म उसै बिहे गर्न हतारिने मान्छे त हैन तर गर्नैपर्ने भएपछि मौन सहानुभूति थियो आफैप्रति। हिराेहरू पनि बिहेपछि मामुली देखिन्छन् रे। सानै भए पनि खुसीहरू बाँड्न सिक्छन् रे। मिठास त यो छ कि, बिहे आफैमा एकअर्काका भावनाहरूको मिरमिरे पनि हो, जसले जीवनका अन्धकार र उज्यालोलाई सँगै समेट्ने प्रयास गर्छ। दु:ख र सुखलाई अंगाल्ने प्रयत्न गर्छ।
पोहोर साल यही मंसिरमा जब मेरो बिहे पक्का भयो एक प्रकारले ममा भन्दा बढी उत्साह घरमा छायो। लाग्यो बिहे त एउटा बाहाना थियो सबैलाई रमाउने चाहना थियो। बिहे हुने केटीसँग खासै चिनजान थिएन। लामो समय भेटघाट थिएन। देखादेखको भरमा अरूले कुरा ल्याइपुर्याए मैले ओके गरेँ। म त्यति खुलेर बोल्न नसक्ने मान्छे, अझ केटीहरू भनेपछि त चार बित्ता पर भाग्थें।
बिहेको दिन घरबाट सजावटका साथ जन्तीसहित पार्टी प्यालेस पुगियो। आफूलाई भने आफ्नै पहिरन निकै गह्रुंगो लाग्दै थियो। फुकालेर कतै फालिदिऊँ जस्तो। जग्गेमा बस्दा त झन् ओहो ह्रापै ह्रापले बेहोस नै भइएला जस्तो। अरू सबै मस्त गफमा थिए। आफू गफ गरौं भने आडैकी हुनेवाली श्रीमती ज्यू सँग बोल्ने आँट नआउने। पण्डित बाको मुख हेरेरै गयो मेरो त्यो समय। टीका लाउने बेला भएपछि भयो हत्ते! टीकालाई पृथ्वीको ग्र्याभिटीले आफूतिरै तानिरहे जस्तो लाग्थ्यो। शिर निहुँराउनै पर्दैन्थ्यो आफै निहुँरिरहेको थियो। अन्माउने काम सिद्दिसकेपछि घर पुगियो जन्तीसहित। घर पुग्दा पञ्चेबाजामा दुलाहा दुलही नाच्ने भन्न थाले। तर आफूलाई नाच्न नआउने। श्रीमतीज्यू अगाडि बढेर नाच्न थाल्नु भो। बाफ रे कडा थियो स्टेप। मैले यसो उसो पार लगाइदिएँ। फेरि घरमा भित्र्याउँदा काम सकेर घरकाले सबै भोजन कार्य गरेपछि बल्ल फुर्सद पाइयो। फुर्सद पनि कहाँ भन्नु र? झन् फसादको बेला आउँदै थियो।
दाइ, भाइ, भाञ्जाहरू मलाई इसारा गर्दै जिस्काइरहेका थिए। त्यो ठट्टा सबै सुहागराततर्फ केन्द्रित थियो भन्ने बुझ्न मलाई समय लागेन। म यसो बुवा आमासँग गफगाफ गरेर रूममा पुगेँ। श्रीमतीज्यू अघि नै पुगिसक्नु भाथ्यो। उहाँ खाटमा थपक्क बस्नुभाथ्यो गोडा झारेर।
सबैभन्दा ठूलो उकुसमुकुस अब सुरू हुँदै थियो। किनकि अब के गर्ने नगर्ने भनेर सिकाउन न त बाआमा साथमा थिए न पण्डित बाजे। पढेर, फिल्म हेरेर वा गफगाफमा वर्णन गरिएजस्तो सुहागरात पनि त धेरै फेक थिए। वा भनौं धेरै कथाहरू वा दृश्यहरू कोठाभित्र नयाँ श्रीमानश्रीमती छिरेपछि सिद्दै बिहान भएको देखाइन्थ्यो। त्यही भएर सबै सम्भावनाका खेलहरूमा आफूले जस्तो गर्यो उसैगरी भाष्य निर्माण हुने रैछ जस्तो लाग्यो मलाई।
