आगोको न्यानो रापले काउकुती लगाउँदै
मस्किएको गुलियो, दूधिलो पानीमा
चियाका सुकिला पत्ताहरू लाजले गाढा रंग भर्दै
जब मिठो महक छर्छन्
त्यही स्वादमा लठ्ठिएर मानिसको जिब्रोले
दिने सन्तुष्टि छ नि;
त्यो हो दूधचिया।
जीवन चिया जस्तै न हो
त्यही पानी, त्यही दूध
त्यही चिनी, त्यही चियापत्ति
त्यही आगो, चाहिएमा थोरै मसला
मिठो भए पनि, खल्लो भए पनि
चिया इज चिया।
भर्खर खाना खाएको
तर तत्कालै पाए खाने
निद्रा पार्न होस् कि निद्रा भगाउन
निद्रा बिथोलिँदा होस् कि उठ्ने बित्तिकै
घरमा होस् कि अफिसमा
यत्रतत्र सर्वत्र चिया
चिसो हटाउन होस् कि गर्मी कटाउन
चुरोटसँग चिया, दुनोटसँग चिया
चिया इज चिया
चिया इज दूधचिया।
उही गल्ली, उही बाटो अनि उही गोरेटोको चिया
याद गर्न चिया, याद मेटाउन चिया
एक्लोपनमा चिया, जमघटमा चिया
कोही भेट्न आउँदा, कसैलाई भेट्ने बहानामा
ग्रुपमा, चोकमा, चउरमा चिया
चिया इज चिया।
सम्बन्ध जोड्छ चिया, सम्बन्ध तोड्छ चिया
मिलनमा चिया, बिछोडमा चिया
सुखमा रमाउन, दु:ख भुलाउन चिया
तलतलमा, पलपलमा, हरपलमा चिया
ओहो चिया, आहा चिया
आयो चिया, खायो चिया
चिया इज चिया।
मनपर्ने मान्छे आउँदा १ नम्बरी
मन नपर्ने आउँदा २ नम्बरी
बिदाको दिन फुर्सदिलो, कामको दिन हतार चिया
घुम्न जाँदा घुम्ने चिया, घुमेर आए थकाइ चिया
अरुको प्राथमिकता भट्टी हुनसक्छ,
मेरा लागि दूधचिया
एक चियाको चुस्की, घुटुक्क हाय...
चिया चेस्!