एउटा लेख लेखौं जस्तो लाग्यो। कापी कलम लिएर लेख्न बसेँ। केही आएन। दिमाग शून्य जस्तो भयो। अनेक सोचेँ। अहँ ! केही फुर्दै फुरेन। जीवन जगतका सबै कुराहरू अरूले नै लेखेर सिध्याए जस्तो लाग्यो। लेख्ने केही भेटिनँ। कापी कलम बन्द गरेँ।
फेसबुक स्क्रोल गर्दै न्युजफिड हेर्न थालेँ। अकस्मात् एउटा अपरिचित मान्छेको फ्रेन्ड रिक्वेस्ट आयो। एसेप्ट गरिनँ। बारम्बार उही मान्छेको रिक्वेस्ट आइरह्यो। धेरैचोटि आएपछि प्रोफाइल खोलेर हेरेँ।चिनेको जस्तो लागेन। केही म्युचअल फ्रेन्ड रहेछन्। फेसबुकै त हो के फरक पर्ला र जस्तो लाग्यो। एसेप्ट गरेँ।
रिक्वेस्ट एसेप्ट गरेको निमेषभरमै उताबाट हात हल्लाएको इमोजीसँगै 'थ्याङ्क यू 'भन्ने म्यासेज आयो। केहीबेरपछि मैले पनि 'वेलकम' स्टिकर पठाइदिएँ।
त्यो दिनदेखि कुराकानीको क्रम सुरू भयो।
'हाई 'हेल्लो' 'सञ्चै हुनुहुन्छ?'खाना खानुभयो? 'कता हुनुहन्छ?' भनेर सोध्न थाल्यो।
मैले पनि किन भाउ खोज्नु भनेर केही प्रश्नहरूको छोटो जबाफ फर्काउँदै गएँ।
उसले मेरो नाम, घर, ठेगाना, पढाइ सबै सोध्यो। आफ्नो हिसाबले उसका जिज्ञासाहरू मेटाउँदै गएँ। मैले पनि उसको नाम सोधेँ।
'प्रकाश शर्मा' भन्यो। बसाइ सातदोबाटो।
एकदिन कलेज जाँदा मोबाइल साइलेन्टमा राख्नै बिर्सेछु। सरले पढाइरहेको बेला ट्वाङ ट्वाङ म्यासेज आएको आवाज आयो। साथीभाइहरूले मतिर हेरे। लज्जित भएँ म। हतार हतार फोन साइलेन्टमा राखेँ। क्लास सकिएपछि बाहिर निस्केर म्यासेज हेरेँ। अरू कस्को हुन्थ्यो र? उसैको रहेछ।
मसँग कफी पिउने इच्छाभावसहितको लामै म्यासेज रहेछ।
२/४ दिनपछि उसले मेरो कलेज एरियाको लोकेसन टियु कीर्तिपुरतिर आउने काम परेको बतायो।
मैले पनि उसको मसँग कफी खाने इच्छा बुझेर टियु घुम्न आउन भनेँ। ऊ टियु गेटमा निर्धारित समयभन्दा अगाडि नै आइपुग्यो। मैले सोचेको र फेसबुकमा देखेको भन्दा निकै ह्यान्डसम र स्मार्ट रहेछ।
उसको पर्सनालिटीबाट प्रभावित भएँ।
टियु क्यान्टिनमा आमनेसामने भएर चिया पिउन सुरू गर्यौं।
चियाको चुस्कीसँगै उसले गफ सुरू गर्यो। उसले पनि ५ वर्ष पहिले सोही क्याम्पसबाट साइन्समा एमएस्सी गरेको रहेछ। हाल नेपाल सरकारको सेक्सन अफिसर।
कफी खान गएका हामी चिया खाएर फर्कियौं। कफी फेरि अर्को दिन खाने बाचा गर्दै हामी छुट्टियौं।
हाम्रो आत्मीयता झन् गाढा हुँदै गयो। उसले कहिलेकाहीँ भन्ने गर्थ्यो, उसको मसँग कुरा गर्ने लत बस्यो रे! मसँग कुरा नगरेको दिन उसलाई निरस र एक्लो लाग्थ्यो रे! म अनलाइन हुँदाको त्यो हरियो बत्ती उसलाई चन्द्रमा भन्दा पनि सुन्दर लाग्छ रे। ऊ ममा निर्भर भयो रे!
