गाँस काटेर
पसिना साटेर
घरजम बसायौं
छोराछोरी जन्मायौं
सुन्दर र सुदूर भविष्य कल्पेर
धेरै खोजेर, धेरै सोचेर
आशा- छोरी र विश्वास- छोरा
नाम जुरायौं
हुर्कायौं, पढायौं, बढायौं
पखेटा लगायौं
झनै धेरै पढाउन
अझै धेरै बढाउन
खेतबारी बेचेर
नपुगेको ऋण खेपेर
दुवैको भिसा लगायौं
अनि रहर, खुसी र उमङ्गको विजयोत्सव मनाउँदै
दुवैलाई समुद्रपार दूर देश पठायौं।
यता
समय एकनास दौडिरह्यो
विस्तारै हरियो भरिलो रुख सुकेर कालो ठुटो भएपछि
मायाले बसेका चराचुरुङ्गी स्थायी बास छोडी गएसरी
थाहै नदिई खुसी र उमङ्ग यी शरीरबाट बाहिरिरहे
त्यो एक्लो र खाली मनमा
बेचैनीले बलियो कब्जा जमायो
सन्तानको स्नेह र सामीप्यता
कुरिरहने कोमल मन र त्यो बलवान बेचैनी
दिनरात रडाको रच्न थाले
कर्कश: खलबल र अन्तर्द्वन्दले
सुन्दर सपना उराठ र बेरङ्गी हुँदै गए
विक्षिप्त जिन्दगीको निस्तो र नुनिलो गाँस
उदासीको पखालेले किक्लिक-किक्लिक निल्नुपर्दा
खाइलाग्दा हामी दुब्ला र ख्याउटा भयौं
कुन ब्याक्टेरिया, कुन भाइरस पत्तै भएन
अनि हामी त अनायसै
ओखतीमुलोले नछुने दीर्घरोगी भयौं।
अनौठो रोगको अनौठै लक्षण
कस्तो भने
सपना बिपना झल्झली सन्तान मात्र सम्झने
सधैं तिनै सन्तान भेटौंझैं लाग्ने
तिनैसँग बोलौंझैं लाग्ने
मायाले सुम्सुम्याइरहुँझैं लाग्ने
सामान्य लाग्ने तर अचम्मै दुख्ने
यसै विसेक होला कि भनी
उपचार खोज्यौं, भौतारियौं
डाक्टर, वैद्य, धामी, झाँक्री
सबै धायौं
धेरै पछि बल्लतल्ल रोग पत्ता लगायौं
जुन यसै ठिक नहुने रे, दबाइमुलोले नभेट्ने रे
एउटै उपाय भनेको त
सधै सन्तान साथै हुनुपर्ने रे, बोलिरहनु पर्ने रे, सुम्सुम्याइरहनु पर्ने रे।
तर सन्तानका दूरदेश तिर त
फुर्सद बिल्कुल हुँदै हुँदैन रे
समय मिल्दै मिल्दैन रे
घण्टा-घण्टा बेचेर पैसा किन्नु पर्छ रे
खान पनि राम्रो भ्याउँदैनन् रे
सुत्न पनि राम्रो पाउँदैनन् रे
त्यसैले त हामीसँग पनि
धेरै बोल्न भ्याउँदैनन् रे
फर्की आउन त पटक्कै मिल्दै मिल्दैन रे।
धेरै-धेरै पछि
पढिसकेपछि
कमाइसकेपछि
गाडी र घर जोडेपछि
पिआर र ग्रीनकार्ड बनेपछि
मात्र धेरै फुर्सद मिल्ने रे
अनि मात्र आउन-जान पैसा पुग्ने रे
हामीलाई समेत लैजान मिल्ने रे
खुसी र उमङ्ग फेरि फर्की आउने रे।
तर खै
यस्ता आशलाग्दा कुरा सुन्दै आए पनि
सधैं अघाउन्जेल देख्न नपाएपछि
बोल्न नपाएपछि
सुन्न नपाएपछि
सुम्सुम्याउन नपाएपछि
न्यास्रोले पिरोल्दै असाध्यै रोगी भएपछि
रोगको जरा पहिल्याएर
आफैं अक्कल लगाएर, एउटा जुक्ति निकालेका छौं
र, 'आशा' र 'विश्वास' नामकै
बिरालाका दुई मायालु न्याउरी र न्यावरा पालेका छौं
उनैसंग खेलेका छौं
अघाउन्जेल बोलेका छौं, हाँसेका छौं
उनीहरूलाई सुन्न पाएका छौं
सुम्सुम्याएका छौं
माया दिएका छौं
माया लिएका छौं
हो नि, 'विश्वास' दुरुस्तै 'विश्वास' जस्तै चकचके छ
उसै गरी हाम्रो पिठ्यूमा खेल्छ
दगुर्छ, उफ्रिन्छ
त्यो विश्वास जस्तै भरपर्दो छ
एकैछिन कतै गए राम्रोसँग घर कुर्छ
ब्यग्र र मायालु भावले
हामी आउने बाटोको पुछारसम्मै
दुवै आँखा ओछ्याइरहन्छ
आशा पनि त आशा जस्तै मायालु छे
काखमा आउँछे, छुनुमुनु र लडिबुडी गर्छे
आमा-बासँगै बस्छे, सँगै खान्छे, सधैँ यस्तै खुसी राख्छु भन्छे
हो अब त
पुरानै खुसी र उमङ्ग फर्कने आशा जागेको छ
साँच्चै, जिन्दगी उसैगरी बदलिएको छ
फेरि पुरानै जिम्मेवारी उसैगरी फर्किएको छ।
अब त हामी
आफैं डाक्टर र वैद्य बनेका छौं
आफ्नो उपचार आफैं पाएका छौं
र त विस्तारै फेरिँदै गएका छौं
तंग्रिँदै गएका छौं
निको हुँदै गएका छौं
पुलकित र प्रफुल्ल भएका छौं
हो, हामी अब उस्तै सक्रिय र व्यस्त भएका छौं
नपत्याए हेर्नुस त, म 'आशा'सँगै खेलिरहेछु
ऊ 'विश्वास'सँगै रमाइरहिछे!