'प्रेमको इतिहास ठूला ठूला किताबमा नै लेखिनुपर्छ भन्ने छैन। प्रेमको कथाले उपन्यासकै आकार लिनुपर्छ भन्ने पनि छैन। कुनै कुनै प्रेम कागजमा होइन, मनमा मात्रै लेखिन्छ,' मैले होइन फियोनाले भनेकी थिइन् त्यो दिन।
फियोनालाई मैले कोबर्ग लाइब्रेरीमा भेटेँ।
उनी लाइब्रेरीमा पढ्न होइन लाइब्रेरीलाई किताब दान गर्न आएकी थिइन्।
काउन्टर अलि व्यस्त भएकोले उनी म बसेको टेबलमा आएर बसिन्। तीन वटा कुर्सी थियो टेबलमा। म एउटामा उनी अर्कोमा र बीचको कुर्सी चाहिँ खाली थियो।
उनी बस्ने बित्तिकै म मुसुक्क हाँसेँ। उनी पनि मुसुक्क हाँसिन्। मुसुक्क मुस्कानबाटै हाम्रो मुस्कानको परिचय भयो। अब बोलीको परिचय हुन बाँकी थियो। त्यो पनि मैले नै पूरा गरिदिएँ।
उनले घाँटीमा एउटा स्कार्फ बाँधेकी थिइन्। नाडीमा मसिनो घडी पनि थियो। पाखुरामा पुतलीको ट्याटु प्रस्टै देखिन्थ्यो। मनले कस्तो राम्रो ट्याटु भनेर कुराको खाता खोल्न अह्यायो तर मुखले भने बाहिर कस्तो राम्रो मौसम भनिहाल्यो।
उनले पनि मेरो कुराको समर्थन गर्दै– एस् भेरी ब्युटिफुल वेदर’ भनिन्।
उता काउन्टरमा अझ लाइन थियो। यता भने यत्तिकैमा हाम्रो गफ सकियो।
म त्यहाँ किताब होइन मोबाइलको मेसेज यताउती पल्टाउँदै थिएँ।
फियोनाले अनायासै सोधिन्– कसैको पर्खाइमा छौ?
म झसङ्ग भएँ।
उनले मुस्कुराउँदै भनिन्– यही टेबलमा म पनि कुनै बेला यसरी नै कसैको पर्खाइमा थिएँ।
'कोही कसैलाई पनि एउटा हदसम्म कुर तर हद नाघेर कहिल्यै नकुर डियर,' फियोनाले थपिन्।
म झन् अवाक्य भएँ। अलि असजिलो महसुस पनि भयो। जवाफमा केही वाक्य आएन तर एकछिन मौनता भने छायो।
मोबाइलमा मेसेजको रिप्लाई अझै आएको थिएन अनि मौनता तोड्न अप्ठ्यारो मान्दै फियोनालाई सोधेँ – तपाईंले पर्खंदा ऊ समयमा नै आएको थियो?
फियोनाले मेरो आँखामा पुलुक्क हेरिन् र भनिन्– नो, ऊ समयमा आएन तर मेरो जीवनमा प्रेम भने समयमा नै आयो।
उनको कुरा मलाई अलि जटिल लाग्यो। उनले घुमाएर कुरा गरिन् र मलाई सोझो तरिकाले कुरा बुझ्न मन लाग्यो।
काउन्टरमा घुइँचो अझै थियो। त्यसपछि म आफ्नो कुर्सी अलिकति उनीतिर फर्काएर सोधेँ– ऊ समयमा नआएपछि के भयो?
