दिन पूरै रोइरहेको थियो।
न घामको सानो किरण देखिन्थ्यो न झमझम पानी पर्न नै सक्थ्यो। मलाई रातभरि ऐँठन परिरह्यो। आँखा, मन र मस्तिष्कले खोनाथ नै खोजिरहे। मन बुझाउँथेँ। मस्तिष्क कतै 'ट्रान्सफर्म' गर्न खोज्थेँ। बाटोमा हिँड्दा आँखाहरू तुरुन्तै खोनाथलाई खोजिहाल्थे।
मलाई घर फर्कन खासै मन थिएन। तर मामु बाबालाई भुल्न पो कहाँ सकिन्थ्यो र?
समस्या उहीँ पुरानै थियो। यस्तो केटो दिएका छन् उस्तो केटा दिएका छन्। मलाई अचम्म लाग्थ्यो। मेरो बिहे गर्न किन यस्तो हतारो भइरहेका छ?
म किन घरमा यस्तो घाँडो भइरहेको छु?
आखिर मामु बाबाको एक्ली सन्तान मै मात्र न थिएँ। ६ महिनापछि घर आउँदा पनि न बाबा राम्रो बोले न मामु। दुवैले बोक्रे बोली बोले। म बाबाको चाहिँ अँगालोमा बेरिन चाहन्थेँ। तर मामुले रोकिन्।
‘यस्ता मान्छेलाई हग नगरिस्योस्।’
मामुले कठोर वाक्यले मेरो मुटुमै च्वास्स घोच्यो। आँखाबाट अनायासै कर्णालीरूपी भेल बग्यो।
मुख फड्कालेर भन्न मन थियो- 'अब मेरो बिहे भयो भने सिकरकटेरीको खोनाथसँग मात्रै हुन्छ नत्र हुँदैन। कुन मुलुकी कानुनले मलाई खोनाथसँग बिहे रोक्न सक्छौ?'
मलाई ठुलो स्वरले कराएर होइन, चिच्याएर यी प्रश्नहरू आफ्नै मातापितालाई सोध्ने मन थियो। तर म मौन बसिरहेँ।
बाहिरी वातावरण धुम्मिएको जसरी घरको वातावरण पनि बिग्रियो। तुरुन्तै सधैँको लागि घर छाड्ने अप्रत्याशित निर्णय लिएँ। सबै कागजपत्र र पाँच सात जोर लुगा झोलामा प्याक गरेँ। हिँड्दा अनुहार ऐनामा पर्यो। मैले आफैलाई भनेँ- त्यो लिसा र यो लिसा।
मेरो बाहिरी आवरणमा 'राडिकल' चेन्ज आइसकेको थियो।
म खोनाथको खोजीमा थिएँ। अझै छु। मैले 'मेकअप' नगरेको जुग बितिसकेको थियो। कपाल कोर्न नमिल्ने गरी जगल्टा परिसकेको थियो। म शारीरिक मात्रै होइन बिस्तारै मानसिक रूपमा पनि 'डे बाई डे' क्षति बेहोर्दै थिएँ। मलाई निन्द्रा पर्न छोडिसकेको थियो। अब त मैले जन्मदिने मामु बाबा त्यागेँ। जन्मघर त्यागेँ। खोनाथ नभेटिए मेरो 'डेस्टिनेसन' अनिश्चित थियो।
'पठाओ' बाइक अर्डर गरेँ। गर्न त ट्याक्सी नै अर्डर गर्न खोजेको थिएँ तर नजिकै पठाओ ट्याक्सीहरू नभएको 'एप्स'ले बत्ताइरह्यो। पठाओको बाइक चालक फतफते थियो। बोलिरह्यो। मैले कानमा मन नलाग्दा नलाग्दै 'एयरपड' घुसाएँ।
जडीबुटी चोकमा पठाओ वालालाई बिदा गरेर म 'चिकेन स्टेसन' पुगेँ। चिसो कोक अर्डर गरेँ। वेटर वाल्ल परिरह्यो। बाहिरी वातावरण जति जाडो थियो। त्यस विपरीत मनमा ठुलो डढेलो सल्किरहेको थियो। मनमा आगो लागेको कसले पो देखुन्?
