गाउँघरमा बुढापाकाले उखान गरेजस्तै 'युकी'को चिठी बाह्र वर्षपछि जापानको कोबेबाट नेपालको सिकरकटेरीसम्म आइपुगेको थियो। मैले जापनिज भाषा झन्डै भुल्नै पो आँटिसकेछु। चिठीभरि युकीले वेदना पोखेकी थिई। चिठीभरि पनि आँसुका ढिका खसालेकी थिई। चिठी पढिरहँदा मेरा चक्षुबाट पनि आँसु खसिसकेछन्।
‘बाबा, किन रुनुभा'को?’
म झसङ्ग भएँ। हतार हतार आँसु पुछेँ। छोराले 'उसकी ममी'लाई समेत म रोएको प्रसङ्ग सुनायो।
अनुकम्पाले एकोहोरो मेरा दुई नयनमा हेरिरही। लामो शून्यतापछि अनुकम्पाले सोधेकी थिई- 'के लेख्या रैछ जापनिज चिठीमा रुनै पर्ने गरी?'
युकीसँग भेट हुँदैनथ्यो भने ऊसँग बिहे पनि हुँदैनथ्यो। बिहे हुँदैन थियो भने 'डिभोर्स' मात्रै होइन सात समुद्र पारि मेरा जुम्ल्याहा छोरीहरू 'माकी' र 'साकी' पनि हुँदैनथे। कत्रा भए होलान् 'माकी र साकी'हरू?अनि क्यान्सर संक्रमणको अन्तिम चरणमा पुगिसकेकी युकीको पनि खुब माया लागेर आयो।
माकी र साकी दुई वर्ष पुग्दा नपुग्दै छोडेर हिँड्नुपरेको तितो विगत पुनः तरु ताजा बनेर मस्तिष्कमा आयो।
जापानको ठुलो सहर ओसाकाबाट अलिक भित्र पर्ने कोबेमा सन् २००० को अन्त्यतिर म जापनिज भाषाको विद्यार्थी र युकी भाषा पढाउने शिक्षिकाको रूपमा 'लेक्सिस जापान' नामको भाषा स्कुलमा पहिलो भेट भएको थियो।
मलाई सहपाठी साथीहरूले युकी मिसले तँलाई मन पराउँछिन् भने पनि विश्वास लागेको थिएन। युकी मिस मलाई खुब प्यारले हाजिर लिँदा नाम बोलाउँथिन्।
त्यो दिन शुक्रबार अर्थात् सप्ताहान्तको दिन पार्ट-टाइम काम बिदा थियो। साथीहरूले क्लब जाँदैनस् भनेर भनेका पनि थिए तर म यसै होस्टेलको टिभीमा 'सिमुराकेन'को कमेडी कार्यक्रम हेर्दै समय कटाउँदै थिएँ। जापनिज कमेडियन सिमुराकेनको कमेडीमा हाँस्यरस उत्पात हुन्थ्यो भने मजस्ता जापनिज भाषा सिक्नेहरूले हाँस्दा हाँस्दै निकै जापनिज शब्दहरू जान्दथे पनि। सिमुराकेनको कमेडी हेर्नुपर्छ भनेर कक्षामा भन्ने पनि युकी मिस नै थिइन्।
युकी मिस बत्तिस लक्षणले भरिएकी थिइन्। सबै जापनिजले जस्तै उनले पनि कपालमा अल्खा निकालेकी थिइन्। उनका दाँतहरू अरू जापनिजका जस्ता पहेँला थिएनन्। प्रायः कालो पाइन्ट र निलो टी-सर्टमा चिटिक्क परेर हिँड्ने युकी मिस होस्टेलमै उही पहिरनमा पो आइपुगिन्।
म नेपालबाटै लगेको सामान्य हाफ पाइन्टमा होस्टेलको बैठक कोठा भन्न मिल्ने ठाउँमा मेसिनबाट झिकेर ल्याएको 'कोल्ड कफी' पिउँदै थिएँ। मैले जापनिज पारामै ढाड मर्काएर, टाउको निहुरेर युकी मिसलाई अभिवादन गरेँ। युकी मिस पनि मेसिनबाट 'हट कफी' निकालेर आरामले पिउन थालिन्।