'ऊ समयमा नआएपछि धेरै कुरा परिवर्तन भयो। तर मीठो परिवर्तन,' फियोना भन्न थालिन्।
'त्यो मिठो परिवर्तन सुन्न चाहन्छु यदि भन्न मिल्छ भने,' मैले आँट गरेर नै फियोनालाई सोधेँ।
यसपटक फियोना र म दुवैले काउन्टरमा हेर्यौ, किताब लिनेहरूको अझ घुइँचो थियो।
फियोना आफ्नो अतितमा गएर कुरा भन्न थालिन्।
***
चौध वर्ष अगाडि एक जनालाई मैले एउटा डेटिङ एप्समा भेटेको थिएँ।
फियोना भन्दै थिइन् तर उनलाई त्यही रोकेर सोधेँ– डेटिङ एप्समा भेटेको, कहिल्यै नदेखेको मान्छेको विश्वास लाग्छ?
'विश्वास त घरमा भेटेको, सधैँ देखेकोहरूको पनि त हुँदैन,' फियोनाले अलि दार्शनिक उत्तर दिइन्।
त्यसपछि मलाई झन् खुलदुली भयो र सोधेँ– अनि?
'अनि हामी नदेखेरै, नभेटेरै, नबोलेरै मेसेजमा मात्रै कुरा गर्न थाल्यौं। एप्समा उसको एउटा मात्रै फोटो थियो। घोडालाई घाँस दिँदै गरेको त्यही पनि टाढाबाट खिचेको धमिलो फोटो थियो। ऊ भन्दा पनि घोडा प्रस्ट देखिन्थ्यो।
फियोनाले यसो भन्दा मेरो हाँसो रोकिएन अनि हाँसो हाँसोमा नै भनिदिएन– धन्न घोडासँग पो प्रेम भएन!
'वास्तवमा सही भन्यौ। ऊभन्दा पनि घोडा चम्केको थियो। मलाई पहिला घोडा नै मन परेर ऊसँग म्याच गरेकी हुँ,' फियोनाले पनि मजाक गर्दै भनिन्।
'अनि त्यसपछि,' मैले सोधेँ।
'कुरा गर्दै जाँदा हामी एकअर्कासँग नजिक बन्दै गयौ। म मेल्वर्न बस्थेँ तर ऊ कन्ट्री साइड बस्थ्यो। एक महिना, दुई महिना, तीन महिना हुँदै सात महिनासम्म हाम्रो मेसेजमा मात्रै कुराकानी हुन थाल्यो।'
त्यही बीचमा मैले फेरि मोबाइल पल्टाएर हेरेँ।
फियोना मुसुक्क हाँसेर भनिन्– हो मैले पनि यसरी नै यही टेबलमा बसेर पटकपटक यसरी नै मेसेज चेक गरिरहेको थिएँ।
'कुराकानी भएको सात महिनापछि हामी भेट्ने कुरा भयो। एकअर्कालाई भेट्न हामी दुवै आतुर थियौं। ऊ शुक्रबार साँझ मलाई नै भेट्न भनेर आठ घण्टाको ट्रेन चढेर आएको थियो। ऊ सिटीको एलिजावेथ स्ट्रिटको कुनै होटलमा बसेको थियो।
मलाई साँझ नै उसलाई भेट्ने इच्छा जाग्यो। 'म सिटी आउँछु अनि हामी डिनर गरौंला,' भनेर मेसेज गरेँ। तर उसले एक्कासि भन्यो– बेबी, मेल्वर्न आएको बेला मेरो पुराना साथीहरूसँग पनि भेट्ने प्लान छ। आज बेलुका म उनीहरूसँग समय बिताउँछु, भोलि बिहानदेखि बेलुकासम्म तिमीसँग पूर्ण रूपमा हुन्छु।
