‘कहिले आइस्?’
‘बिहान।’
मेरो जवाफ पूरै पर्खिनु भएन बाले। सोधिहाल्नु भयो- ‘अब कहिले फर्किनी होस् त घर?’
घर! घर शब्दले अलमलायो। म घरै आएको बेला घर कहिले फर्किन्छस् भनेर किन सोधेको होला बाले!
हाँसे, उत्तर दिन नसके यसै हाँसेको अभिनय गर्छ मान्छे।
विषयान्तर गरेँ र सोधेँ- ‘आँबै खै त?’
बाले आँबै घाँस गइछे भनेपछि ‘हुन्छ, आउँछु अहिले’ भनेर निस्किएँ।
म कहाँ हिँडेको हुँ, बाको प्रश्नले अलमलाइदियो। घर कहिले फर्कन्छस् भन्ने प्रश्नले जसरी म हिँडेको कहाँ हो भन्ने भुलायो उसै गरी म आएको कहाँबाट भन्ने कुरा आँबै घाँस गइछे भन्ने उत्तरले भुलायो।
७८ वर्षकी आँबै घाँस गइछे रे!
एकछिन शून्य भयो दिमाग। ठ्याक्कै कसो गर्ने मेसो आएन। यसै बाटोमा पैँतलाहरू कुदाएँ। अलिक तल पुगेँ र फरक्क फर्किएँ।
घर जान वर्ष कुरेपछि दसैँ आएको थियो। हिजो आएको मलाई बा'ले कहिले फर्कन्छस् घर किन सोधे होलान्!
यही गह्रुङ्गो प्रश्न बोकेर बाको घर पुगेँ। म त आएँ बा भन्दै भित्रै पसेँ। बाले बस् भन्नु पहिले म खाटमा बसिसकेको थिएँ।
मलाई बा'ले 'घर कहिले फर्कन्छस्' भनेर किन सोध्नुभयो भनेर सोध्न मन थियो। आँट आएन।
रोगका कुरा, दबाईका कुरा र बाका छोराहरूका कुरा गरेँ। ठिक यही बेला बाले उनीहरू आफ्नै घर छन् भन्नुभयो।
आफ्नो घर!
‘अङ्कलको घर पनि यही होला केर बा, उहाँहरू त कमाइधमाई गर्न सहरमा बसेको होला केर’ भनेर फिस्स हाँसेँ।
अहँ, मेरो हाँसोले हँसाएन बालाई।
‘उनीहरूको घर भए त आउँदा हुन्, बस्दा हुन्। हामीलाई दुख सुख हुँदो हो। अहँ! आउन्नन्। घर नभएरै त होला केर नआएको!’
यी कुरा गर्दै गर्दा बाको अनुहार मलिन भइसकेको थियो। उहाँको भावभङ्गीले निराशा बताउँथ्यो।
बाका यी नै कुराले, बाले अघि गरेको प्रश्न किन भनेर सोध्ने हिम्मत गरिनँ। मैले थोरै धेरै बुझेँ।
वर्षौँ नआउने, वर्ष दिनमा दुई दिनलाई आउनेलाई बाले किन घर भन्दिनु पर्ने आखिर?
कहिलेकाहीँ मनको घाउ शब्दमा देखिन्छ। बाले कहिले फर्किन्छस् भनेर सोधेको प्रश्नमा मैले त्यस्तै एउटा घाउ भेटाएँ। सहर पसेका छोरा-बुहारी वर्षौँ नफर्किँदा मनमा पाकेको घाउ। जुन घाउले बालाई मात्रै दुखाएन, म पनि दुखेँ।
‘अनि कहिले हो त फर्किनी? केटाकेटी नि आएका छन् कि एक्लै आइस्?’
म बस्छु दिन दुई भनेँ। सबै आएका छन् भनेँ।
‘लेराएस् यहाँ। केटी कत्री भई? हामीलाई त बिर्सी कि!’
‘छैन बा, सम्झिन्छे नानीले। अहिले आफै आउँछे बा, मैले जाऊँ भन्नै पर्दैन। उसलाई देख्न मन छ तपाईंहरूलाई,' भनेँ।
मैले मेसैसित यस्तै केही भन्दै थिएँ, बाको आँखामा आँसु देखा परे। बा बोल्नु भएन। भान्सामा जानुभयो। एकछिनमा सम्हालिएर आउनुभयो र सोध्नुभयो- ‘के खान्छस् त? चिया खान भैँसी छैन केर हाम्रोमा। ला केरा खा।’
बाले के खान्छस् भनेर सोधे पनि आफैले केरा लेराइसक्नु भएको थियो। गोडा चार मालोक लिएर हातमा हाल्दिँदै सोध्नुभयो, ‘अङ्कल भेट हुन्छ कि हुन्न?’