मलाई पनि ऊ खास लाग्न थालेको थियो। उसको व्यक्तित्वबाट प्रभावित म विस्तारै उसको मन छुने कुराहरूबाट पनि प्रभावित भएँ। उसलाई देखेपछि, भेटेपछि मेरो दैनिकी निकै रमाइलो भएको आभास हुन थाल्यो। उसका रूमानी सपनाहरूमा म पनि हराउँदै गएँ।
समय बित्दै गयो। दिन बितेको पत्तै भएन। डिजिटल माध्यमबाट सुरू भएको हाम्रो भेटलाई उसले विवाहमा ढाल्न चाहन्थ्यो। म उसलाई' यति हतार किन? समय हाम्रै त हो नि! बिस्तारै विचार गरौंला!' भन्ने गर्थें।
उसलाई यस्तो दोधारे कुरा गरेको मन पर्दैन थियो।
एकदिन म कलेज जाँदै थिएँ। कलेजको सिनियर दिदीसँग बाटामा भेट भयो। उहाँले विवाह गर्ने होइन? भोज कहिले खुवाउने भन्नुभयो। म हाँसेँ।
मोबाइलमा उसको फोटो देखाएँ। कस्तो छ भनेर सोधेँ?
त्यो दिदीले प्रकाशलाई राम्रोसँग चिन्नुहुँदो रहेछ।
'दिदीको नाताले एउटा कुरा भन्छु मान्छौं?,' भन्नुभयो।
मैले 'मान्छु' भन्नु न भनेँ।
'मैले भनेको मान्छौ भने प्रकाशलाई छाडिदेऊ!'
मैले 'किन?' भनेर सोधेँ।
'प्रकाश सिंगल केटा होइन। ऊ डिभोर्सको झमेलामा छ। श्रीमतीले डिभोर्स दिन चाहेको रे। पछि उसको श्रीमतीसँग मेलमिलाप पनि हुन सक्छ। अदालतमा डिभोर्सको प्रक्रिया चलिरहेको छ।अदालतले दुई जनाबीच मेलमिलापको अवसर दिन्छ। त्यो बेला तिमी के गर्छौ? नेपालको कानुनी प्रक्रिया हो टुंगिन १० औं वर्ष पनि लाग्न सक्छ।'
यो कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ।
विवाहको सुरसार रहेको मेरो मन एकाएक अन्तरद्वन्द्वमा फस्यो।
मनको आदेश मानौं कि मस्तिष्कको निर्णय। म दोधारमा परेँ। मनमा प्रश्नमाथि प्रश्न थोपरिए। आफैसँग अन्तरसंवाद गरेँ।
दलदलमा फस्नु उचित ठानिनँ। अन्ततः प्रकाशसँगको सम्बन्ध टुंग्याउने निर्णय गरेँ मैले।
तै पनि एकपटक उसैको मुखबाट सुनौं न, खास कुरा के रहेछ भन्ने लाग्यो।
उसलाई जरूरी काम छ भेटौं भनेँ। ऊ राजी भयो।
भेटमा सिधैं उसलाई 'डिभोर्सको प्रक्रिया कहाँ पुग्यो?,' भनेर सोधेँ।
ऊ नर्भस भयो। बोल्न सकेन। आँखा रसिलो बनाउँदै, 'सुन्न चाहन्छौ भने सबै कुरा भन्छु' भन्यो।
म 'पछि कुरा गरौंला भन्दै त्यहाँबाट निस्किएँ'। त्यसपछि न उसले कन्ट्याक्ट गर्यो, न मैले!