घरी नेट जान्छ
घरी बिजुली जान्छ
जब यी दुवै हुन्छन्
अनि राष्ट्रसेवक कुर्सीबाट उठ्छ
र, चिया खान जान्छ
तपाईं लाइनमा हुनुहुन्छ?
लाइनमै रहनुहोस्
नत्र क्यूमा सबैभन्दा लास्टमा रहेको जेष्ठ नागरिक
रित्तो कुर्सी हेर्न झ्यालमा जान्छ
अब कम्प्युटर छ
ढढ्ढा छैन
नागरिक बडा पत्र नटाँगिएको
कुनै अड्डा छैन
तर काम हुँदैन
जबसम्म कानमा खस्याक्खुसुक
र, हातमा दाम हुँदैन
अड्डामा सिसिटिभी पनि छ
सबैलाई थाहा छ—
अड्डाभित्र त्यसको पहुँच नभएको ठाउँ पनि छ।
घरी नेट जान्छ
घरी बिजुली जान्छ
जब यी दुवै हुन्छन्
अनि राष्ट्रसेबक कुर्सीबाट उठ्छ
र, पेसागत सङ्गठनको अफिसमा जान्छ
त्यहाँ ऊ नेता हुन्छ
‘नेता’को नेतासँग राजनीतिक नाता हुन्छ
यो नाता हाकाहाकीमा रक्षाकवच
र, घामपानीमा छाता हुन्छ
यस्तो नाता, छाता र औडाहाका बीच
स्वर्णपदक कसरी स्वर्णपदक रहोस् त
त्यो कर्कटको पाता हुन्छ।
घरी नेट जान्छ
घरी बिजुली जान्छ
जब यी दुवै हुन्छन्
अनि राष्ट्रसेवक कता जान्छ, जान्छ
काँट-काँटका बडापत्रहरू छन्
बडापत्रका उजुरी र गुनासो गर्ने व्यक्ति र निकाय किटिएका छन्
जति तपाईं गुनासो गर्दै जानुहुन्छ
उति सनासोमा पर्दै जानुहुन्छ।