मसँग युकी मिससँग बोल्ने त्यति धेरै जापनिज शब्दहरू थिएनन्। हामीले आँखा जुधाइरह्यौँ। करिब एक घण्टा पछाडि युकी मिसले घडी हेरिन्। एक झोक्का नजर आफ्नै कारतिर फ्याँकिन् र मलाई भनिन्- 'हिँड बाहिर जाऔँ।'
मैले युकी मिसले बोलेको भाषा बुझेको थिइनँ। तर उनको आँखाको भाषा बुझेको थिएँ। त्यति बेला खुब लाज लागेको थियो जति बेला युकी मिस मेरो पछि पछि हामी बस्ने कमरामै प्रवेश गरिन्। मैले नदेख्ने गरी उनले आफ्नो नाक थुनिन्। तुरुन्तै बाहिर निस्किन् युकी मिसले अड मानिन्।
मैले बाथरुममा झटपट नुहाइसकेँ। चिसो कपालमा 'जेल' लगाएँ। फर्मल कालो पाइन्ट र सेतो सर्टमा मलाई देखेपछि जापनिज भाषामा केही बोलिन्। कमराबाट बाहिर निस्कँदा रातको दश बजिसकेको थियो।
अनौठो के भने जापानमा दिन र रातहरूको अन्तर खासै हुँदैनथ्यो। चौबिसै घण्टा चल्ने मार्टहरू, सबैतिर ठुला बिजुली बत्तीहरूको चमक र मान्छेहरूको भिडभाड कोबे सहरमा जति बेला पनि देखिन्थ्यो।
सिकरकटेरीबाट निलो सदाबहार बगेको देखिने सुनकोसी नदी जस्तै कोबे सहरका प्रत्येक गल्ली/गल्लीमा चौबिसै घण्टा खचाखच मानिसहरू भेटिन्थे। मैले आफ्नो देशको पुरानो बसपार्कमा पुस/माघमा रात सात बजे नै गाडी नपाउँदाको दुःख सम्झिएँ।
युकी मिसले 'कोसोबु कोबे'बाट कारलाई अझै अगाडि दौडाइरहिन्। कता जाने हो भनेर सोध्ने मसँग भाषा भए पो! कारमा सानो स्वरमा जापनिज गीत भने बजिरह्यो 'दाइसुकिना हितो।'
युकी मिसले उनको अपार्टमेन्टमा 'पार्किङ स्पट'मा लगेर कार पार्क गरिन्। म लुरुलुरु उनको पछिपछि लागेँ।
जापनिज भाषाको 'खाञ्जी'मा पसलको नाम लेखिएको थियो। राम्री केटी वेटरले मेन्यु अगाडि राखिदिई। टेबुलमा तुरुन्तै घ्याम्पा जत्रा दुई वटा गिलासमा फिँजले भरिएका बियर आयो। मलाई बियर 'चियर्स' गरेर मात्र खानुपर्छ भन्ने थाहा थियो तर युकीले ठुलो स्वरमा 'खाम्पाई' भनी। निकै पछि थाहा भयो कि 'खाम्पाई' भनेको अंग्रेजीको 'चियर्स'नै रहेछ। मैले निकै पटक 'खाम्पाई' र 'चियर्स'को नेपाली शब्द खोजेँ तर भेट्टाइनँ।
युकी मिस र मैले खुब मज्जैले बियर पियौँ। मैले जानेको पचास वटाभन्दा कम जापनिज शब्दहरूले सकेको गफ गरेँ। युकी मिसले बियर मस्तै लागेपछि अंग्रेजीको 'आई लाइक यु' वाक्य निकै पटक मुखबाट निकाली। युकी मिसको अनुहार पूर्णिमाको जूनजस्तै धपक्कै बलेको थियो। अब युकी मिस पनि बियर बढी लागेर अंग्रेजी मात्रै बोल्न थाली। यस्तो लाग्यो अंग्रेजी मातृभाषा नहुनेहरूले रक्सी लागेपछि बोल्ने अंग्रेजी नै हुने रहेछ।