उसले मेल्वर्नमा आफ्नो पुराना साथीहरू छ भनेर कहिल्यै भनेको थिएन। तर एक्कासि साथीहरू छन् भन्दा अलिकति आश्चर्य लाग्यो तर सवालजबाफ केही गरिनँ।
मलाई लागिरहेको थियो ऊ आठ घण्टाको ट्रेन चढेर मेरो लागि मात्रै आएको होला। म त्यही कुराले दंग थिएँ तर जब उसले आज बेलुका म उनीहरूलाई भेट्छु, भोलि बिहान तिमीलाई भेट्छु भन्दा मैले आफूले आफूलाई उसको नजरमा सबभन्दा अन्तिम प्राथमिताको लिस्टमा राखिहालेँ।
मनलाई सम्झाउन खोजेँ तर मन शान्त नै भइरहेको थिएन। सात महिनाको त्यो पर्खाइ पूरा होइन अपुरो हुँदै गइरहेको पलभरमा नै महसुस भयो।
त्यो छटपटाइमा उसले फेरि मेसेज गर्यो– कान्ट वेट टु सी यू टुमरो।
मन अलि शान्त भयो।
आखिर मन त हो! माया गरेको मान्छेले फकाएर अलिकति मिठो बोलिदिँदा सय खुन माफ हुँदो रहेछ। म उत्तिनैखेर फुरूक्क भइहालेँ र भनेँ– म झन् तिमीलाई भेट्न बढी आतुर छु। हुन्छ म भोलि बिहान एघार बजे सिटी आउँछु भनेँ।
उसले फेरि लेख्यो– तिमी नआऊ म बरू तिमी भएकै वरिपरि आउँछु। तिम्रो खुट्टालाई दुःख दिनुभन्दा म आफ्नो खुट्टालाई दुःख दिन्छु। बरू म तिमीलाई कुर्छु तर तिमीले मलाई कुर्न नपरोस्।
मन झन् खुसीले चन्चल भयो। आफूलाई संसारकै भाग्यमानी सोचेँ। अनि बिहान ठीक ११ बजेको समय दिएर कोवर्ग लाइब्रेरीमा बोलाएँ।
राति बाह्र बजे एकपटक फेरि मेसेज पठाउन मन लाग्यो।
'यो रात कतिखेर सकेला जस्तो भइरहेछ, तिमी कहाँ छौ?,' मैले सोधेँ।
उसले तुरून्त मेसेज रिप्लाइ गरिहाल्यो। लाग्यो ऊ मेरै मेसेजको प्रतिक्षामा थियो।
'अँ म साथीहरूसँगै छु क्लबमा,' उसले नढाँटी भन्यो।
'लेट नाइट नबस। नत्र तिमीलाई बिहान उठ्न गाह्रो हुन्छ,' मैले हक जमाएरै भनेँ।
'नो वेय। भोलि बिहान तिमीलाई भेट्न आतुर छु। लेट नाइट बस्दै बस्दिनँ,' उसले कसम खायो।
उसको कसम र प्रतीज्ञाले मनमा झन् आशा दिलायो।
भोलिपल्टको ११ बजेको प्रतिक्षा मेरो जिन्दगीको सबभन्दा अमूल्य थियो। त्यो रात शताब्दीकै लामो रात जस्तो लाग्यो।
मेरो लागि रात नसुतेर नै बिहान भयो। अरू बेला रातभरि नसुत्दा आँखा फुल्थ्यो तर त्यो रात नसुत्दा आँखा फक्रियो। प्रेमको पर्खाइले फक्रिएको गुलाबी आँखा थियो त्यो मेरो।
उठेदेखि कुन लुगा लगाउने, कुन गहना लगाउने, कुन श्रृङ्गार गर्ने, कुन जुत्ता लगाउने, कुन ब्याग भिर्ने, कुन अत्तर छर्ने र उसलाई पहिलो भेटको के उपहार दिने भन्ने मात्रै मेरो ध्याउन्न भयो।
