त्यस्तो कथाको पात्र
जो अलिखित छ
जो अव्यक्त छ
ऊ पीडा आँसुसँग साट्दै छ
दुनियाँसामु मुस्कान देखाइ ढाँट्दै छ
ऊ मौन छ
आफ्नै भविष्यदेखि
आफ्नै जीवनदेखि
विगत अनि वर्तमानदेखि
नियाली संसार मौनतामै आँसु भेल बगाइदिन्छ
कल्पेर आउँदो भविष्य पूरा रात नै सकाइदिन्छ
हो, ऊ यस्तै कथाको पात्र हो।
ऊ कहिलेकाहीँ एक्लै रोइदिन्छ
हिक्का छोडेर
सोच्दासोच्दै हिँडिदिन्छ बाटो
टक्क मोडेर
मानौँ ऊ एउटा पीडाको चौतारी हो
जहाँ बस्दा कैयौँ वेदनाका पोकाहरूले छोएजस्तो हुन्छ
शरीर कापेजस्तो हुन्छ
मन डराएजस्तो हुन्छ
छाती पोलेजस्तो हुन्छ
मुटु चल्नै छोडेजस्तो हुन्छ
तर ऊ अडिग छ
रुँदारुँदै मनलाई पत्थर पारिसक्यो
दुखको सिँढी चढ्न खारिसक्यो
हो, ऊ मानवता खोज्दाखोज्दै
हारिसकेको पात्र हो
दुनियाँले जिउँदै
मारिसकेको पात्र हो।
अब ऊ आफू भित्रको आफूलाई चिन्न मैदानमा आएको छ
त्यसैले मुहारमा अलिकति दाग र धब्बा लाएको छ
अब ऊ निडर बनिसक्यो
हारदेखि परिचित बनिसक्यो
समाज र परिवार चिनिसक्यो
रोकिँदैन यात्रा ऊ हिँडिसक्यो
कोही छैन साथमा केही छैन साथमा
केवल हिम्मत र जिम्मेवारी छ
मनमा जितको अहङ्कारी छ
हो उसलाई
एक्लोपनको विजय देखाउनु छ
अपहेलनको छुट्टै इतिहास लेखाउनु छ
त्यसैले
बिर्सेर दुनियाँ
यात्रामा निरन्तर छ त्यो एक पात्र
सपनाहरू माला उनी
निरन्तर हिँडिरहेछ त्यो एक पात्र।