म ट्याक्सीबाट होस्टेल फर्किन सक्थेँ। खल्तीमा तीस/चालिस हजार जापनिज येन बोकेकै थिएँ। तर युकी मिसले मलाई होस्टेल जाने अनुमति दिइनन्। युकी मिसको अपार्टमेन्ट सानोतिनो थ्री-स्टार होटेलभन्दा कम थिएन। बेडसिट अर्थात् तन्ना त्यति चम्किलो र सेतो देखेकै रहेनछु। युकी मिसले 'कम अन बेबी' भन्दै गद्दावाला बेडमा लडाई।
त्यसपछि युकी मिससँग सप्ताहान्तमा त्यस्तो उठबसले निरन्तरता पायो। युकी मिसको केयरिङ बढ्न थाल्यो। लामो फुर्सद मिल्ने बित्तिकै हामी ओसाका, नारा र क्योतोसम्मै पुग्थ्यौँ।
नारा मन्दिरको ऐतिहासिक पृष्ठभूमि युकी मिसले नै बताएकी थिई। करिब तेह्र सय वर्ष पुरानो मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत थियो।
क्योतो जापानको पुरानो राजधानी भएको नयाँ जानकारी पनि युकीले नै गराई। दोस्रो विश्वयुद्धपछि ध्वस्त भएको र लाखौँ मान्छेहरूले ज्यान गुमाएको 'हिरोसिमा' सहरमा पुग्दा हामी दुवै जना भावुक भएका थियौँ। हिरोसिमाबाटै युकी र मैले बिहे गर्ने निर्णय लिएका थियौँ। लाखौँ मृत आत्माहरूलाई सम्झँदै बिहे घोषणा पछिको सुहागरात मनाएका थियौँ।
मैले प्रेम र जवानीको आवेगमा सिकरकटेरी भुलिसकेछु।
सिकरकटेरी डाँडोमा मेरी आमोई एक्लै बस्थिन्। मेरो संसार मैले थाहा भएदेखि नै मेरी आमोई थिइन्। त्यसो त आमोईको पनि मभन्दा अर्को संसार थिएन। म आमाको गर्भमै हुँदा बालाई सुनकोशीको घाटमा जलाइसकिएको थियो। बाको 'ब्ल्याक एन्ड ह्वाइट' फोटो हेर्दा उनी 'हेन्डसम' नै देखिन्थे।
आमोई भन्थिन्- 'तेरा बालाई राम्रो चिटिक्क परेर 'वाकमेन' र मुरली बजाएर हिँड्ने सोख थियो। जब खसी/बोका बेच्दथे, सिन्धुली सदरमुकाममा पुगेर नुन र मट्टितेल कम ल्याउँथे तर वाकमेनमा हाल्ने ब्याट्री र गीतका चक्काहरू झोलाभरि हुन्थे। अचानक बा बिती गए। म बिधुई भएँ। त गर्भे टुहुरो भइस्।'
यत्ति भनेपछि आमोई रुन्थिन्। म पनि गहभरि अश्रुजल जम्मा गर्थेँ तर आमोईको अगाडि आँसु खसाल्दिन थिएँ। बाका प्रिय बस्तुहरू वाकमेन र मुरलीलाई आमोई सुमसुम्याउँथिन् र रुन्थिन्। मैले शैशवकालमा यही दृश्य हेरेर हुर्किएँ। आफ्ना पतिको वियोग खेप्दै आमोईले मलाई सकिनसकी हुर्काएकी थिइन्।
सुत्केरी बिधुई आमोईलाई मावलमा पनि बस्न मन मरेपछि फेरि सिकरकटेरी फर्किइन्।
सिकरकटेरीको धेरै बारी तर नौबिसेको चानचुन डेढ रोपनी खेतले दुई आमा छोरालाई वर्षभरि खान पुग्दैनथ्यो। सिकरकटेरीको बारी आकाशे पानीको भर थियो। मकै खेती प्रायः पानी नपरेर डढेरै सकिन्थ्यो।
आमोई बेलाबखत रुँदै मलाई घुर्क्याउँथिन्- 'बिहान बेलुकै चामलको भात खान तेरो बाउको खेतले पुग्दैन। अब तँ पनि ठुलो भइस्। गरिबले गरिबी बुझ्नुपर्छ है। जन्म सिकरकटेरीको डाँडोमा लिए'सी कर्म चाहिँ राजाको छोराको खोजेर हुन्न क्यारे!'
