सम्झिएर आउनु भो
कि लोभिएर आउनु भो
लहैलहैमा आउनु भो
कि यात्रा, व्यापार गर्न आउनु भो
जसरी आउनु भएको होस्
तपाईं अहिले काठमाडौंमा हुनुहुन्छ
काठमाडौंमा तपाईंलाई स्वागत छ।
हेर्नोस्—
अग्ला-अग्ला घर हेर्नोस्
घरमा लगाएका रङ्ग हेर्नोस्
खेतबारीलाई घडेरी बनाएर हामी
अब गमलामा कृषि कार्य गर्न लागेका छौं
आएको बेला त्यो पनि हेर्नोस्
पिच भएका सडकको कालोपत्र हेर्नोस्
पिच नभएका सडकको अलपत्र हेर्नोस्
एउटै सडक पनि अलिकति पिच गरेर बाँकी उसै छाडिदिन्छौं हामी
हाम्रो भौतिक विकासको लठिभद्र पनि हेर्नोस्
काठमाडौंमा तपाईंलाई स्वागत छ।
हामीकहाँ होटलहरू छन्
अनगिन्ती रेस्टुरेन्टहरू छन्
मनचिन्ते खानोस् र रमाउनोस्
खाने–पिउने समयमा अलि होस भने राख्नुहोला
हिँड्दाहिँड्दै शौचालयको खाँचो पर्ने गरी खानपिन नगरी दिनुहोला
हामीकहाँ सार्वजनिक शौचालयको अभाव छ
काठमाडौंमा तपाईंलाई स्वागत छ।
उडेर आउनु भयो कि गुडेर आउनु भयो
कि नाइटबसमा आउनु भएको हो
यात्रा सहज भएन भने ज्यान थाक्छ
जाँगर हराउँछ
थाक्नु भएको छ भने आराम गर्नोस्
घुमघाम भोलि गरे पनि हुन्छ
अलि लामै समय आराम गर्न चाहनुहुन्छ भने चाहिँ
अलि निस्फिक्री भएर थोरै हिँड्नु पर्छ
रेलिङ नलगाएका पुल
बिर्को नलगाएका मङ्गाल
अनेकन् निहुँले बाटामा खनिएका खाल्डाहरू
टाइल भासिएर उबडखाबड बनेका सडक
हरबखत सेवामा उपलब्ध छन्
यीनलाई बेलैमा मर्मत नगरेर हामीले
तपाईंकै सेवाखातिर राखेका हौं
सेवा ग्रहण होस्
र, मनपरेको अस्पतालमा
चाहे जति आराम गर्नुहोस्
काठमाडौंमा तपाईंलाई स्वागत छ।
काठमाडौं देशको राजधानी हो
यहाँ तपाईंले पढे/सुनेभन्दा बढी मठमन्दिरहरू छन्
यो संस्कृतिको अनुपम नमुना
तपाईं यहाँ जहिले आउनु भए पनि हुन्छ
जतिखेर आउनु भए पनि हुन्छ
तैपनि सोध्नुहुन्छ भने त हामीले केही भन्नै पर्छ
यहाँ खोलाखोल्सा नाला जस्तै भएका छन्
तिनमा पानी होइन, कालो लेदो बग्छ
र, वरपर दुर्गन्ध फैलिन्छ
ओखरपौवा ठुस्किएको बेला त
सिङ्गै उपत्यका ठुस्स गन्हाएको हुन्छ
दुर्गन्ध सहने क्षमता उच्च छ भने बेग्लै कुरा
नत्र रुघा बिग्रिएर पिनास भएको बेला आउनु सुविधाजनक हुन्छ
काठमाडौंमा तपाईंलाई स्वागत छ।