उहिले उहिलेको समाजमा
औजार बनाउने हातहरू जोडिन्थे
जुत्ता कपडा सिलाउने हातहरू जोडिन्थे 
हात जोड्नेहरूलाई यो समाजले 
हैसियत बुझाउनलाई बेलाबेला
एक धरो जडौरी दिन्थ्यो 
नपिसिएको, नफलिएको, नधोइएको 
केही माना अनाज दिन्थ्यो
अपमानको स्वाद मिसाएर
दशैंमा राँगा खसीको पुच्छर दिन्थ्यो 
बङ्गुरको आन्द्राभुँडी दिन्थ्यो 
आजभोलिको समाजमा पनि
चुनाव लाग्छ जब  बेस्सरी 
हातहरू जोडिन्छन् त्यसैगरी
मुखले झुटो बाचा गर्दा 
हल्लिने हातहरू 
मञ्चमा नारा चिच्याउँदा 
हौसिने हातहरू 
सबै-सबै जोडिन्छन् 
र यो समाजले ती हात जोड्नेहरूलाई 
देशको सिङ्गो सत्ता दिन्छ 
मेरी मनमाया
कसलाई के दिनुपर्ने हो भनेर 
यो समाजले कहिले बुझेनछ हगि?
त्यसपछि पो रहेछ त
समृद्धिको यात्रामा 
हामीले अरु जम्मै देशहरूलाई 
आफ्नो अगाडि लाएको।