दराजभरीको सबै लुगा लगाउँदा पनि कुनै सुहाएको जस्तो लागेन। अनि छिमेकी साथी सहाराकोमा गएँ। उसको कलेजी रंगको स्कार्फ एकदिनको लागि सापटी मागेर ल्याएँ। मेरो मिल्ने साथी केरीको सेतो सर्ट र नयाँ कालो बुट सापटी मागेँ। मेरो घरभन्दा आधा घण्टाको दूरीमा उनी बस्थिन्। म हिँडेरै उनको घरमा सेतो सर्ट र कालो बुट लिन गएँ।
उनीकोबाट फर्कंदा नजिकको पसलबाट गुलाबको फूल र उसको लागि घरेलु अत्तर किनेर ल्याएँ। म चालिस पुग्न लागेको थिएँ, ऊ भर्खर तीस टेक्दै थियो। हामीले हाम्रो उमेरको कुरा पहिला नै गरिसकेका थियौं। हामीलाई प्रेम गर्न, माया गर्न, प्रतिक्षा गर्न, भेट्न उमेरले छेकेको थिएन।
तर म त्यो दिन हरेक तवरबाट चालिस घटिको देखिन खोजिरहेको थिएँ। त्यही अनुसारको लुगा, गहना र श्रृङ्गारमा ध्यान दिँदैथिएँ।
११ बजे भेट्ने कुरा थियो तर म साढे दश बजे नै लाइब्रेरीमा गएर बसेँ। उसले भनेको थियो बरू म कुर्छु तिमीलाई तिमीले मलाई कुर्न नपरोस्। त्यसैले पनि उसले कुर्नुभन्दा बरू म नै कुर्छु भनेर झन् अगाडि गएर बसेँ।
ढोकामा हरेक मान्छे आउँदा ऊ आएको हो कि भनेर म उठेर हेर्थें। हरेक नयाँ अनुहारमा मेरो मन जान्थ्यो र त्यो आकृतिमा उसलाई खोज्थेँ।
यही टेबलमा किताब लिएर बसेको थिएँ तर ध्यान भने कुनै अक्षरमा गएको थिएन। ११ बज्यो, मन ढुकढुक भयो, लामो श्वास फेरेँ। यही टेबलको साइडमा गुलाफको फूल र र्याप गरेको अत्तर थियो। त्यो पटकपटक मिलाएर राखिरहेँ। मोबाइल ओल्टाइपल्टाइ गरिरहेँ। मेसेज गरौं कि जस्तो लाग्यो तर फेरि लाग्यो आउँदै छ होला विचरालाई किन अत्ताउने। फोन गरौँ जस्तो पनि लाग्यो तर अहिलेसम्म फोनमा कुरा गरेको छैन बरू भेटेर नै बोली मिसौंला जस्तो भयो।
हेर्दा हेर्दै साढे एघार बज्यो। अनि बल्ल मेसेज गरेँ, 'गुड मर्निङ, नाइस वेदर आउटसाइड' मात्रै भनेर।
मेसेजको कुनै जबाफ आएन।
अनि पन्ध्र मिनेटपछि फेरि अर्को मेसेज गरेँ– आइ एम अलरेडी हेयर।
यसको पनि जबाफ आएन। घडीमा मात्रै होइन मनमा पनि बाह्र बज्यो।
मन छटपटियो। रातो गुलाफ फिक्का भएजस्तो लाग्यो। ओइलिन लागेको जस्तो लाग्यो। ब्यागबाट आफ्नो अत्तर निकालेर भएभरको गुलाफमा छर्किएँ। एक बज्यो। मेसेजको केही रिप्लाई आएन। साढे एक बजे मेसेज गरेँ– आर यू कमिङ अर नट?
यो मेसेजको पनि जबाफ आएन तर पछाडिबाट कसैको आवाज आयो– आर यू अल राइट?