श्रीमतीज्यू र म धेरैबेर एकोहोरो भित्तालाई हेरिरह्यौं। केहीबेर पश्चात मेरा हातमा उहाँले हात सल्बलाउनु भयो। मभन्दा बढी नै प्रगतिशील हुनुहुँदो रैछझैं आभास भयो। घडीको टकटक आवाजलाई चिर्दै उहाँले पहिलो आवाज निकाल्नु भो, 'भर्खर त एघार बजेको रहेछ।'
अनि उहाँले आफ्नो टाउको मेरो काँधमा अड्याउनु भो, एकदम हलुंगो लाग्यो। उहाँको सुगन्ध मेरा नाकसम्म पुगे। मैले कुनै ढकनी उघार्नु परेन। घरका सबै निदाइसकेका थिए थकानले। तर कोही कोही केटाहरू भने हाम्रो कोठाको बत्ती ढोका मुन्तिरबाट हेरिरहेका थिए होलान्। कति खेर सुत्लान् भनेर वा केही गर्लान् भनेर। थकित ज्यानको भारलाई अन्दाज गर्ने हो भने त सुतेको भए म पनि एक निद्रा त पुर्याइसक्थें होला तर उही उकुसमुकुस थियो। अब एक जनाको निद्राले मात्र कहाँ सुत्ने अनुमति दिन्थ्यो र?
मलाई त यति गाह्रो भइराथ्यो, श्रीमती ज्यूलाई कस्तो भाको होला? अझ मेकअप, चुरा, हार, आँसु बगेका आँखा, चोलो सारी अनि सिउँदोमा सिन्दुरको भारी। तै पनि त मसँग नै बात मार्न खोजिराख्नभाथ्यो। त्यो रात त्यसरी नै बिताइदिउँ सोच्नुभाथ्यो। तर मेरो मुखबाट बोली फुट्न जादू हुन पर्थ्यो।
मलाई अलि असह्य भयो। दिनभरिका ड्रेस चेन्ज गर्न म अर्को कोठामा छिर्नलाई उठेँ र उहाँलाई पनि चेन्ज गर्न अनुरोध गरें। तर श्रीमती ज्यूले च्याप्पै हात समातेर बिन्ती गर्नु भो, 'आज यही लुगामा रात काटौं न हुन्न र?' हुन्न भनौं कसरी? पहिलो अनुरोध थियो उहाँको।
अत्तरका बाक्ला घेरा छिचोलेरै ठुस ठुस पसिनाका गन्धहरू मबाट बाहिर निस्किँदै थिए। तर सायद उहाँलाई यसको परवाह थिएन। हामी खाटमाथि पलेँटी मारेर बसेका थियौं। उहाँले मोबाइल झिकेर लुडो खेल्ने प्रस्ताव गर्नुभो। सायद केही नजिक हुन सकिन्छ भन्ठानेर होला। अनि सुरू भयो हाम्रो जुहारी। एक्का र छक्का पर्दा खुसीले चिच्याउने उहाँको आवाज सुनेर घरका मान्छे उठ्लान् भन्ने पिर थियो मलाई। उहाँको गेम हुनै लागेको गोटी मैले के खाइदेको थिएँ, लुडोको गेम नै भाँडियो।
रातको १ बजेको थियो। उहाँले चिसो बियर खाने मन गर्नुभो। हामी विस्तारै एकअर्का सँग खुल्दै थियौं। र मनका उकुसमुकुसहरू अझ छरपस्ट भन्न मन थियो होला उहाँलाई। म विस्तारै बिरालोको चालमा किचन गएर फ्रिजबाट दुइटा बियर झिकेर ल्याएँ। बोतलबाटै घुड्कायौं। त्यसपछि त मेरो निद्रा पनि कुलेलाम ठोक्यो।
त्यसपछि मेरो काखलाई सिरानी बनाएर मलाई एकछिन हेरिरहने इच्छा भयो उहाँको। विस्तारै हामी डेटिङ आएजस्तो भान हुँदै थियो दुवैलाई। नव उच्छ्वासहरूमा हाम्रो उमंगलाई रसिलो बनाइदिएको थियो त्यो रातले।
उहाँले मेरै काखमा पल्टिएरै प्रश्न सोध्नुभयो, 'के तपाईं बिहे पछिको प्रेममा विश्वास गर्नुहुन्छ?'
