मेरो गाउँको घर
मेरो एक्लो घर
प्रायः बन्द भइरहने घर
बसिरहन्छ आफ्नो ठाउँमा
कतै हलचल नभई
पानीको कुटाइ सहेर
चर्को घामको राप सहेर
निर्दयी बनेर चिथोर्ने अनि मनपरी गर्दै
फोहोर पार्ने मुसाको अत्याचार सहेर
बसिरहन्छ एक्लै एक्लै मेरो घर
आफ्नो मालिकको प्रतीक्षा गरेर
गाउँ फर्की आउँछ कि भन्ने आस गरेर
अझै याद छ मलाई, मैले घर छोड्दाको दिन
कति मलिन थियो घर
आफ्नो झ्याल ढोका ड्याम डुम लगाउँदा
फेरि छिट्टै नखुल्ने गरेर
एक नमिठो समय गुजार्न पर्ने थाहा पाएर
थाहा छ घरलाई
त्यो घरमा अब फेरि कैयौँ घरहरू थपिनेछन्
धमिराको घर
कमिलाको घर
मुसाको घर
चमेराको घर
जसले घरलाई घर होइन खण्डहर बनाउनेछन्
ती थपिएका घरको मालिक बन्न पाउने छैन ऊ
तिनीहरूले उसलाई दास बनाउने छन्
चिच्याउँदै उफ्रिँदै चौरास बनाउनेछन्
घरकै अस्तित्व मेटिने हो कि त्रास बनाउनेछन्
तर पनि सहन जानेको छ मेरो घरले
मालिक फर्किन्छ भन्ने ठानेको छ मेरो घरले
त्यसैले त
फेरि खुसी आउने प्रतीक्षामा
म फर्केर जाने प्रतीक्षामा
मलाई बिदा गर्दै थियो मेरो घर
मेरो गाउँको घर
मेरो एक्लो घर
थाहा छ मलाई म घर जाने दिन
कति खुसी हुनेछ मेरो घर
मच्चिने छैन
उफ्रिने छैन
कुनै आवाज निकाल्ने छैन
तर पनि मैले थाहा पाउनेछु उसको खुसी
धमिरा र कमिलाका खाटाहरू हटाउँदै
चमेराको फोहोरले बसाएका टाटाहरू हटाउँदै
जब म उसलाई सफा गर्नेछु, रमाउने छ ऊ
मुसाले पारेको घाउमा माटोको मलहम लगाउँदा
आनन्द मान्नेछ उसले
उसलाई माटो र पानीले नुहाएपछि
लामो सुस्केरा पनि हाल्न सक्छ उसले
अनि वरिपरि
सधैँ आफूलाई जिस्काउने घरसँग डटेर भन्नेछ
हेर आज मलाई, म कति खुसी छु, म कति सफा छु
मेरो मान्छे फर्किएर आएको छ
फेरि मलाई एक्लै छोडेर नजाने गरी
अब ऊ गाउँ फर्किएर आएको छ
सायद यस्तै यस्तै भन्ने छ मेरो घरले!
बिचरा घरलाई के थाहा
उसको मालिकले सहरको सानो डेरालाई
घर सम्झेको छ
गाउँको तीन तले महल र खेतबारीलाई
बगर सम्झेको छ
र पनि सम्झनामा त आई नै रहन्छ
मेरो गाउँको घर
मेरो एक्लो घर
मेरो प्यारो घर।