कतै ऊ नै हो कि भनेर हत्तनपत्त पुलुक्क फर्केर हेरेँ। तर ऊ थिएन अरू कोही थियो।
म निराश भइहालेँ। निराशामा नै जर्वजस्ती मुस्कुराएर 'आई एम अल राइट' भनेँ।
'पर्खाइको पीडा साह्रै गाह्रो हुन्छ। समयमा नआउनेहरूलाई पर्खेर आफ्नो समय बर्बाद नगर्नू।' यो कुरा त्यो अपरिचित व्यक्तिले मेरो आँखामा गहिरेर भन्यो।
एकै छिनमा आँखा रसाएर आयो। रसाएकै आँखाले फेरि मोबाइल हेरेँ मेसेजको केही रिप्लाई आएको थिएन।
मन निकै कमजोर भयो। सबैतिर अँध्यारो छायो।
'अझै पर्खनु हुन्छ?,' त्यो अपरिचित मान्छेले मेरो पर्खाइ देखेर दिक्क मानेझैँ गरी सोध्यो।
मैले घडी हेरेँ। साढे दुई बजिसकेको रहेछ। ६ घण्टा कुरेर बसेछु।
म केही बोलिनँ तर फेरि त्यो व्यक्ति बोल्यो– पर्खनुस् तर आत्मसम्मानलाई ठेस पुग्नेगरी कसैलाई नपर्खनुस् है!
अपरिचत मान्छे बोलिरहेको थियो तर मलाई त्यतिखेर उसको उपस्थिति झन्झट लागिरहेको थियो। उसले भनेका कति कुराहरू दिमागले मात्रै सुन्यो, कति मनले मात्रै, कति कानले मात्रै, कति आँखाले मात्रै तर कति कुनै इन्द्रीयले पनि सुनेन।
मैले केही जबाफ नदिएपछि अपरिचित मान्छे छाता टेक्दै बाहिर निस्कियो।
'म यही नै टेबलमा उसलाई कुरेर बसिरहेँ। उसको मेसेज नआउँदा कतै उसलाई केही त भएन? अचानक यस्तो कल्पना पनि आयो। मन डरायो। ऊ सिटीको एलिजावेथ स्ट्रिटको कुनै होटलमा बसेको थाहा थियो तर होटलको नाम भनेको थिएन त्यसैले पनि उसलाई कहाँ खोज्ने, खबर कसरी लिने भन्ने भयो।
उसले कतै लाइब्रेरी त देखेन भन्ने पनि भयो। बरू लाइब्रेरीको गेटमा नै गएर बस्छु भनेर म फूल र अत्तर बोकेर लाइब्रेरीको मूल ढोकामा गएँ। बाहिर मुसलधारे पानी परिरहेको रहेछ। त्यो अपरिचित मान्छे पनि त्यही साइडमा पानीको बुँदाहरू हेर्दै चुरोट तानिरहेको रहेछ। म बाटो काट्ने हरेकको अनुहारमा उसलाई खोजिरहेँ। खोजिरहँदा त्यो अपरिचित मान्छेको अनुहारमा पुन: मेरो आँखा गएर ठोक्कियो।
चुरोट निभाउँदै मेरो नजिक आयो र भन्यो – म पनि आजसम्म कसैको प्रतिक्षामा छु। एकदिन त उनी आउँछे कि भनेर म यो लाइब्रेरीमा प्राय: आइरहन्छु। उनको नाममा एउटा किताब लेखिरहेको छु। आज बिहान नौ बजेदेखि नै म त्यही कामको लागि यही छु। तपाईंलाई साढे दश बजेदेखि देखिरहेछु। तपाईंको मनको छटपटी म पढ्न सक्छु।
उसले यति भनेपछि बल्ल उसको आँखामा गहिरिएर हेरेँ। उसको आँखाले मेरो जस्तै पर्खाइको पीडा बोलिरहेको थियो।
'तपाईंले पनि कसैलाई पर्खनुभएको थियो?,' मैले प्रश्न सोधेँ।
'मेरो कहानी सुन्न मन छ?,' उसले सोध्यो।
