सायद म त्यो बेला त्यस्तै १/२ कक्षामा पढ्थेँ जब पहिलो पटक मैले श्यामलाललाई देखेँ। ऊ अरू जस्तै भएर पनि वास्तविकतामा अरू जस्तै हुन सकेकै थिएन।
उसका लागि त्यो सिङ्गो घर नै संसार थियो। घरका ती चार किल्ला बाहेक अन्त उसका पाइलाहरू लम्किन सकेनन्। त्यहाँ बाहेक अन्त उसका सोचहरू पुग्न सकेन। बाहिरी दुनियाँ कस्तो हुन्छ भन्ने उसले कहिल्यै महसुस गर्न सकेन। उसले सक्यो त केबल उही चार किल्लाका बाटो पहिल्याउन, एक्लै आफैसँग हाँस्न, आफैँसँग कराउन अनि आफैँसँग रुन।
म श्यामलालको छिमेकी, मेरा घरबाट उसको घर छर्लङ्गै देखिन्थ्यो। दिनको कम्तीमा पनि केही पटक ऊ घरको वरिपरि चक्कर लगाउँथ्यो र त्यही बखत म उसलाई देख्थेँ, एक छिनसम्म टोलाएर उसलाई हेरिरहन्थेँ अनि म आफ्नै मस्तिष्कसँग खेल्न थाल्थेँ।
सोच्थेँ उसको जीवन कति छिट्टै घर भित्रै सीमित रहेर सकिने भयो। सोच्थेँ ऊ ठिक हुँदो हो त उसका पनि कति सपनाहरू हुन्थे होलान्, कति रहरहरू बुन्थ्यो होला तर आज ऊ यो अवस्थामा छ जहाँ उसलाई सपना र बिपनाको अन्तर थाहा छैन। जहाँ उसलाई जीवनको परिभाषा थाहा छैन। उसलाई म कति उमेरको भएँ र अहिलेसम्म मैले जीवनमा के-के गरेँ कुनै हेक्का नै छैन।
वास्तवमा श्यामलाल एक मानसिक रोगी भनेर उसको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पुष्टि भयो। यो एउटा कागजका पन्नामा लेखिएको शब्दले उसको जीवनको रङ नै बद्लियो। सानो परिवार थियो श्यामलालको जसमा ऊ एक्लो छोरो। त्यसै कारण उसका बा-आमा झनै बढी चिन्तित थिए।
सोचेका थिए छोराको भविष्य उज्ज्वल बनाउँला, उसको बिहे गराएर आँगनमा नातिनातिना खेलौँला तर बा-आमालाई पनि सोचेको जस्तो कहाँ हुनु! दिनहुँ गुनासो पोखिरहन्छन्, गरून् पनि के? खेत बेचेरै किन नहोस् छोराको उपचार गरे तर पनि हात लाग्यो शून्य जस्तै भयो।
कुनै पनि परिवारलाई आफ्नो घर भित्रको माहौल सुखी, शान्त र रमणीय होस् भन्ने लाग्छ तर जब सोचेको जस्तो हुँदैन तब सबै चिन्ताको बाटोतर्फ मोडिन्छन्। तर पनि भनिन्छ नि, जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ। त्यसैले सबैको सरसल्लाहमा त्यो बेला श्यामलाललाई भारत लगियो।
हामी साना भएकै कारण बुझ्ने भएपछि यी कुराहरू थाहा पायौँ। त्यो समयमा त्यसरी उपचार गर्नकै लागि भनेर नेपालबाट भारत लैजान सामान्य वर्गका परिवारलाई अलि धौधौ नै हुन्थ्यो रे। अरूभन्दा श्यामलालका परिवार अलि हुने खाने नै थिए। ऊ बेला बाले विदेशमा कमाएका पैसा थियो। उतै हुँदा जोडेका घडेरी थियो। सायद त्यसैले गर्दा पनि श्यामलालका बालाई अलि हौसला मिलेको होला किनकि उसले कमाएको सम्पत्ति पनि त आखिर उनै छोराछोरीका लागि थियो र अन्त: छोराछोरी भनेकै बहुमूल्य सम्पत्ति हुन्।
