साँझको समय थियो। झ्यालबाट हल्का हावा भित्र आइरहेको थियो, पर्दा हल्लाउँदै। चिसिँदै गरेको चिया आधा कप खेर गइसकेको थियो। म कोठाको बिचमा रहेको सोफामा बसेकी थिएँ, मेरा अगाडि खाली कुर्सी।
केही अघिसम्म त्यही कुर्सीमा ऊ बसेको थियो। एक घण्टा बितिसकेको छ तर कुर्सी अझै तातो लाग्छ, मानौँ सम्बन्धको कुनै अवशेषले त्यो ठाउँ छोड्न मानेकै छैन।
‘कसरी यति गह्रुङ्गो भयो हाम्रो संवाद?’ म आफैँसँग बरबराएँ।
ऊसँगको मेरो सम्बन्ध सधैँ संवादकै सेरोफेरोमा घुमिरह्यो— केही बोलिएका, केही मौनताले बोकिएका। उससँग झगडा कम हुन्थ्यो, गहिरो संवाद बढी।
‘तिमीलाई कस्तो लाग्छ? जीवनको सबैभन्दा ठुलो चुनौती के हो?’
त्यस दिन उसले अचानक सोफामा बसेर सोधेको थियो।
‘सही कुरा सही समयमा भन्न नसक्नु,’ मैले जवाफ दिँदै सोचेकी थिएँ— किन ऊ यस्तो गहिरो प्रश्न सोधिरहेको छ?
उसका प्रश्न सधैँ गहिरा हुन्थे।
कहिले जीवनको अर्थ सोध्थे।
कहिले सम्बन्धको परिभाषा खोज्थे।
कहिले उठाउँथे आफ्नै अस्तित्वको सवाल।
धेरैलाई यस्ता प्रश्नले गलाउँछन् तर अचम्म के भने, म ऊसँग बोलेर आफूलाई हल्का महसुस गर्थेँ। जस्तो ऊ मेरा मनका छटपटीहरूलाई पानामा उतारिदिने पात्र हो।
त्यस दिन पनि उसले टेबलमा औँला घुमाउँदै भनेको थियो— ‘सम्बन्ध भनेको संवाद जस्तै हो, जहाँ कहिलेकाहीँ शब्दभन्दा मौनता गहिरो बोल्छ।’
म अझै सम्झिन्छु, मेरो र उसको पहिलो भेट।
साधारण परिचयको रूपमा सुरु भएको कुरा यति गहिरो संवादमा बदलियो कि लाग्थ्यो— उससँग बोल्दा समयको कुनै प्रभाव नै हुँदैन।
सम्बन्धको सुरुवाती चरणमा मेरा हरेक दिनको एउटा हिस्सा केवल उसका लागि मात्र सुरक्षित थियो। उसका सारा दिन नै मेरा लागि समर्पित थिए।
आज सबै बदलिएको छ।
हामी दुवैको उपस्थितिको अस्तित्व एक अर्काका जीवनमा पहिले जति छैन वा त्यति महसुस हुँदैन। पहिले पहिले उसका गहिरा संवादका बिचमा ससाना मौनताको बिसौनी हुन्थे जहाँ ऊ केवल मलाई एकटकले हेरि मात्र रहन्थ्यो। निःशब्द हुँदा पनि उसका नयनको स्पर्शले मनमा छुट्टै उमङ्ग उर्लिएर आउँथ्यो। अहिले मौनताको सन्तुलन बिग्रेको छ।
उहिले मौनताले पनि एउटा मिठो अर्थ बोकेको थियो।
अहिले त्यो केवल दूरीको परिभाषा बन्दो छ।
म पहिलेजस्तै सँगै बसेर उसलाई नियाल्न चाहन्थेँ। उसका आँखामा केही खोज्न चाहन्थेँ— उही भाव, माया, आत्मीयता र चमक। तर उसको आँखा खाली भइसकेका थिए, मानौँ मैले खोज्न चाहेका कुनै कुरा त्यहाँ बाँकी नै थिएन।
उसको निःशब्दताले बोकेको स्थिरता अहिले बाँकी छैन, त्यो त अब एक प्रकारले हामीलाई अनजान बनाउने बाटो बनेको छ, जसले हाम्रो बिचको सम्बन्धलाई टुक्रा टुक्रा गर्दै लगिरहेको थियो।
ऊ र म हामी हुने सुरुवातमा स-साना कुराहरूले हामीलाई जोड्थे।
उसले मेरा लागि बिहानको कफी बनाउँथ्यो, म उसका लागि मन पर्ने किताबको पाना पल्टाउँथेँ। खाना खाने समय मलाई सबैभन्दा प्यारो थियो। म उसलाई मन पर्ने परिकारहरू बनाउँथेँ। उसले सधैँ मलाई आफ्नै हातले खाना खुवाउँथ्यो। उसलाई पस्केको खानाको पहिलो गाँस मेरै नामको थियो।
ती क्षणहरू बिचबाटै हाम्रो माया ओइलाउँदै गयो।
कसरी ओइलायो? थाहा छैन।
तर त्यसको अनुपस्थितिले मलाई रित्तो बनाइदिएको छ।
हामीले कहिले प्रेमको चमक कसरी गुमायौँ? ज्ञात छैन।
कुन क्षणले उसलाई मबाट टाढा गरायो? हामीले एक अर्कालाई आफ्ना नजिक राख्ने प्रयास गर्न किन छोड्यौँ? कहिले हामीबाट फेरि ऊ र ममा बदलियो हाम्रो सम्बन्ध?
