आजभोलि ऊ भरिया भएको छ
आफ्नै सपनाको
बुन्नलाई भारी उठाएको छ बा'को
काँधको जिम्मेवारी।
सराप लाग्ने डरले
आमाका आँखाको आँसुको
त्याग्यो उसले कहिल्यै नछोडेको घरको आँगन
छोड्यो साथीहरूको मित्रता, लत्याएर
प्रियसीको माया र भर्यो उडान सपनाको सहरतिर।
आजभोलि ऊ एकोहोरो टोलाउने गर्छ
हटेर भिडबाट एक्लै हिँड्ने गर्छ
उसले रोजेको छ बस्नलाई त्यो
पराई सहरको साँघुरो गल्ली र अँध्यारो कोठाभित्र
हराएको छ किताबका पानाहरूमा
गाँसेको छ मितेरी त्यही किताबका स-साना अक्षरहरूसँग।
संघर्षमा कैयौं आउँछन् सोध्छन्
सुनाउँछन् र जान्छन् आ-आफ्ना
सफलताको कहानीहरू
उसलाई जिन्दगीले दिएको एउटा
सिर्फ गहिरो घाउ छ ऊसँग
घाउले बेलाबेला प्रेरणा दिन्छन्
लड्ने उत्साह र हिम्मत दिन्छन्।
उसले सफलताका काहानी पढेको छ
सुनेको छ र देखेको छ
ऊ जान्दछ
आलश्यता सफलताको बाधक हो भनि
त्यसैले उसले नमानी झन्झट
बिर्सेर विगत, सुनौलो भविष्य उज्वल बनाउन
मिठो निद्रासँग दूरी बढाएको छ।
खै उसले कहिले कस-कसलाई सुनाउला
ती विरत्तिएका एक्लै अँध्यारो कोठाभित्र
एक्लै चिच्याएको अनौठा पलहरू
दिक्कलाग्दा त्यो दिन र कहालीलाग्दो
आफ्ना संघर्षको कथाहरू।
प्रियसीको माया, साथीको साथ
आफन्तको भरोसा, बा-आमाको आशा
सबै चिज गुमाएर पाएको सफलताको पनि
के अर्थ, बाँड्नलाई खुसी कोही नभएपछि।
उसले सफल हुन गुमाएको छ
आफ्नो जवानी, दफ्नाएको छ कैयौं रहरहरू
बिहेको भोज खाएको छ उसले आफ्नै प्रेमिकाको
सम्झेर यी सबै चिज ऊ बहुत पछुताएको छ आजभोलि।