सायद मेरा बा पनि
ठुला नेता वा
उच्च पदवाला कर्मचारी भइदिएको भए 
सायद मेरा बाले पनि
कमिसन र भ्रष्टाचारको दलदलमा फसेर
ठुलो बङ्गला, गाडी-घोडा, नोकर चाकर
घरभरि जोडेको भए
सोच्छु म के हुन्थेँ होला?
मेरा बा सामान्यभन्दा पनि सामान्य नागरिक हुन्
मलाई त अचम्म लाग्छ 
मेरी आमा कहिलेकाहीँ भन्नु हुन्छ,
तँ जहाँ जन्मिएको थिइस्
त्यो घर कसैको सहयोग बिना 
तेरा बाले एक्लै खडा गरेका थिए 
त्यति मात्र कहाँ हो र!
त जहाँ हुर्किएको होस 
त्यो घर पनि तेरो बाले एक्लै बनाएका 
मेरो शरीरभित्र दौडिरहेको मेरो रगतको हरेक थोपा
मेरो बाको पसिनाको पर्यायवाची हो
मेरो शरीरमा थुप्रिएको हरेक मासुको हल्ला 
मेरो बाबुको शुद्ध परिश्रम हो 
जहाँ कमिसन र भ्रष्टाचारको गन्धसम्म मिसिएको छैन
मैले सिकेका जीवनका उकाली ओरालीहरू 
बाबुको हातमा उठेको ठेलाहरू हुन्।
योभन्दा मलाई पक्कै गर्व लाग्छ 
म यो युगले जन्माएको 
एउटा अर्ग्यानिक मान्छे हुँ
ह्याप्पी फादर्स डे!