उसको जबाफ सुन्नुभन्दा पहिला मोबाइल हेरेँ। साढे तीन बजेसम्म पनि मेरो मेसेजको कुनै रिप्लाई आएको थिएन। सात घण्टा कुरिसकेको रहेछु। सात जुनी कुरिरहेको छु जस्तो लाग्यो।
जब सात घण्टा कुरेको छु भन्ने आभाष भयो तब बेस्सरी भोक लागेर आयो।
'यदि कफी पिउन साथ दिनुहुन्छ भने म तपाईंको कथा सुन्न तयार छु,' मैले अलि जिस्किएर भनेँ।
'कफी नै पिउने हो भने उ त्यो क्याफेमा जाऔं। त्यहाँबाट तपाईंले लाइब्रेरीमा आएको मान्छेहरू सबै देख्नुहुनेछ,' अपरिचित मान्छेले मलाई अर्को तरिकाले कुर्ने बहाना सिकायो। लाइब्रेरीको ढोकामा मान्छे आएको गएको देखिने टेबलमा नै म सबैभन्दा पहिला गएर बसेँ।
मैले क्यापाचिनो र ब्राउनी मगाएँ। उसले लङ्ग ब्ल्याक मात्रै मगायो।
पहिलो क्यापाचिनोको चुस्की लगाउँदै सोधेँ– कसको पर्खाइमा हुनुहुन्छ आजसम्म।
त्यसपछि उसले बल्ल भन्न थाल्यो।
***
म इन्डोनेसिया जाँदा उनलाई भेटेको थिएँ। हामी एकअर्काको भाषा बुझ्दैनथ्यौ तर प्रेम बुझ्थ्यौं। म आर्मीमा थिएँ। मिसनको लागि विभिन्न देशमा गइरहेको हुन्थेँ। जब म मिसनबाट फर्कन्थें समय बिताउन म परिवारसँग भन्दा पनि उनलाई भेट्न इन्डोनेसिया जान्थेँ। उनलाई भेट्दा लाग्थ्यो ऊ हरसमय मेरो मात्रै पर्खाइमा भइरहन्थिन्। त्यसरी दुई तीन वर्ष हुँदै पाँच वर्ष बित्यो।
त्यसरी त्यो अपरिचित मान्छेको आफ्नो प्रेमकथाले मलाई विस्तारै उतिर तानिरह्यो। अब मेरो आँखा र ध्यान लाइब्रेरीको ढोकामा भन्दा पनि उसको कुरामा एकिकृत हुन थाल्यो।
'अनि त्यसपछि?,' मैले त्यसरी नै सोधेँ।
उनलाई बिहे गरेर ल्याउने तयारीमा थिएँ म तर यो कुरा भन्न भ्याएको थिइनँ। अब यसपटक जाँदा उसलाई बिहे गरेर यता ल्याउने तयारी गर्छु भन्दै थिएँ एक्कासि एकदिन एउटा चिठी आयो – म र मेरो परिवार अस्ट्रेलिया आउँदैछौं पानी जहाज चढेर। अब हामी मेल्वर्नमा नै भेटौँला। म चाँडै आउँछु पर्खेर बस्नु होला।
मैले त्यो चिठी उनीहरू हिँडेको पन्ध्र दिनपछि मात्रै पाएँ। उनी लगायत परिवार अस्ट्रेलिया इलिगल तरिकाले आउँदै रहेछन्। घण्टा बित्यो, दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, वर्ष बित्यो न उनी आइन् न पानीजहाज आयो। आज ठ्याक्कै बीस वर्ष भयो उनको प्रतिक्षामा अझै छु। आज पनि उनी आउँछिन् कि भन्ने आशा छ। उनको पर्खाइमा मेरो आत्मसम्मान हरेक दिन बढेको बढ्यै छ। उनको नाममा नै यो किताब लेख्दैछु।
त्यो अपरिचित मान्छेको झोलाबाट मोटो एउटा पाण्डुलिपी निस्कियो। उनको कुरा सुन्दासुन्दै पाँच बजिसकेछ, मलाई समयको ख्यालै नै भएन। लाइब्रेरी चार बजे नै बन्द भइसकेको थियो। कुरामा मैले मोबाइल हेर्न पनि बिर्सिसकेको रहेछु।
