'मेरो भाइलाई कहिल्यै दुख नपरोस्' त भन्नु भयो दिदी
मलाई त- तिमीलाई दु:ख पर्दा
निसंकोच मलाई सम्झिनु है भन्ने ढाडस चाहिएको छ।
'भाइ तिमी ठुलो मान्छे बन्नू है' त भन्नु भयो दिदी
मलाई त – ठुलो बन्दै गर्दा आईपर्ने चुनौतीहरूमा
म सधैँ तिम्रो साथमै छु है भन्ने सान्त्वना चाहिएको छ।
'मेरो भाइको भाग्य सदा दाहिने होस्' त भन्नु भयो दिदी
मलाई त– मेरो भाग्यले ठगेको बेला पनि
मेरो नजिकै आएर केही भए म छु नि बाबू भनेर
सुमसुमाइदिने दिदीको माया चाहिएको छ।
'कार्य सिद्धी होस, तिमी सफल हुनू' त भन्नु भयो दिदी
मलाई त– कुनै काममा म बिफल हुँदा पनि
म सहयोग गर्छु ल सँगै गरौँ भन्ने दिदीको साथ चाहिएको छ।
'मेरो भाइको जितमा म सँगै रमाउन पाऊँ' त भन्नु भयो दिदी
मलाई त- मेरो प्रयास अनि हारमा पनि
मेरो हात समाउने दिदीको हात चाहिएको छ।
तिहारमा मात्र होइन दिदी
मलाई त- मेरा ‘ती हार’हरूमा पनि
साथ र आशीर्वाद दिने दिदी चाहिएको छ।