कविता
वर्षौंदेखि
जसलाई भेटाउन दौडिरहेछौ, त्यो म नै हुँ
वर्षौंदेखि
जसलाई भेटाउन पर्खिरहेछौ, त्यो म नै हुँ।
झरीलाई इन्द्रेणी जन्माउन चाहिन्छ जुन उज्यालो
म त्यस्तै उज्यालो हुँ– तिमीभित्रको
आकाशलाई आफ्नो गर्भमा चम्किरहने ताराहरू देखाउन
चाहिन्छ जुन अँध्यारो
म त्यस्तै अँध्यारो हुँ– तिमीभित्रको
जुन सुन्दरताको सहयोगमा: मयूरले भेटाउँछ मधुमासको साथी
म त्यस्तै सुन्दरता हुँ– तिमीभित्रको
जुन कुरूपताले सुरक्षित राख्दछ झुसिलकिरालाई
म त्यस्तै कुरूपता हुँ, तिमीभित्रको
म त्यही सपना हुँ
जसलाई देखेर ब्यूझिँदा, तिमीलाई फेरि निदाउन मन लाग्छ
म त्यही विपना हुँ
जस्लाई कल्पिँदा, तिमीलाई फेरि निदाउन मन लाग्दैन
तिमीलाई मनपर्ने प्रेम कविता पढिरहँदा
तिमीमा उठ्ने कुतकुतीका स–साना काँडाहरू म नै हुँ
तिमीलाई मन नपर्ने काम गर्नुपर्दा
तिमीलाई रोक्ने तिम्रो आत्माको सत्य म नै हुँ
तिमीलाई तिम्रै न्यास्रो लाग्दा
तिमीले सम्झने ब्रह्म म नै हुँ।
तिमीले सबै सबै बिर्सिन खोज्दा
बाँकी रहने चैतन्य म नै हुँ।
म नै हुँ
जसको कारण
तिमीलाई अनायास:
हेर्न मन लाग्दछ, सरदको सफा साँझमा आकाश
लगाउन मन लाग्दछ, दराजको आकर्षक लुगा
लजाउन मन लाग्दछ, ऐनामा हेरेर आफैलाई
तिम्रो ओठमा टाँसिएको: उदितनारायणको प्रेमिल गीत म नै हुँ
समयलाई सुन्दर देख्ने: तिम्रो जीवन दृष्टि म नै हुँ
तिमीभित्र भरिएको: करुणा, क्षमा र चञ्चलता म नै हुँ
म नै हुँ
जोसँग तिमी बिसाउन सक्छौ : दु:खका सारा-सारा भारीहरू
म नै हुँ
जोसँग तिमी फुकाउन सक्छौ: खुसीका सबै-सबै पोकाहरू
सृष्टि आरम्भ हुनुअघिको सन्नाटाले
कुरिरहेको थियो जुन विस्फोट
म: तिम्रो हृदयले कुरिरहेको त्यस्तै विस्फोट हुँ
मैले नै फैलाउनेछु तिमीमा प्रेमको नयाँ ब्रह्माण्ड
तिमीले पर्खिरहेको म नै हुँ।
मैले खोजिरहेको तिमी नै हौ।
०००