'जनाब! जाऊँ उमीतिरै।'
चन्द्रवीरको अनुहार निचोरिएको कागती जस्तो देखिएको थियो। जेएसएल नामको जापनिज भाषा स्कुल र उमी बिचको दूरी थिएन भन्दा पनि हुन्थ्यो। पचास मिटर हिँडेपछि उमी पुगिन्थ्यो। मैले चुरोटको लास्ट पप तानेर जवाफ दिएँ, 'उमी देखिएकै छ त, कतै बस्ने भए बसम्।'
'होइन जनाब, ऊरासोएको उमी भनेको होइन, पर पुलसम्म पुगम् न होउ।'
चन्द्रवीर याकथुम्बालाई जापान आउने हवाई मार्गको लामो ट्रान्जिट चाइनाको कुमिङमा भेटेको थिएँ। तेह्र घण्टे लामो पर्खाइ पट्यारलाग्दो थियो। नेपालबाटै ल्याएको चुरोट मनमौजी पिइरहेको थिएँ। अनायासै चन्द्रवीरले बोलाएको थियो, 'जनाब कहाँसम्मको हाम्रो यात्रा?'
मैले ओकिनावा भनेपछि उसले मलाई गम्लङ्ङ अँगालो हालेको थियो। कुराको पोयो फुकाउँदै जाँदा उसको र मेरो गन्तव्य समान थियो- जेएसएल निप्पोन एकेडेमी, ओकिनावा।
म उसैको पछिपछि हिँड्दै गन्तव्यमा पुगेँ। चन्द्रवीर अचाक्ली बोलिरहन्थ्यो। अति भएपछि मलाई भन्थ्यो, 'बोल्नु न होउ जनाब।'
अचम्म अरूमा होइन, उसले मलाई के कारणले 'जनाब' भनेको होला। सोध्न मन त थियो तर सोधिनँ।
चन्द्रवीर रोमान्टिक पाराको थियो। हिन्दी गानाका टुटे फुटेका हरफहरू गुनगुनाई रहन्थ्यो। जस्तो कि 'ए दिल और उनकी।' त्यसो त नारायण गोपालको 'नजिक तिमी नआऊ, म मातिएको बेला' ऊ टुच्च टुच्च गाउँथ्यो।
हँसमुख चेहराको चन्द्रवीर र मेरो होस्टेलको बेड पनि एउटै पर्यो। सानो भऱ्याङ चढेर म बेडको माथि उक्लिएँ। उसले तल्लो बेडबाट भन्यो, 'हिँड्नुस् जनाब चुरोट तानम्।'
मलाई भने पुरापुर थकाइ लागेको थियो। ३० घण्टाभन्दा बढीको लामो विदेश यात्राले फतक्कै गलाएको थियो। गाँस छोड्नु साथ नछोड्नु भनेजस्तै मेरो परदेशको परम मित्र चन्द्रवीर थियो। म उसैको पछि लागेँ, लुरुलुरु।
हामी नजिकैको फेमेली मार्ट पस्यौ। चन्द्रवीरले ५०० एमएलका बियरका दुई वटा क्यान किन्यो। पैसा तिर्न अरूको सिको गर्दै चन्द्रवीर काउन्टरमा पुग्यो। एउटी मोडल जस्ती लाग्ने जापनिज तरुनीले चन्द्रवीरलाई शिर झुकाएर केही बोली। उसले थ्याङ्क यू भन्दा काउन्टरकी उक्त केटी ट्वाँ परेकी थिई।
ओकिनावाको ऊरासोए नगरीमा राती ११ बजे पनि झलमल्ल उज्यालो थियो। मायालु जोडीहरू चपक्क अँगालोमा सुपर ग्लुले टाँसिएको जसरी बसेका थिए। नोभेम्बरको जाडोमा जापनिज तरुनीहरू माइक्रोमिनि स्कटमा हिँडिरहेका थिए। हामी पनि फेमेली मार्टको उत्तर कुनोमा बसेर बियर र चुरोट घोलिरह्यौँ। जापनिज बियर नेपाली स्वादभन्दा अलिक फरक थियो।
चन्द्रवीरले हाँस्दै सोध्यो, 'कस्तो लाग्यो जनाब जापान?'