आमोईलाई कोबे आएर दुई वटा चिठी रजिस्टरी गरी पठाएको थिएँ। पहिलो चिठी लेख्दा आमोईको अनुहार सम्झिएर खुब रोएको थिएँ। चिठी साह्रै छोटो लेखेको थिएँ। आमोईले ती चिठी पाइन्/पाइनन्, प्रतिउत्तरमा उनले कुनै चिठी पठाइनन्।
आमोईलाई न चिठी लेख्न आउँथ्यो न पढ्न नै।
चिठी लेख्न र पढ्न छिमेकी श्यामु दाइकी छोरी सानिकाली सक्ने भएकी थिई। आमोईलाई भनेको पनि थिएँ। अहँ! डेढ वर्ष बित्यो। आमोईको कुनै चिठी खबर पाइनँ।
आमोईलाई युकी मिससँग बिहे गर्न लागेको खबर चिठीमा पनि लेख्न सकिनँ। देशमा भयानक गृहयुद्ध चुलियो। यता युकी मिस र मैले लगनगाँठो कस्यौँ। त्यहाँको वडा कार्यालयमा पुगेर बिहे गरेको प्रमाणपत्र अर्थात् बिहे दर्ता लियौँ।
आँखा वरिपरि आफ्नी आमोई घुमिरहिन्। मेरो तलब युकी मिसकै खातामा जान्थ्यो। युकीको आफ्नो तलब उसकै शृङ्गारमा सक्काउँथी। उसले बिस्तारै म नोकरभन्दा कम स्तरको मान्छे जस्तो गर्न थाली।
'ओफुरो'मा नुहाउँदा मात्रै होइन, खाना पनि बढी खान्छस् भनेर झगडा गर्न थाली।
'रामेन' पसलमा सँगै काम गर्ने गीतासँग नजिकिएँ। गीताले युकीसँग बिहे गर्नुभन्दा अगाडि भनेकी पनि थिई- 'दाइ भयो, जापनिजसँग इन्जोय गर्नुभयो, बिहे नगर्नुस्। तपाईं इमानदार हुनुहुन्छ। मनको सफा हुनुहुन्छ। अब हामी नेपाल गएर बिहे गरम् दाइ। '
तर मैले मानिनँ। युकीसँग 'रिकोन' माग्छु भन्दाभन्दै माकी र साकी गर्भमा आइपुगे। जुम्ल्याहा बच्चा पेटमा बोकेकी स्वास्नीसँग पारपाचुके मागिनँ। सकेको सेवा पुर्याएँ। आक्कलझुक्कल गीतासँग लाउने लुकीछिपी वाला पिरती पनि बन्द गरेँ।
छोरीहरू सकुशल जन्मिए। युकी पनि खुसी भई। तर कालान्तरमा युकी झन् आक्रामक भई। छोरीहरूको मुख हेरेर चित्त बुझाएँ। अब आमोई र सिकरकटेरी साह्रै धमिलो हुँदै गए। आमोईलाई दश वटाभन्दा बढी चिठीहरू लेखेँ तर कहिल्यै प्रतिउत्तर आएन।
म नेपाल जाने कुरा झिक्दा युकी तर्सन्थी। रिसले आगो हुन्थी। मैले छोरो हुनुको अस्तित्व गुमाएँ। म आमोईलाई सम्झेर रुन मात्रै सक्थेँ। जापानको कोबे सहरमा एक दशक बितिगयो। युकीसँग प्राविधिक सम्बन्ध मात्रै बाँकी भयो। छोरीहरूको खुब माया लाग्थ्यो।
मैले गीतालाई सिकरकटेरीमा भित्र्याउने बचन दिए। गीता मक्ख परी। युकीसँग म आजित र पराजित भइसकेको थिएँ। जवानी साट्न गीता हरपल आतुर हुन्थी।
‘कमल दाइ तपाईंलाई देख्ने बित्तिकै म फिदा हुन्छु।’ गीता राम्री पनि नराम्री पनि थिई। गीतालाई 'ब्ल्याक ब्युटी' भन्दा 'मिस कोबे'को उपाधि बराबर ठान्थी।
सन् २०११ मा मैले पनि फेसबुक खोलेँ। सानिकालीलाई फेसबुकमा साथी बनाएँ। आमोईको खबर सुन्न आतुर थिएँ।
‘काका, छिट्टै घर फर्कनुस् न है। आमा साह्रै बिमारी परेर धुलिखेल हस्पिटलमा छौँ। तपाईंलाई बोलाइरहनु हुन्छ, मेरो कमलकुमार भन्दै। तपाईंले यी संघर्षशील आमालाई र सिकरकटेरीलाई कसरी चटक्कै बिर्सन सक्नुभा'को? काका, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। यो उक्तिको अर्थ तपाईंले नै अर्थ्याउनु भएको होइन र?’