जुन दिन श्यामलालका बा भारत जाने निधो गरे, त्यस दिन बिहानै श्यामलालकी आमाले अँध्यारोमै उठेर घर सफा गरेर भगवानलाई पूजा गरी ढोकाका दुई तिर कलशमा पानी राखी पूजाको थाली हातमा समात्दै सबै (श्यामलाल, उसको बा र काका) तीनै जनालाई टीका लगाई शुभ कार्यको बाटो फुकाइदिइन्।
बाको मनमा धेरै कुरा हुन्छ तर फ्याट्ट प्रस्तुत गर्दैनन् तर आमाको मन कमलै हुने भएर होला आँखा रसाइहाल्ने। श्यामलालकी आमालाई आफ्नो सन्तान ठिक भएर फर्कियोस्, फेरि आमा भोक लाग्यो भन्दै आओस्, सानातिना कुरामा नै किन नहोस् झगडा गरोस् र पूर्ण रूपमा ठिक भएर आएस् भन्दै उनका ती हरेक आँसुका थोपाहरूले भनिरहेका थिए।
श्यामलालका बाले ‘ल अब हामी लाग्छौँ, तँ नि यता आफ्नो ख्याल गरेस्, धेरै पिर लिएर मात्रै बस्ने हैन सबै ठिक हुन्छ। जे भए पनि ठाउँमा जान लागेका छौँ केको पिर मान्छेस्! ल राम्रोसँग बस्’ भन्दै तीनै जना बाटो लागे।
नयाँ ठाउँ अनि पहिलो पटक भएपछि केही अप्ठ्यारा त भई नै हाल्छन्। तर पनि श्यामलालका काका ऊ बेलामा पनि १० कक्षा पास गरेर गाउँमै नाम कमाएका थिए। भाइ पढे लेखेको भएर श्यामलालका बालाई धेरै सहज भयो। परेको बेला गर्नु नै ठुलो कुरा हो, कुनै दिन अंशकै कारण दुई दाजुभाइमा झगडा भए तापनि आज उही भाइले आफूलाई पर्दा गरेको देखेर श्यामलालका बाका आँखा नरसाउने कुरै थिएन। उनी आँखालाई पुछ्दै छोराको आडमा गएर बसे।
लगभग २ दिन पूरै पछि ३ दिनको दिनमा उनीहरू भारत पुगेका थिए। पुगेकै दिन उपचार गर्न त के भ्याइन्थ्यो र, त्यसैले त्यस दिन कुनै होटेलमा बास बसे र भोलिपल्ट बिहानै श्यामलालका काकाले सोधखोज गरी राम्रो अस्पतालमा पुर्याए।
घामका तेजिला किरण अस्पतालको शय्यासम्म छिरिसकेका थिए। बिस्तारै अस्पतालमा भिड पनि बढ्दै थियो। बा श्यामलालको बायाँपट्टि बसिरहेका थिए भने श्यामलाल आफ्नै सुरमा गुनगुनाउँदै थियो। काका डक्टरले लेखिदिएका दबाइको पत्र समाती दबाई लिन गएका थिए।
डाक्टरसँग सबै कुराकानी भइसकेपछि श्यामलाललाई केही समय यतै राखेर उपचार गर्नुपर्छ भन्ने निष्कर्ष भयो। उनीहरू एक महिनाका लागि कोठा भाडामा लिएरै बसे। आफूले सक्दो श्यामलालको उपचारमा जोड दिए। केही दबाई भारतमा नपाइएकाले बाहिरबाट मगाउँदा अलि बढी खर्च लाग्ने देखियो। तर पनि छोरा ठिक हुन्छ भने आफूले सक्नेसम्म सबै गर्छु भन्ने अठोट श्यामलालका बामा थियो।
उता घर आमा र बहिनी उनीहरू कहिले फर्किन्छन् भन्नै दिनहुँ प्रतीक्षा गरिरहेका थिए। ‘घरमा बा र दाइ नहुँदा कति धेरै शून्य हुने है आमा’ भन्दै छोरीले अगेनाको दाउरा जोड्दै भनिरहेकी थिई भने उता आमा टोलाउँदै ‘अँ’ भनी एकोहोरो आफ्नै गहिरो सोचमा थिइन्।
