लाग्छ धर्तीमा बिहानको लालीको
रंग पोतिन आँटिसक्यो
ऊ आज बिहानदेखि उत्साहित छे
किनकि वर्षौँदेखि पसिना
बगाएको धान खेतमा आज
धानको अन्तिम बोरा भरिँदै छ
मानो रोपेर मुरी फल्ने सपना देख्ने
जमातमा ऊ सबैभन्दा कडा मेहनत
दर्साउने रोपाहार
अनि कहिलेकाहीँ बाउसे नआउँदाको
बाउसे, हली अन्य सबै सबै!
थाहा छैन काम गर्दा पसिना कति बगेर सकिए
कहिलेकाहीँ पसिना बेजोडको
हावाले उडाइदिँदा
उसको सुस्केरा आनन्द मान्थ्यो किनकि
कलेटी ओठमा समेत कति राम्री देखिएकी!
कहिलेकाहीँ पसिनासँग पनि धन्य लाग्छ
कहिले बर्सातको बेजोड पानी
त कहिले एक्कासि आउने ठुलो हुरी
यो सबैले उनीलाई सहयोग गरेका छन्
मौसमी आँसु अनि बेमौसमी आँसु लुकाउन
त्यो पनि सँगै काम गरेका अनगिन्ती
साथी सहेली माझ
सबै भाव बुझिदिने पनि त हुन्नन्!
तर आजको मुरी भित्र्याउने उत्सवबाट
घर पुग्दा सानीको घरमा दियो धेरै चम्केन
उनको मुखको उज्यालो जुन उसको
छोराले सुत्ने बेला भए पनि दर्शन गर्न पाउँथ्यो
त्यो बिना औँसी धमिलियो
श्रम शोषण, ईर्ष्या अनि कठोर नाइकेहरूको
पन्जामा त्यो बालीको ढुकुटी थियो त
त्यो निरीह, अबला अनि एकल नारीको
मनको आवाज कहाँ सुनिन्थ्यो र?
धिपधिपको बत्ती अगाडि एक्कासि सानीको
छोरो देखिन्छ र भन्छ-
आमा आज किन केही ल्याउनु भएन?
अस्तिन कामबाट आउँदा मंसिरमा
भित्र्याउने बेला ल्याउने अन्न भनेको खोइ त?
पुनः एकपल्ट सन्नाटाको
ज्वाला दन्किन्छ र निभ्छ आँखाको ज्योति
धन्न लोडसेडिङले पनि आज आँखाको
तलाउ रोक्न हिम्मत दियो
त्यो नाबालकलाई दिने उत्तर एकैछिन भए पनि
अन्त मोडियो
र मुस्किलले निदाउनु अघि सानीले भन्छिन्-
बाबु!
एकदिन कुनै ठाउँको साहु वा मुखिया बन्न
पुग्यौ भने सबैभन्दा मेहनती र श्रमजीवीको
पसिनाको मूल्यलाई दर्साउने उपहार र प्रेरणालाई
पहिलो क्रममा राख्नू है
अनि मात्र पुण्यको ढोका पहिले
र यमराजको ढोकामा समेत ढिला प्रवेश हुन सक्छ
किनकि
यो संसारको अन्नदाता कोही अन्य छन्
न कि यो वधशालाको लडाइँबाट बाँडिएको
लुटिएको अनि चुँडिएको भागबन्डा र लुछाचुँडी।