मोबाइल पल्टाएर हेरेँ। दश वटा मिस्डकल्ड अनि मेसेजको ओइरो रहेछ।
ऊ आएछ एक घण्टा अगाडि।
उसको एकएक मेसेजहरू पढेँ। उसको माफीको ओइरो थियो।
ऊ रातिदेखि बिहान अबेरसम्म साथीहरूसँग क्लबमा बसेछ। बिहान पख बल्ल निदाएछ। ऊ यस्तो निदाएछ कि मलाई नै भुलिदिएछ। सपनामा पनि मलाई नदेख्ने तरिकाले ऊ निदाएछ।
ऊ मेसेजमा आफू एक घण्टादेखि मलाई लाइब्रेरी अगाडि कुरिरहेको छु भनेर पनि लेख्दैथियो।
मान्छेको मन नै त हो जति चाँडो फुरुङ्ग हुन्छ त्यति चाँडो भाँचिन्छ पनि। मन नजोडिने तरिकाले भाँचिहाल्यो। उसले त्यसरी मागेको माफी र कारणले मनमा केही छोएन। उसले त्यसरी मलाई एक घण्टा कुर्नुपर्यो भनेर मनमा पनि केही हलचल भएन।
मेरी आमाले भन्नुहुन्थ्यो– भोक लागेको बेला खाना खान पाएन भने, भोक मरिसक्यो पछि खाना पाउँदा त्यसले ग्याष्ट्रिक मात्रै निम्त्याउँछ।
मलाई कफी र ब्राउनीको ढ्याउँ आयो। मलाई उसको पर्खाइ पुग्यो।
हातको गुलाब र अत्तर त्यो अपरिचित व्यक्तिलाई दिए र भनेँ – कसैलाई सात जुनी कुरेको जस्तो भयो अब आठ जुनी पनि उसलाई कुर्ने हिम्मत छैन। मेरो यो आठ जुनीको सुरूआतमा तपाईं भेटेँ खुसी लाग्यो।
यत्ति भनेर मैले मेरो फोन नम्बर पनि उसलाई दिएर म त्यहाँबाट हिँडेँ।
वाह! मेरो मुखबाट यो शब्द निस्किहाल्यो। मलाई कुनै एकादेशको कथा सुनेको जस्तो भइरहेको थियो।
'अनि त्यसपछि उसलाई रिप्लाइ गरिएन?,' मैले जिज्ञासाको साथ सोधेँ।
मैले उसलाई घर गएपछि ब्लक गरिदिएँ। यदि ऊ मलाई भेट्न आतुर हुन्थ्यो भने मलाई भेट्ने उसको प्राथमिकता पहिलो हुन्थ्यो। साथीहरूसँग भेटे पनि रातभरि पार्टी गर्दैनथ्यो। रातभरी पार्टी गर्दा पनि ऊ बिहान अबेरसँग सुत्दैनथ्यो। सुतेपछि अर्लाम लगाएर सुत्थ्यो वा उठ्ने अरू उपाय गर्न सक्थ्यो।
'एकचोटि उसको कुरा पनि सुनेको भए हुन्थ्यो कि! ऊ केही कुरामा पो फसेको थियो कि?,' मैले आफ्नो धारणा राखेँ।
यदि मैले कुरा सुनेको भए, यदि म फेरि पग्लिएको भए ऊ सधैं मलाई पगाल्ने कोसिसमा मात्रै लाग्थ्यो। मलाई प्राथमिकता बनाउने कोसिसमा कहिल्यै लाग्दैन्थ्यो। त्यो दिन मेरो आत्मसम्मानमा ठेस पुगेको थियो। आत्मसम्मानलाई ठेस पुर्याएर मलाई प्रेम गर्नु थिएन। आत्मसम्मानलाई लत्याएर मलाई कसैलाई पर्खनु थिएन।
त्यसपछि हामी दुवैले लामो श्वास फेर्यौं।
मैले हत्तनपत्त मेरो मोबाइल हेरेँ। मेरो मेसेजको रिप्लाई अझै पनि आएको थिएन।
अनि फियोनालाई सोधेँ- अनि त्यो अपरिचित मान्छेले फोन गर्यो?
