाको कप रित्तिएपछि
दोहोरो औपचारिकता राख्नकै लागि
एकातिर तिमी भएको कल्पना गर्दै
केही शब्द लेख्न चाहेँ
यी शब्दहरू तिमीसम्म
पुग्छन्, पुग्दैनन् थाहा छैन
तैपनि, मिठो सम्झना छ।
तिमीले चिया कम पिउन
आग्रह गरेदेखि
निकै कम पिउन थालेको छु
चियाको मात्रा कम गरेदेखि
मलाई विपनामा भन्दा
सपनामा तिम्रो तस्वीर
झन् सग्लो बनेर आउँछ
तिम्रो त्यो तस्बिर
चियामा चिनीको घोलजस्तै
मिठो एहसास हुने गरी
मसँग वार्तालाप गर्छ
वार्तालापमै बिहान हुन्छ
म बिउँझिन्छु
बिउँझिनासाथ मलाई
चियाको तलतल लागेर आउँछ
चियाको चुस्कीसँगै
सपनाका गाथा पुन: देख्ने कोसिस गर्छु
कतै तिमी देखिन्छौ कि भनेर
तर तिमी देखिँदैनौ
एक कप चिया थप्छु
यसरी पो म चिया पारखी भएको हुँ
त्यसैले ऋतुझैँ फर्केर आऊ है तिमी।
सुनेको थिएँ
आफूलाई मनपर्ने मान्छे
सपनामा देख्यो भने
सिरानी उल्ट्याएर सुत्दा
उसले पनि त्यस्तै सपना देख्छ अरे!
मैले पनि तिमीलाई
सपनामा एकपटक होइन
कैयौं पटक देखेको छु
सदाझैँ हिजो पनि
कपडाहरू असुहाउँदा
गाला दबेका
आँखा गढेका देखेर
तिमीलाई सोधेछु
के भयो तिमीलाई?
निकै दुब्लाएछौ?
तिम्रो उत्तर आउन नपाउँदै
सिरानी छेउमा रहेको
मोबाइलको घण्टी बज्यो
यताउता हेरें
तिमीलाई देखिनँ
आफैंसँग भनें
अहो! सपना पो देखेछु
यसरी मैले सपनामै भए पनि
तिमीसँग कैयौँ पटक
भलाकुसारी गरेको छु
त्यसैले तिमीले पनि मैलेजस्तै
सपना देखौला भनेर
आजकल सिरानी उल्ट्याएर
सुत्ने गरेको छु
तिमीले सपना देख्यौं कि देखिनौँ?
सपना नै देखिनौ?
कि, मलाई देखिनौ?
त्यसैले ऋतुझैँ फर्केर आऊ है तिमी।
कहिलेकाहीँ तिमीलाई सम्झिँदा
क्यानभास अगाडि राखेर
औँलाहरू चलाउँछु
लेख्दै गर्दा किबोर्डसँग
मेरा औँलाहरूको प्रेम बसिसकेछ
किबोर्डसँग औँलाहरूको
प्रेम बसिसकेपछि
आँखाले नहेरे पनि औँलाहरूले
आफैं टाइप गरिदिँदा रहेछन्
लेख्दिनँ भन्दाभन्दै
बोलेर भन्न नसकेको कुरा
औँलाहरूले लेखिदिन्छन्
जबर्जस्ती कुनै कुरा मन नपर्ने मलाई
पहिलोपटक मेरा औँलाहरूको
यो जबर्जस्ती मन पर्यो
त्यसैले ऋतुझैँ फर्केर आऊ है तिमी।
राति अबेरसम्म तिमीसँग
एकतर्फी कुरा गरेछु
बिहान भएको पत्तै पाइनँ
आँखा खुल्दा झ्यालबाट
घामको पहेँलो थोपासँगै
उज्यालो अटाइनअटाई
मेरो कोठामा आइरहेको थियो
तर मैले आधा उज्यालो मात्र देखेँ
किनकि, मेरो सामु तिमी थिएनौ
कहिलेकाहीँ त लाग्छ
हामीमध्ये कोही कतै छुटेजस्तो
त्यसैले ऋतुझैँ फर्केर आऊ है तिमी।