मैले युकीसँग पासपोर्ट र पचास मान पैसा मागेँ। मैले यस पटक दराज फोडेँ र पासपोर्ट निकालेँ। मेरो मौनता अब वीरतामा परिवर्तन भइसकेको थियो।
अन्तिममा उसलाई 'रिकोन' दिने सर्तमा मैले पासपोर्ट, नेपालको टिकट र तिस मान जापनिज येन पाएँ। वडा कार्यालयबाट पारपाचुके थमाएर सिधै गीताको 'अपार्ट' पुगेँ।
रातभरि गफियौँ। रोयौँ। गीताले हातमा बिस मान येन राखिदिई। मैले अस्वीकार गर्न सकिनँ। गीता र म ओसाकाको 'ईतामी' विमानस्थलमा अँगालोमा बेरिरह्यौँ। गीता छिट्टै नेपाल फर्किने र बिहे गर्ने भन्दै छुट्टियौँ।
तर म सिकरकटेरीमा अल्झिएँ।
गीताको खबर बुझ्न सिन्धुली सदरमुकाम पुगेँ।
साइबर क्याफेमा पुगेर फेसबुक 'लगअन' गरेँ।
गीताको लामो म्यासेज थियो। लेखेकी थिई- 'कमल दाइ, माफ गर्नुहोला। म तपाईंकी हुन सकिनँ। म हिजोआज आफ्नो पोइको साथमा ‘युएस’ को न्यु योर्क छु। मेरो पोइ तपाईं जतिको हेन्सम छैन अनि चालिस हाराहारीको छ।
नरिसाउनु दाइ कहाँको न्यु योर्क कताको सिकरकटेरी?
कहाँकी इन्दिरा गान्धी कताकी कान्छी कर्किनी?’
फेरि बाह्र वर्षपछि कोबे जाँदै छु। के छोरीहरूले मलाई माफ गर्लान्? युकीको अन्तिम सास बाँकी होला त? एयरपोर्टबाट फेरि अनुकम्पालाई फोन गरेँ।
उसले मृदुभाषी लवजमा भनी- ‘छोरीहरू मिल्छ भने लिएर आउनुहोला।’
प्लेन उड्नु अगाडि एउटा स्ट्याटस लेखिदिएँ- ‘जापान जाँदै छु।’
गीताले तुरुन्तै मेसेज गरी- 'कमल दाइ सी यु सुन।'
मैले प्रतिउत्तरमा लेखिदिएँ- 'म न्यु योर्क आ'को हैन,गीता। '
गीताको जवाफले म झस्किएँ।
‘कमल दाइ, म कोबेमै छु। न्यु योर्कको पागलसँग डिभोर्स गरेँ। दाइ यस पटक भेट्नुपर्छ है। हामी एक हुन नसके नि अझै पनि असल साथी त हौँ नि।’
प्लेन उड्यो।
प्लेनभन्दा स्पिडमा मेरो मन उडिरहेको थियो।