त्यो अदृश्य डोरी जसले हाम्रो सम्बन्धलाई बाँधेको थियो, बिस्तारै कमजोर हुँदै गयो। त्यो चुँडिँदा कुनै आवाज आएन तर मेरो मनभरि त्यसले सुनी नसक्ने चीत्कार भरिदियो।
सम्बन्ध बिलोपनमा सधैँ ठुलो झगडा, विवाद वा विद्वेष चाहिँदो रहेनछ। कहिलेकाहीँ स-सानो मौनताले नै चर्को धर्सो कोर्न थाल्छ। केही समयदेखि ऊ कम बोल्न थालेको थियो। ऊ अगाडि नै थियो, म कुरा गर्न खोज्थेँ। मौनता हाम्रा बिचमा चिच्याउन थालिसकेको थियो।
एक साँझ म अफिसबाट फर्किँदै गर्दा उसले म्यासेज पठायो, ‘आज के छ डिनरमा?’
सधैँजस्तै सामान्य प्रश्न। तर मलाई थाहा थियो, यस प्रश्नले भित्र कतै तिरको अलमल लुकाएको छ।
त्यस रात चुपचाप खाना बनाएँ। उसले पनि एक शब्द नबोली खायो। हाम्रो मौनताले टेबललाई पूरै थिचिरहेको थियो।
खाइसकेपछि सोध्न खोजेँ— ‘के कुरा छ?’
शब्दहरू मुखमा आएर रोकिए। ऊ पनि केही नभनी उठ्यो।
अहिले त्यस कुर्सीमा कोही छैन। ऊ आफ्नो सामान लिएर गएको छ। फर्किन्छ कि फर्किन्न? थाहा छैन।
त्यो कुर्सी अझै बोलिरहेको छ।
त्यसमा बसेर उसले बोलेका शब्दहरू घुमिरहेका छन्।
‘के सही समयमा बोलेको कुरा सधैँ ठिक हुन्छ त?’
‘सम्बन्धमा कहिलेकाहीँ चुप रहनु पनि त जरुरी छ, होइन?’
कसरी हाम्रो संवादले यत्रो दूरी बनायो? शब्दहरू धेरै छन्, तर तिनले एउटा पुल बनाउन समर्थ छैनन्।
अहिले पनि झ्यालबाट हावा चलिरहेको छ। चिया चिसो छ। त्यो कुर्सी खाली छ।
मैले महसुस गरेँ— सम्बन्ध सधैँ खुसी र हाँसोले मात्रै चल्दैन। एक अर्कालाई गुमाउने डर, सँगै हुँदा पनि महसुस हुने खल्लोपन र मिठो सुनिएका शब्दको तितोपनलाई पनि अपनाउन जान्नु पर्ने रहेछ। प्रायशः गहिरा संवाद पनि बोझ बनिदिन्छन्। प्रेम भनेको सदा सँगै बोल्ने कला मात्र होइन, मौनता स्वीकार गर्ने साहस पनि हो।
उसको अनुपस्थितिमा यस कोठाले एक नयाँ कुरा सिकायो— सम्बन्ध केवल सँगै भएका क्षणहरूमा मात्रै सीमित हुँदैन। यो त ती सानातिना पलहरूमा जीवित हुन्छ, जुन हामीले सँगै महसुस गरेका थियौँ। शब्दहरूको मोल सम्बन्धमा निकै महत्त्वपूर्ण हुन्छ तर ती पलहरू हराउँदा, एक प्रकारको शून्यता बस्छ, जसलाई कुनै शब्दले भर्न सक्दैन, र कुनै मौनताले हल्का बनाउन सक्दैन।
उसले मेरो जीवनमा मात्र होइन, मेरो सोचाइमा पनि एउटा स्थान बनाएको थियो। उसले हाँस्दा, आफ्ना कुराहरू मन लगाएर सुनाउँदा वा केवल मसँग बसेर मौन मुस्कुराउँदा हाम्रो मायाको प्रारम्भ भएको थियो।
उसको अनुपस्थितिले सम्झाएको छ- ‘प्रेमको वजन सधैँ उसको उपस्थितिले मात्र होइन, अभावले पनि थपिँदो रहेछ।’
कुर्सीतिर हेरिरहेँ। त्यसमा ऊ अझै बसिरहेको छ, मेरा यादहरूमा।
म चिया लिएर बिस्तारै झ्यालतिर गएँ। बाहिर आकाशमा साँझले सुनौलो रङ लगाइसकेको थियो। हावाले हलुकासित छोयो, पर्दा फेरि हल्लियो।
‘फर्क्यो भने म केही बोल्ने छैन,’ आफैँसँग भनेँ।
‘यस पटक मौनताले नै सबै कुरा बताउनेछ।’