मलाई दिक्क नै लाग्या थियो, त्यही भनिदिएँ। मलाई सम्झाउँदै चन्द्रवीरले भन्या थ्यो, 'जनाब, यहाँ स्वर्गका परीहरू रहेछन्, ढुक्क हुनुस् तपाईंको भाइ चन्द्रवीर याकथुम्बाले इन्टरनेसनल प्रेमिका पट्याउँछ।'
उसले फेरि भन्यो, 'इन्टरनेसनल गर्लफ्रेन्ड।'
चन्द्रवीरको हँसमुख चेहरा थप गुलजार देखिएको थियो।
दिन रातमा परिणत भएको भेउ पाइँदैनथ्यो। दिनहरू बिते। रातहरूले बिदा माग्दै गए। जेएसएल निप्पोन एकेडेमीले भाषा पढाउन सुरु गर्यो। चन्द्रवीरले सेरिका मिस नै ताक्यो। भेतनामी र म्यानमारी केटीहरू चिटिक्क परेर स्कुल आउँथे। चाइनिजहरू भने छुच्चा थिए।
पार्ट-टाइम काम लगाउन स्कुलले कुनै चासो दिएन। मेरो र चन्द्रवीरका खल्तीमा भएका जापनिज एनहरू सकिँदै गए। हामीले भविष्यको चिन्ता नमानी बियर अकण्टक पिएका थियौँ। दुई जनाको सल्लाहमा एउटा साइकल नामको जिनिस जोडेका थियौँ। अब हामीलाई जापानको सामुद्रिक सुनामीले डुबाउने कृत्रिम परिस्थिति नजिकै आइसकेको भान हुन्थ्यो।
रोमान्टिक चन्द्रवीर पनि शनैशनै मजस्तै भयो। कुनै मनोबेत्ताकोमा पुग्थ्यौँ भने हामी भास्ट डिप्रेसनका बिमारी ठहर्थ्यौँ। यस्तो जीर्ण अवस्थामा चन्द्रवीरले समुद्रमाथिको ठुलो पुलमा जाऔँ भन्दा म झस्किएको थिएँ। त्यो पुलबाट हाम फालेर विदेशी विद्यार्थीले मात्रै होइन, धेरै जापनिजले समेत इहलीला समाप्त गर्ने गरेको समाचार ऊरासोएको गल्ली गल्लीमा सुन्न पाइन्थ्यो।
घोर निराशाका दिनहरूले चन्द्रवीर आफ्नै जीवनदेखि वाक्क भएको छनक उसको चेहराले बताउँथ्यो। मेरो मनमा पनि आँधीबेहरी त चलिरहन्थ्यो। जसोतसो भोलिको आसमा जीवन लतार्दै थिएँ।
किस्ताबन्दीको आइफोन फाइभ एस बल्ल पाइएको थियो। युट्युबमा फिल्म हेर्न पाइएको थियो। सायद मन मरिसकेको थियो। कानमा इयरफोन घुसारेर चन्द्रवीरको पछिपछि लागेँ। नेपाल सम्झिएँ। पन्ध्र लाख ऋण किन बिर्सन सक्थेँ र? बुढा बा-आमा झलझली आँखा वरिपरि घुमिरहे। मलाई भनन रिँगटा लाग्यो।
इयरफोनमा मिल्दोजुल्दो गीत गुन्जियो- 'तिमी रोयौ कतै, म रोएँ कतै, जहाँ रोए पनि हाम्रो आँसु मिल्दो रहेछ।'
तोमारेबाट दक्षिण कोरिया जाने पानीजहाज सलल बग्छ। उक्त पानीजहाजमा दक्षिण कोरियाको झन्डा देखेर उता जाने भन्ने अनुमान लगाएको थिएँ। उमीको चारैतिर मिलेका जोडीहरू आफ्नो जवानी लुटाउन व्यग्र र व्यस्त थिए। उमीभित्रका माछा पनि खुसीले समुद्रको पानीको तहभन्दा पाँच हातमाथि उफ्रिन्थे। त्यो उमी आसपास हामी दुई मनुवा मात्रै अत्यन्त दुःखी थियौँ। एउटा फिरङ्गी र जापनिजको जोडी हामी आएर बसेपछि फुत्त हिँडे। हामीतिर हेर्दै 'दुःखी आत्माहरू'सँग नबसौँ भनेर हिँडेका हुन सक्थे।
चन्द्रवीर आइफोनमा केही बेर आँखा डुलाउँथ्यो, फेरि खल्तीमै हाल्थ्यो। बाटोमा उसले यो प्रक्रिया सयौँ पटक दोहोरायो। आखिर के आएको थियो उसको आइफोनमा? कुनै अशुभ खबर पो आयो कि? मेरो मुटु ढुक्क फुल्यो। चन्द्रवीर र म एक अर्काको सिरानी बनेका थियौँ। ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गो भनेको जस्तै थियौँ।