फियोनाले हाँसेर भनिन्– त्यो अपरिचित मान्छे मेरो राम्रो साथी भएको छ त्यही दिनदेखि। ऊ कसैलाई पर्खिरहेको छ अनि सायद म उसलाई नै पर्खिरहेकी छु। उसलाई पर्खिंदा म थाकेको छैन। सात महिना होइन, सात घण्टा होइन चौध वर्ष भइसक्यो उसलाई कुर्दा मलाई रमाइलो लाग्छ। मेरो आात्मसम्मान झन् बढ्छ। उसले पाँचवटा किताब लेखिसक्यो यो अवधिमा र उसले लेखेको हरेक किताब हरेक लाइब्रेरीमा पुर्याउँदा, कसैलाई पढ्न दिँदा म मनदेखि नै खुसी हुन्छु।
म फियोनाको कुरा सुनेर चकित मात्रै भइरहेको थिएँ।
अनि फ्याट्ट भनिदिएँ – कस्तो मिठो पर्खाइ।
'पर्खाइ मिठो हुनुपर्छ डियर, तितो होइन। जीवनमा कुराउने मान्छेलाई कहिल्यै नपर्ख, कुर्ने मान्छेलाई पर्ख,' फियोनाको यो फेरि अर्को दार्शनिक लाइन थियो।
उनको पर्खाइजस्तै उनको कुरा पनि मिठो थियो।
काउन्टर रित्तिएको थियो। फियोनाले मलाई एउटा किताब दिइन् र भनिन्–यही किताब लेख्दैथियो अपरिचित त्यो दिन।
अनि किताब समात्दै मैले भनेँ– कुनै दिन त्यो अपरिचित व्यक्तिसँग भेट भयो भने तपाईंको बारेमा पनि किताब लेख्नु भन्ने छु। मलाई अब तपाईंको प्रेमजीवन र पर्खाइको किताब पढ्न मन छ।
फियोना मुसुक्क हाँस्दै भनिन्– प्रेमको इतिहास ठूला ठूला किताबमा नै लेखिनुपर्छ भन्ने छैन। प्रेमको कथाले उपन्यासकै आकार लिनुपर्छ भन्ने पनि छैन। कुनै कुनै प्रेम कागजमा होइन मनमा लेखिन्छ डियर।
'तपाईंको नाम?'
सुरूमै सोध्नुपर्ने जाने बेलामा बल्ल सोधेँ।
'फियोना।'
'अनि तपाईंको?'
'निलम।'
'नाइस मिटिङ यु निलम।'
'सेम हेयर फियोना।'
'याद राख निलम, समयलाई पर्ख तर समयमा नै प्रेम चिन्न नसक्ने व्यक्तिलाई नकुर।' जाँदाजाँदै फियोनाले फेरि पर्खाइको अर्को दर्शन दिएर गइन्।
मोबाइलमा मेसेज चेक गरेँ।
उसको मेसेज आएको रहेछ।
'सरी, मैले धेरै कुराएँ। थकाइले म त भुसुक्कै निदाएछु।'
चौध वर्ष अगाडि त्यो मान्छे निदायो आज फेरि यो मान्छे निदायो।
चौध वर्षमा रामको वनबास सकियो तर यिनीहरू निदाउने बानी सकिएन।
फोन स्वीच अफ गरेँ अनि किताब बोकेर म त्यही क्याफेतिर लागेँ।