मलाई थाह छ बा
तपाईं तस्बिरमा हुनुहुन्छ
मात्र तस्बिरमा
तर पनि
म तपाईंसँग निरन्तर संवादमा छु
जब मेरा नजर
तस्बिरमा पर्छन्
तब तपाईंसँग संवाद सुरु हुन्छ
सत्य हो तस्बिर बोल्दैन
तर अचम्म छ!
तपाईं मसँग घण्टौँ रमाउनु हुन्छ
विगत र आगतमा घोलिनु हुन्छ
मेरो विचार र आचरणमा
मुस्कान छर्नु हुन्छ
योजना र कार्यहरूमा तागत भर्नु हुन्छ
मेरा असफलता र अनिर्णयमा
धैर्यताको मानक थपिदिनु हुन्छ
कमजोरीहरूमा मौन रहनु हुन्छ
हर सफलतामा ढाडस दिनुहुन्छ
मेरा निराशा, विपज्जाल, आर्तस्वर र रोदनहरू
आशा र उत्कण्ठाले ढाकिदिनु हुन्छ
मेरा हर रहरहरूमा उत्सुकता भरिदिनु हुन्छ
मनका पैरवीहरूमा सृजना घुसालाई दिनुहुन्छ
जब म ती सृजनाहरूसँग लुटपुटाउँछु
तपाईं सम्मोहित बनिदिनुहुन्छ
म थप उत्साहित बन्छु
थाहा छ तपाईं तस्बिरमा मात्र हुनुहुन्छ
र पनि लाग्छ
मेरा हर कर्ममा तपाईंको उपस्थिति छ
प्रत्येक कदममा सहानुभूति र समर्थन छ
मुटुको धड्कन र श्वासको चालमा
हजुरको अघोषित इनर्जी छ
मेरा आँखाको चालमा
तपाईंका दृश्यहरू चलमलाउँछन्
मस्तिष्क र हृदयमा हरपल
मायाका छालहरू सलबलाउँछन्
म कसरी भनूँ बा
तपाईं तस्बिरमा हुनुहुन्छ
मात्र तस्बिरमा।