गाडी भकुन्डे पुगेपछि घ्याच्च रोकियो। पुसको दिन बिहान नौ बजिसक्दा पनि दिन खुलिसकेको थिएन। दिन मस्त मुस्कुराउन नसक्नुमा अलिअलि हुस्सुको देन थियो, बाँकी त जाडो दिनको विशेषता नै भइहाल्यो।
सेनाको रिक्रुटले गुरुजीलाई हामी सबै यात्रुले सुन्ने गरी हपार्दै भने 'ओइ गाडी बनेपा फर्का, नार्केमा तेरा बाउहरूले एम्बुस थापेका छन् रे!'
गुरुजीको अनुहारमा औँसीको कालरात्रि छायो। मनमनै त गुरुजीले सेनाको जवानलाई पनि खुब सरापे होलान्। सङ्कटकालको सेनालाई मुखमुखै लाग्नु आफ्नै ज्यानको सफाइ हुन सक्ने सम्भावना बुझेरै गुरुजीले सेनाको रिक्रुटलाई पोख्ने रिस आफ्नै सहयोगीलाई पोख्दै भने- 'तेरा बाउआमालाई झार्दे रे सुनिनस्?'
यात्रुहरूको लामो कचकच सुनेर बसेका ती नै सेनाको रिक्रुटले सबै यात्रुलाई तथानाम गाली गर्दै आदेश दियो- 'आफ्नो झोला चेक गराएर आफ्नो बाटो लागिहाल तुरुन्तै।'
मैले बसको सहयोगीसँग एक छिन अगाडि दिएको सय रुपैयाँ फिर्ता माग्दा गुरुजीले गाडी स्टार्ट गरे र बनेपाको बाटो नै बतासिए। पैसा फिर्ता नपाउने सबै मजस्तै निराश देखिन्थे। म भने रुन मात्र नसकी सेनाको चेकिङ लाइनमा खडा भएँ। विद्यार्थी हुनुको नाताले मैले बनेपा-मंगलटारको भाडा ४१ रुपैयाँ तिरे पुग्थ्यो। मेरो ५९ रुपैयाँ फिर्ता आएन। म रुन मात्र नसकेको कारण चाहिँ मसँग त्यही सय रुपैयाँभन्दा अरू फुटेको कौडी थिएन।
त्यही सय रुपैयाँ पनि कुन सकसले जुटाएर मीनपचासको बिदा मान्न आफ्नै गाउँ सिकरकटेरी फर्कँदै थिएँ। म भकुन्डेमा बेखर्ची भएँ। चेकिङमा खटेको सेनाको रिक्रुटले गुनासो त सुन्यो तर केही नबोली उसकै ड्युटीमा मग्न भयो। फेरि गुनासो पोख्दा उसको सरापले मेरा दुई कानबाट रगत निस्केला जस्तो भयो।
गाडीका चार/पाँच जना यात्रुलाई आफ्नो फिर्ता नआएको ५९ रुपैयाँको गुनासो सुनाएँ। उनीहरूले सुनिदिए। म अलमल्ल पर्दै भकुन्डे आसपासमा भएका नातागोता सम्झिएँ। गोरु बेचेको साइनो लगाउने आफन्ती भकुन्डेमा मात्रै होइनन् पर पर नेपालथोकसम्म पनि थिएनन्। गाडीका अधिकांश यात्रु पुनः बनेपा नै फर्किने भए।
मैले आफू चढेर आएको गाडीका सहयोगी खोजेँ। अहँ! भेटिनँ। बनेपा हिँड्न ठिक्क परेको गाडीको नयाँ सहयोगीलाई गुनासो एकै सासमा कहेँ। उसले गाडी नम्बर सोध्यो। म बेखबर भएँ। टिकट काट्ने चलन थिएन। बाटोमा यस्तो पर्ला भन्ने के पत्तो? अलिक अनुरोध गरेको भए ती नयाँ गाडीका सहयोगीले बनेपा पुराउँथे कि भन्ने हिम्मत मनमा आयो। फेरि बनेपाबाट कोटेश्वर र कोटेश्वरबाट चाबहिलको भाडाको भिख माग्नुभन्दा सिकरकटेरी हिँडेरै पुग्ने आँट कसेँ।
मेरो भागमा अब रोशी खोलाको पानी पिउनु सिवाय बाँकी केही थिएन। एसएलसी दिएर पहिलो पटक काठमाडौँ पसेको मलाई सिकरकटेरीको यादले खुब सताउँथ्यो। बा आमा आँखा वरपर नाचिरहन्थे। भैँसीको मिठो दूधको स्वाद जिब्रोमा झुन्डिएरै बसेको थियो। घरका हाम्रा हलगोरु तारेकलुवाको मात्रै होइन काली र टटेरी बाख्राको सम्झनाले समेत सताउँथ्यो।
चाबहिल चोकका भतुवा कुकुर देख्दा आफ्नो प्रिय चङ्खेको याद आउँथ्यो। म घर पुग्दा चङ्खे खुब खुसी हुन्थ्यो। मलाई गालामा चाट्थ्यो। खुसीले खुब पुच्छर हल्लाउँथ्यो। दसैँ तिहार मनाएर फर्केको लामो समय भएको थिएन। मेरो तन काठमाडौँको खाल्डोमा भए पनि मन जहिले सिकरकटेरीमै पुगिरहन्थ्यो।