‘बाहरू गएको पनि धेरै दिन भइसक्यो, न त कुनै खबर आउँछ न त चिठी नै’ भन्दै आमाले ‘अगेनाको आगो निभाउँदै हिँड अब सुत्न’ भनी छोरीलाई हातमा गुन्द्री दिई आफू सबै सामान थन्काउन लाग्छिन्।
उता बाहरू गएको १५ दिन भइसकेको हुन्छ। श्यामलालमा पहिलेको भन्दा धेरै सुधार देखिएको थियो। अब ऊ पहिलेको जस्तो रहेन। उसले बालाई हेर्दै मुस्कुराएको थियो, ‘आमा खै?’ भन्दै बालाई प्रश्न गरेको थियो। ‘काका हामी यहाँ किन आएको र यो कुन ठाउँ हो?’ भनी प्रश्न गरेको थियो। अन्तिममा ‘बहिनी स्कुल गई?’ भन्दै बातिर हेरिरहेको थियो।
धेरै पछि आफ्नो सन्तानले यसरी प्रश्न गरेको देख्दा श्यामलालका बालाई कुन प्रश्नको उत्तर पहिले दिऊँ भन्दा भन्दै उनी बोल्नै सकेनन्। अझै १५ दिन बाँकी थियो त्यहाँ बस्नका लागि।
बिस्तारै छोरामा भएको परिवर्तन देखेर बाको मन आफैमा हर्षित थियो, उनलाई कति बेला घर जाउँला र पत्नीलाई अँगालो हाल्दै हेर हाम्रो छोरो अब ठिक भयो भनौँ जस्तै भएको थियो।
अब भने एक महिनाको अन्त्यको पर्खाइमा थिए सबै जना। श्यामलाललाई बिहान बेलुका ध्यान गराउने, कसरत गराउने, ज्ञानका बारेमा प्रवचन सुनाउने र उपचारसँग सँगैको दबाई पनि समयमा नै दिँदै गर्दा गर्दै अब भने एक महिनाको समयको पनि अन्तिम घडी आयो।
श्यामलालका बाले हुलाकमार्फत घरमा पत्नीलाई चिठी पठाएका थिए। सोही पत्रअनुसार उनले घरमा सबै बन्दोबस्त गरी राखेकी थिइन्; छोरालाई मन पर्ने खानेकुरा, उसका कपडा, उसका कोठा सबै सजाएर राखेकी थिइन्। बहिनी दाजु ठिक भएर फर्किने खबरले खुसीले उफ्रिएकी थिई।
सबै हिसाबकिताबको मेसो काकाले मिलाए र केही घरमा नियमित खाने दबाई समेत झोलामा राखी उनीहरू नेपाल आउने बाटो तताए।
फर्किँदै गर्दा श्यामलाललाई सबै नयाँ लागिरहेको थियो, सबै सम्झिने कोसिस गर्दै ऊ आइरहेको थियो र सबैभन्दा बढी त उसले घरलाई नै सम्झिएको थियो, बहिनीसँग खेलेको त्यो आँगन, आमाले नुहाइदिएर तेल लगाइदिएको त्यो क्षण, बाले पिँढीमा बसेर ढोको बुन्दै गरेको सबै दृश्य ऊ मस्तिष्कमा ताजा बनाउँदै बसको झ्यालमा टाउको अडेस लगाउँदै छुट्टै ऊर्जाका साथ ऊ फर्किँदै थियो।
केही समयपछि उनीहरू घर आइपुगे र घरमा आउना साथ आमालाई अँगालो हाली श्यामलाल खुब रोयो। बहिनीलाई गुडिया दिँदै बालाई पनि अर्को हातले अंकमाल गर्दै खुसीका आँसु बगायो।
एक जवान छोरा ठिक भएर घर फर्कनु भनेको अँध्यारो भएर मडारिएको आकाश एक्कासि सफा भई निलो र उज्यालो हुनु बराबर हो। आशा छ श्यामलाल जस्तै कयौँ श्यामलालहरूले बेलैमा उपचार पाउन् र सबैभन्दा बढी माया पाउन्।