उसले छाती भित्रबाट एउटा फोटो फ्रेम निकाल्यो। सेतो सर्ट र कालो पाइन्टमा केटाले केटीतिर केटीले केटातिर हेरेर अङ्ग्रेजीमा भन्छन् नि 'आई टु आई कनट्याक्ट'को पोजमा फोटो खिचेका थिए। फोटोमा लेखिएको थियो- टि+पि= लाइफ। फोटो स्टुडियोले आफ्नो विज्ञापन गर्न भ्याएको थियो। बुढासुब्बा फोटो स्टुडियो धरान।
चन्द्रवीरले नजर मतिर तेर्स्यायो र भन्यो, 'जनाब, यो फोटो समुद्रमा सेलाइदिनुस्।'
'फोटो किन सेलाउनु? भयो मेरो सुटकेसभित्र म राखिदिन्छु।'
चन्द्रवीर केही बोलेन। हाम्रा आँखाहरूले पर-परसम्मको समुद्र अवलोकन गरिरहे। मेरो प्रस्तावलाई अस्वीकार गर्दै चन्द्रवीरले भन्यो, 'फोटो त सेलाउनै पर्छ। ऊ मरिसकी।'
'मरिसकेकी भए पनि त तिम्री दिवगत प्रेमीकालाई श्रद्धाञ्जली चढाएर मालाले सजाएर आफ्नो कोठामा पो राख्नुपर्छ। यसरी समुद्रमा फाल्नु हुन्न।'
समुद्रमा ज्वारभाटाहरू स-साना थुम्की जत्रा देखिए। तुरुन्तै भत्किन्थे। उमी फेरि शान्त देखिन्थ्यो। समुद्रको जीवन यही नै थियो। उसको जीवनभित्र हजारौँ जलचर प्राणी र वनस्पतिहरूको अर्को जीवन पनि थियो। एउटा जीवनभित्र हजारौँ जीवनहरू आश्रित थिए।
चन्द्रवीरले त्यो फोटो फ्रेम फुत्त समुद्रमा फालिदियो। करिब दश मिनेटसम्म त्यो केटीको डिम्पल परेको गालो मेरा आँखाले देखिरह्यो। हावाको ठुलो झोक्काले समुद्रमा ज्वाराभाट निस्कियो। फोटो फ्रेम गायब भयो।
'तारा, तिमी लन्डनमा तिम्रो लाहुरेसँग खुसी भएर बाँच्नु है,' यति भनेर चन्द्रवीरले तुरुक्क आँसु चुहायो।
चन्द्रवीरकी प्रेमिका बेलायतको लाहुरेसँग टाप कसेकी थिई। मलाई जापनिज परी पट्याउँछु भन्ने चन्द्रवीरकी प्रेमी ताराले यही चन्द्रवीरको आलो घाउमा चुक थपिदिएकी थिई।
'मोबाइलको म्यासेज डिलिट गरेको हो?'
मेरो प्रश्नलाई नजरअन्दाज गर्दै चन्द्रवीरले चुरोट सल्कायो। एक मुख धुवाँ फ्याँक्दै ऊ मौन बस्यो। चुरोट मलाई नदिई सक्काएर ठुटो समुद्रमा फ्याँकिदियो।
'लौ मेसेज पढ्नुस् जनाब तर मलाई बियर मात्ने गरी पिउनु पर्छ। यो किन्ने जिम्मा तपाईंको जनाब।'
मैले हजार एनको पत्तो चन्द्रवीरलाई दिएँ। ऊ फेमिली मार्टमा बियर लिन गयो।
'प्यारो प्रताप,
अविरल माया र सम्झना। एसियाको मध्य पूर्वी देश जापानमा तिमी उडेसँगै मेरो मन पनि तुलबुल तुलबुल भइरह्यो। महेन्द्र मल्टिपल क्याम्पसमा कस्तो संयोगले हाम्रो मिलन र माया बसेको थियो। बिए पहिलो वर्षको सोसियोलोजी सब्जेट पढ्दा मैले मनमनै तिमीलाई मनको राजा घोषणा गरिसकेको थिएँ। तिमी यति हेन्डसम र समझदार थियौ कि त्यसको वर्णन महाभारत लेख्ने वेद ब्यासले मात्रै गर्न सक्लान्।
मनमनै अति मन पराए पनि तिमीसम्म प्रस्ताव लाने भरपर्दो मध्यस्थकर्ता भेटिरहेको थिइनँ। तिम्रो साथी मकरे 'गिदी' लाग्थ्यो। सबै उपायहरू फेल खाँदै गए। तिम्रो सोसियोलोजीको नोट माग्दा तिमीले भनेका थियौ- तारा, मेरा अक्षरहरूले तिम्रो 'भेजा' खानेछन् है।
