एउटा बाचा, यो बन्धनमा बाँधिनु अगाडि
मलाई दिन सक्छौ त तिमी
साँच्चै भन त देश सम्झिएर फेरि
देशमै फर्किन सक्छौ त तिमी
म राजी छु
फेरि यो देश तिमी फर्किएर आउँछौ भने
म नेपाली हुनुमा मात्रै होइन
म नेपाली बनिरहनुमा गर्व गर्छु
तिमी पनि यो कुरालाई अपनाउँछौ भने
तिम्रै प्रतीक्षामा म सजिएर बस्न राजी छु
तिम्रै नामको शृङ्गारले रंगिएर बस्न राजी छु
हुन त सपना सजाउन
भविष्य बनाउन बिदेसिएका हौ
तिम्रो सपना मारेर आऊ भन्दिनँ म
भविष्य यसै अलपत्र पारेर आऊ भन्दिनँ म
म राजी छु
सपना पूरा गर्ने सम्भावना देशमै देखेर आउँछौ भने
गर्वले आफ्नो छातीमा म नेपाली लेखेर आउँछौ भने
तिमीसँगै झुपडीमा नै रमाउन राजी छु
नछोड्ने गरी हात तिम्रै समाउन राजी छु
मलाई तिमी हराएको देशभन्दा प्यारो
मेरै देशको सुगन्ध लाग्छ
बरु एक्लै बस्न किन नपरोस्
देशमै बस्न आनन्द लाग्छ
मलाई थाहा छ
देशको माया मनबाट तिमीले पनि हटाएको छैनौ
अझै उस्तै देशलाई सम्मान कति पनि घटाएको छैनौ
मुटु भतभती त तिम्रो पनि पोल्छ होला
देशकै मायाले पनि कति पिरोल्छ होला
लाग्छ होला मेरै देशको माटो टेक्न पाए हुने
उठ्दा आँखै अगाडि हिमाल टल्केको देख्न पाए हुने
म राजी छु
फुकाउँदै मनमा बाँधिएका प्रदेशका चाहनाहरू
मुस्कुराउँदै बिर्सिएर देश छोड्ने बहानाहरू
तिमी आफ्नो मनलाई सम्झाउन सक्छौ भने
अब आफ्नै देश फर्की आउन सक्छौ भने
हाँसी हाँसी जीवन सँगै बिताउन राजी छु
तिमी रित्तै आऊ म तिमीलाई अपनाउन राजी छु
अझै कति बोक्छौ त्यो पिआरको भारी
यहाँ जस्तै बिसाउने चौतारीहरू
त्यहाँ पनि छ होला र
फेरि बोक्नै नपर्ने गरी त्यो भारी
त्यहीँ छोड्न सजिलो नहोला र
म राजी छु
तिमी पिआरको भारी छोडेर आउन सक्छौ भने
म बाँकी जीवनको भारी उठाउन राजी छु
भारी हुनेछैन मेरो लागि
म हाम्रो जिम्मेवारी उठाउन राजी छु
खरले छाएकै भए पनि एउटा घर बनाउँला
नातागोता इष्टमित्र सबै अटाउने एउटा सहर बनाउँला
तिमीलाई फेरि बाबाआमाको काख मिल्नेछ
बा-आमालाई बुढेसकालमा तिम्रो साथ मिल्नेछ
म राजी छु
मलाई विदेशको कार्ड होइन
नेपाली हुने अधिकार दिन्छौ भने
तिम्रै नामको सिन्दूरले सिउँदो भर्न पनि राजी छु
माग्छौ भने जीवन नै बलिदान म मर्न पनि राजी छु।