मैले भनें, 'बिहेपछि प्रेम मात्र हुँदैन महोदय आदार र सम्मान पनि त जोडिन्छ।'
'उसो भए सबका अघि मेरा गोडा ढोग्न सक्नुहुन्छ त?' उहाँले प्रतिप्रश्न गर्नुभो।
म अवाक भएँ। उहाँ मुसुमुसु हाँस्नुभयो।
'अरूलाई देखाउन गोडा ढोगेर मात्र होइन नि महोदय तपाईंको गोडा दुख्दा तेल लाएर मिचिदिँदा पनि त प्रेम र सम्मान दुवै झल्किन्छ।' मैले विस्तारै भनें।
अनि उहाँ बोल्न थाल्नुभो, 'तपाईंलाई थाहा छ, हाम्रो मिलन हुनुको पनि छुट्टै अर्थ छ। आजको ठट्टा हाँसोको पनि अर्थ छ। अपरिचित थियौं हामी हिजोसम्म तर आज एक अर्काको भावलाई छुन कति आतुर छ हामीलाई। हिजोसम्म बाआमाको घेरोमा थिएँ म। उहाँहरूकै तकियामा सुत्थें म। आज तपाईंको काखमा छु। लाग्न सक्छ मलाई हरे! म त म आफैको कहिल्यै भइनँ वा हुने छुइनँ। तर तपाईंको हुनुले पनि त एउटा समभाव ल्याउँछ। हामी दुवैलाई अब दुवैको आधा- आधा हक लाग्छ। बिहेअघि प्रेम गर्नेहरू थाकिसकेका हुन सक्छन्। वा बिहेपछि उनीहरू नव-संस्करणमा उत्रिन सक्छन्। हामी त प्रेमको पालुवामा नै छौं। मेरा लागि तपाईं कवि हुनुहुनेछ र म तपाईंको उन्मादले भरिएकी बहुलट्ठी कविता। तपाईं भमरो भएर वाटिकामा आउँदा म कोपिलाबाट पट्ट फक्रने छु फूलहरूमा। जसरी हाम्रो सुहागरात सानदार हुँदैछ हाम्रो हनिमुन झन् अद्भुत हुनेछ। सुवासको सौरभ र रोमाञ्चकताको माधुर्य फैलिनेछ।'
अनि मैले सोधिहालें, 'हनिमुन चाहिँ कहाँ जाने नि महोदय?'
उहाँले भन्नुभयो, 'हिमालको नजिक। जहाँ हामी हुनुले मात्र हाम्रा अस्पष्ट चतैन्य खुल्नेछन्। अनेक समाजका परिस्थितिसँग हिमाल जस्तै अडिग रहने साहस बटुलिनेछन्। जहाँ घामका पहिलो किरणहरूले हामीलाई स्पर्श गर्नेछन्। हिमालका देवताहरूले आशीर्वाद टक्र्याउनेछन्।'
'अनि जाडो हुँदैन त महोदय मंसिरको महिना।' म केही मजाक गर्दै बोलें।
उहाँले हाँस्दै भन्नुभयो, 'दुइटा ज्यान भएपछि केको जाडो हुन्थो?'
जब ढोकामा नक नक को आवाज आयो उहाँ बोलीमा टक्क अडिनुभो। घडी हेर्यौं दुवैले पाँच बजिसकेछ बिहानको। बत्ती मार्न र चुकुल खोल्न म उभिएँ, उहाँले पर्दा उघार्नु भो। हरेक काममा सहकार्यका साथ यसरी नै अघि बढ्ने निचोडका साथ अनि हामीले एउटा मिठो अंगालो मार्यौं। त्यसपछि श्रीमतीज्यूको गोडा आफ्नो शिरले छोएर आफूलाई धन्य बनाएँ। हामी उही दुलहा दुलहीको ड्रेसमा नै थियौं। ढोकामा हामीलाई हेर्नेको ताँती थियो। बाआमा आफन्तहरू सब तीनछक पर्दै थिए।
म त बहुत बेफिक्री थिएँ तर हेर्नेहरूको हाउभाउमा उकुसमुकुस छाइरहेको थियो।