(अङ्कल मतलब उहाँको छोरा)
मैले हुन्न भनेँ।
‘अनि तपाईंको फोन सोन के हुन्छ?’ सोधेँ।
हामीलाई त गर्दैन भनेर बाले मेख मार्नुभयो।
बासित अलि बेर यस्तै कुरा गरेर फर्किँदा आँबै भेटिनु भयो बाटोमा। हातमा ढोग्दिएँ।
‘भाग्यमानी भए बा’ भन्नुभयो, ‘कहिले आइतिउ तो?’
आँबैलाई बिहान भनेँ।
‘हाम्रा केटासित त भेट भएन?’
‘भएन आँबै।’
मैले यत्ति भनी के भ्याएको थिएँ, आँबै हिँड्नु भयो।
मैले आँबै गएको परसम्म हेरिरहेँ।
म घर आएँ। घर वरिपरि डुलेँ। पारिको डाँडो हेरेँ। र बारीको फेरा पुगेर उँगो फर्केँ, देखिएको घर एकसोरले हेरिरहेँ।
मेरा आँखा घरमा थिए, मनमा अर्कै थियो। म कतैबाट आउन नपर्ने गरी घर बसिरहने कहिले होला? त्यो दिन आउला त?
उत्तर कतैबाट पाएन मनले।
कुन्नि किन हो, बाले घर कहिले जान्छस् भन्ने प्रश्नले थिचिरह्यो।
सहर फर्किएपछि अङ्कललाई भेट्न गएँ। आन्टीले चिया दिइन्। म गाउँ गएको, गाउँका बारेमा भिडिओ राखेको सबै कुरा गरिन्। र आफ्नो बाबुलाई पनि जान मन लागेको सुनाइन्। तर अङ्कलले अहँ घरको कुरै गरेनन्। न बा/आमैलाई सोधे। न छिमेकलाई। अङ्कल ढुङ्गा भएछन्।
गाउँमै हुर्किएको, त्यहीँ दुख सुख गरेको मान्छेले किन सोध्दैन घर। किन जाँदैन घर? आफू त्यहाँ पुगेकोमा पछुतो भयो मलाई। म फर्किएँ रित्तै। भोलि गाउँ गएको बेला बाले के भन्थ्यो अंकलले भन्दा के भन्ने? खै भेटै हुन्न भन्ने त होला। आखिर त्यो भेट भेट जस्तो पनि थिएन।
हिजोआज पनि त्यही प्रश्न छ मनमा- घर कहिले फर्कन्छस्?
मैले यही प्रश्न सोध्छु धेरैलाई- घर कहिले फर्किनी?
युरोप बस्ने साथी भन्छ, ‘केटाकेटी तह पार्न पाए म त फर्किन्छु। सहर बजारमा मन अडिएन हेर, त्यसैले घरै फर्किन्छु।’
यहाँ व्यवसाय गर्ने दाइहरू भन्छन्, ‘अलिकति तरक्की भएपछि उतै फर्किनी हो। यो जैरे ठाउँमा बस्नी हैन।’
अमेरिका बस्छन् साथीभाइहरू, फोनमा गाउँ बाहेक अरू कुरा गर्दैनन्।
सबैको मनमा गाउँ छ। हिजो सहर/विदेश जान पाए भनेर सपना देख्नेहरू पनि गाउँ फर्किन पाए भन्छन्।
आउला त त्यो समय? घर फर्किने समय। घरबाट अन्त जान नपर्ने समय! बा/आमा छँदै फर्किएलान् त अङ्कल?
के नाति देख्न पाउलान् त बाले?
‘बा, म घरै आएँ, मेरो घर यहीँ हो’ भन्ने आत्मविश्वास लिएर फर्कन सकुँला त म?
म फर्किँदा बा/आमै रहलान् त?
जसरी गाउँ छोड्ने हुटहुटी चल्यो, उस्तै गाउँ फर्कने लर्को लाग्ला त?
ए साथीहरू हो, हामी कुनै समय गाउँमा सँगै हौँला त?
भन न घर कहिले फर्किने?