विरक्तिको अर्को कारण म आफ्नै आफन्तको घरमा बसेको थिएँ। उनीहरूको अघोषित प्रधान शत्रु म थिएँ। तिनीहरूलाई मेरा बाले कमरा खोजिदिन अनुरोध गर्दा आफ्नै घरमा बस्छ भनेर बनावटी वचनलाई मेरा गाउँले बाले पत्याएर सिकरकटेरी फर्किएका थिए। म तिहार पछाडि त्यस घरमा फर्कन चाहन्न थिएँ। कृषकाय उमेरका बाले मीनपचासको बिदामा घर आउँदा गोटा दश एक हजारको जोहो गरेपछि आफ्नै कमरा लिएर बस्लास् भनेका थिए। त्यसैले सिकरकटेरी पुग्नै पर्थ्यो।
सबैभन्दा पहिले त सयको नोट औँलामा च्यापेर पैसा फिर्ता नदिने गाडीको सहयोगीसँग रिस उठ्यो। जनतालाई दुःख दिने माओवादीसँग पनि भेट हुन्थ्यो भने भनिदिन्थेँ- 'तिमेरू कायर हौ। एम्बुस थाप्दै हिँड्ने। दम हुनेले दिउँसै सेनासँग यही भकुन्डेमा लडाइँ गरे भो त। महाभारतको जसरी लडाइँ लड्नु नि। जनता माछा हुन् र? ढोक्सारुपी एम्बुस थाप्नु?
सेनाको रिक्रुटको पारा आँखा अगाडि बसिरह्यो।
'ए साना मान्छे पनि आउँदै रहेछन्, मेरा साथी भइहाले।'
अगाडिका दाँत झरिसकेका बुढाउले मलाई नसोधी साथी बनाए। उनी मै आएको गाडीमा आएका थिए। गाडीमा हाम्रा आँखा जुधेका थिए। एक दुई पटक मात्रै। चिनजान गर्यौँ। बुढाउ इन्डियन आर्मीका रिटार्यड रहेछन्। मेरा खुट्टा फतक्कै गले। पेट भोकले बाउँडिन थाल्यो। मेरो मर्म बुढाउले बुझे र भने, 'मेरा साना राजालाई भोक लाग्यो, लौ अब खाना खाने।'
बुढाउले मेरो सबै कहानी सुनेँ। उनका नयनहरू रसाए। हामीले थपी थपी माछाभात खायौँ। बुढाउले टन्नै दही-चिउरा खाजा खुवाए। हामी मंगलटार आइपुग्दा साँझ होइन, रातै पर्यो। खाना खाइसकेर बुढाउले साहुनीको हिसाब बुझाउँदै भनेका थिए- 'मेरा सानुराजा अबेरसम्म सुतेर बाटो तताउँछन् है।'
साहुनीले टाउको हल्लाएर समर्थन गरिन्।
बुढाउले झोलाबाट 'मुनामदन' निकाले। मैले मिठो स्वरमा बुढाउलाई पूरै किताब वाचन गरेँ। कुनै हरफहरू बुढाउले औधी मन पराए। मैले तेहराएर पढेँ। उनी औधी खुसी भए। सुत्ने बेला बुढाउले मलाई भनेका थिए- 'मेरो सानु राजा तपाईंको स्वरमा टिभीमा समाचार सुनेर मात्रै मर्न पाए हुन्थ्यो।'
गलेको शरीर मैले धान्न सकिनँ। म भुसुक्क निदाएँ। बिहान सबेरै बुढाउले मेरो कपाल मुसारे। मेरो पाइन्टको खल्तीमा केही हालिदिए र भगवान्को नाम जप्दै उनी बाटो लागे। मैले तन्द्रामै खल्तीको चिज निकालेँ। एक हजारको नोट थियो।
हिजोआज मंगलटारसम्मको बिपी हाइवे बोहोरेटारसम्मै पुग्छ। कच्ची बाटो सिकरकटेरीसम्मै पुग्छ। आज देशमा नार्केमा बम थाप्नेहरूकै नेतृत्व गर्नेको सरकार छ। भकुन्डे शान्त छ। सेनाका रिक्रुटहरू रोडमा देखिँदैनन्।
म बुढाउले भनेको जस्तो टिभीमा समाचार वाचक बन्न सकिनँ। धेरै वर्षसम्म यी चक्षुहरूले बुढाउ खोजिरहे। अहँ देखिएनन्। बाँचिरहेका भए टिभीका च्यानलहरूमा कतै समाचार भन्न त्यही मुनामदन पढेको खिरिलो केटोलाई देख्छु कि भन्ने आस पो गर्दै छन् कि? होइन अब त बुढाउका थाकिसेका नयनहरूले टिभी स्क्रिन हेर्दैनन् होला जसरी मेरा चक्षुहरूले बुढाउ खोज्दैनन्।