तिमी सायरी, गजल र कविता रचना समेत गर्दा रहेछौ। सोसियोलोजीको नोटमा तिम्रा आफ्ना दृष्टिकोणहरू थिए। खाली प्रोफेसरका हुबहु नोटको ठ्यासफूलाई तिमीले अस्वीकार गरेका थियौ।
मेरो प्यारा,
तिम्रो सोसियोलोजीको अन्तिम पानामा एउटा विद्धानको कोटेसनलाई उद्धृत गर्दै लेखेका थियौ- असम्भव भन्ने शब्द शब्दकोषमा मात्रै सीमित हुन्छ।
तिम्रो साहित्यिक नाम प्रताप त्यसै कोटेसनको लास्टमा थियो। मैले प्रताप पछाडि म्याथम्याटिक्सको प्लस राखेर तारा लेखिदिएँ। एउटा पानको पात बनाएर तारा र प्रताप लेखेको थिएँ। तर प्यारा मलाई प्रतापभन्दा तिम्रो वास्तविक नाम चन्द्रवीर उधुम मन पर्थ्यो।
मेरो प्यारा,
तिमीलाई पक्कै लागिसक्यो, आज म किन विगतका हाम्रा प्रेम कहानीहरू लेखिरहेको छु? मेरा खसम, अबबाट हाम्रो गफगाफ कहिले हुने छैन। तिमीले यो म्यासेज पढिरहँदा म लन्डनको चिसोमा लाहुरेको बाहुबलभित्र केबल तिमीलाई सम्झिरहेको हुनेछु।
नोभेम्बर चौधमा काठमाडौँबाट फुपूले ब्रिटिस लाहुरे केटो बिहे गर्ने कुरा छिनेर लिएर आइपुगिन्। हाम्रो सुड्डोले फुपूलाई फोनबाटै मलाई एक वचन नसोधी मेरो जीवनको निर्णय सुनाएछन्। तिमीलाई थाहै छ, आफ्नी आमाको मुख देख्न नपाएकी मलाई तिनै फुपूले पढाई लेखाएकी थिइन्। आज पनि मेरो लागि फुपू आमा समानकी छिन्। मेरो कर्म दिएकी फुपूलाई मैले नाइँनास्ती नगरीकन म ब्रिटिस लाहुरेको अर्धाङ्गिनी भएँ।
प्यारो मान्छे,
सप्तकोसीमा वर्षामा आएको भेलले बस्ती बगाए सरी मेरो जीवन अनायासै ब्रिटिस लाहुरेको काँधमा पुग्यो। भन्दै थिएँ नि, त्यो तिम्रो सोसियोलोजीको नोटको एउटा पानामा मेरो मोबाइल नम्बर लेखिदिएको थिएँ। त्यही नम्बरमा तिमीले 'आई लभ यू तारा' भनेर एसएमएस पठाएपछि म संसारकै खुसी युवती भएको अनुभूति गर्दै थिएँ। मेरो खुसी लुटिए। बुढासुब्बाको कसम तोडिए। तिम्री बहिनीले एक बिहान लजाउँदै फोनमा भनेकी थिइन्- 'तारा दिदी, हाम्रो सान्दाइ जापान पुगे रे।' ती पापीहरू हुन्, दुई कल गर्न दिएका भए तिम्रो र मेरो अन्तिम बातचित हुने थियो।
कति लेखम्? हाम्रा गन्थन र मायाका कहानी कहिले सकिँदैनन्। तिम्रा सबै यादहरूलाई सर्दु खोलामा सेलाएर जाँदै छु। त्यो 'आँखा जुधाएको' फोटो बोक्न मन थियो। लाहुरेको मन ढुङ्गोको हुन्छ भन्छन्, बोकिनँ नि। तिमीले पनि हाम्रा सबै यादहरू नजलाउनू, सकेको सप्तकोसीमा लगेर सेलाउनू। यो सिम कार्ड पनि बाटोमा पर्ने खोला या नदीमा फ्यालिदिन्छु। यो फेसबुक एकाउन्ट पनि परमानेन्टली डिएक्टिभ गरिदिन्छु।
मलाई बिर्सनू है प्यारा। यो जीवनमा तिमीसँग कहिल्यै भेट नहोस्। अलबिदा।
तिम्रो हुन नसकेकी
तारा।'
चन्द्रवीर हिक्क-हिक्क हुँदै थियो। आइफोनमा २१:४५ बजेको देखायो। तर ओकिनावा अनेकन् घ्याम्पा जत्रा बिजुली बत्तीहरूको उज्यालोले गुलजार थियो। निराश त सिर्फ हामी दुई थियौँ, चन्द्रवीर र म।