सिकरकटेरीमा श्यामु दाइको फोन लाग्न छोडेको लामै समय भइसकेको थियो। 'श्यामु दाइ सिकरकटेरी' सेभवाला नम्बरमा फेरि कल गरेँ। फेरि मन निराश भयो।
फेरि जडीबुटी चोकमा पुगेँ। सिकरकटेरीसम्म पुग्न उही विपी हाइवे हुँदै गुड्ने 'ईभी' माइक्रो समातेँ। माइक्रो चालकलाई झर्ने ठाउँ बताएर मैले आँखा चिम्लिएँ। एयरपडमा 'जगजित सिंह'का गजलहरू लगाएँ।
नेपालथोक माथि 'चार्जिङ स्टेसन'मा माइक्रो चार्ज गर्न रोकियो। पेटमा भोक थिएन। तर माइक्रोमा म खुब मज्जाले निदाएछु। टाउको हलुका भएको थियो। म सिकरकटेरीमा खोनाथ भेटिनेमा ढुक्क थिएँ। सिकरकटेरीको दूरी छोट्टिँदो थियो। मनको छटपटी सामुद्रिक छालभन्दा पनि बढी उछालिएको थियो।
सिकरकटेरी पुग्न ठाडी उकालो चढ्दा कोही कसैसँग बोलिनँ। खोनाथको घर नआइपुग्दै आइपुगिने श्यामु दाइको घर सुनसान थियो। म खोनाथको घरसँगैको पिपल चौतारीमा पुगेर झोला बिसाएँ। खोनाथको घर जीर्ण भैसकेको थियो।
खोनाथको घर मात्रै होइन, सिकरकटेरी पुरै सुनसान थियो। यसभन्दा अगाडि आउँदा बखतका बाख्रा र बाख्रा गोठालाहरू थिएनन्। बाख्रा गोठका मूल नायक श्यामु दाइ पनि थिएनन्। घरका दुवै ढोकाहरूमा भोटे ताल्चा ठोकिएको थियो।
साँझ पर्न नआँट्दै खोनाथको घरमा किराहरूको एक टङ्कारको संगीत सुनिन्थ्यो। त्यो मधुर र मिठास संगीत थिएन। ती किराहरूको कर्कश संगीत सुन्न मन लागेन। मलाई खोनाथको खुब माया लागेर आयो।
गँगटे खोलाले यस पटक बगरको आयतन ह्वात्तै बढाएको थियो। बगरका खोलाका ढुंगाहरूजस्तै भयो खोनाथ र मेरो जीवन। अर्को बर्खा ती ढुंगाहरू कहाँ पुर्याउने हो गँगटे खोलाले? यस पटकको बर्खा यी ढुंगाहरू नौबिसेमा अडिए।
म खोनाथको साथमा सिकरकटेरीमा पुरै लाइफ बिताउन चाहन्थेँ। अझै चाहन्छु। तर खै त खोनाथ? तर तिनै ढुंगाहरूजस्तै म पनि बगिरहेको छु। तर म खोनाथसँगै बग्न चाहन्छु। ऊसँगै जीवन अडाउने भनेर फेरि सिकरकटेरी फिरेको छु।
अहँ! खोनाथ छैन अनि? झोला बोकिरहन दिक्क लागेपछि बरन्डामा राखिदिएँ। बरन्डा पुरै फर्सीले भरिएको थियो। कति फलेका होलान्, फर्सीहरू? नागोयामा बस्दा खोनाथ फर्सी पकाउँदा खान नाकनिक गर्थ्यो। त्यसको वास्तविक रहस्य बल्ल थाहा पाएँ।
श्यामु दाइकोमा गएँ। साँझ झमक्क परिसकेको थियो। श्यामु दाइ अगेनो छेउमा थिए। उनको मुखमा बिँडी आज पनि टुटेको थिएन। श्यामु दाइले देखेको नदेखै गरे।
श्यामु दाइले 'सेकाइ नो यामाच्यान' लेखिएको टी-सर्ट लगाएका थिए। खासमा त्यो टी-सर्ट मेरो थियो। 'यामाच्यान' भन्ने बित्तिकै कुखुराका पखेटा अर्थात् 'तेबासाकी'को खुब याद आयो। बियर र 'तेबासाकी' सम्झने बित्तिकै मुखमा पानी आयो। खोनाथसँगै 'यामाच्यान' भट्टी पुगेर मस्त बियर पिएर साकायका गल्लीहरूमा खोनाथले हात समातेर 'अपार्टमेन्ट' ल्याइपुराएको हिजो झैँ लाग्छ। खोनाथ मज्जैले पिउँथ्यो तर उसलाई बियर मात्रै होइन कुनै पनि 'साके' लाग्दैन थियो।
श्यामु दाइले लगाएको त्यो टी-सर्ट खोनाथले जापानको नागोयादेखि सिकरकटेरीसम्म ल्याउनुले नै 'उसको मप्रतिको मोह' झल्किन्थ्यो।
श्यामु दाइले दोस्रो बिँडी सल्काए तर मसँग बोलेनन्। अगेनोको आगोबाट धुवाँ मैपट्टि आयो। ‘बाटोमा पिसाब फेर्ने एक रातेहरूलाई यस्तै हुन्छ’ श्यामु दाइले मुखको बिँडी हटाएर त्यति मात्रै बोले। श्यामु दाइकी छोरीले मिठो भान्सा गराइन्। म यसअगाडि आउँदा ठुलो भाइ र सानो भाइहरू थिए।
मैले भारतका मजफ्फरपुर,अयोध्या,बनारस र नयाँ दिल्लीमा खोनाथ खोजेको प्रसंग श्यामु दाइलाई सुनाए। श्यामु दाइ चुपचाप बसिरहे। श्यामु दाइले आँखा टिभीतिर लाउँदै भने- 'खोनाथ एकराते जोगीको भेषमा सिकरकटेरी फिरेको थियो, दुई हप्ता अगाडिसम्म यही थियो। अब छिट्टै फर्केला। मसँग सल्लाह गरेर हिँडेको भने होइन। तपाईंजस्ती अँगालो भरिकी स्वास्नी पाए'सी त्यो एकरातेले पनि गृहस्थी सम्हाल्छ। तर तपाईं आजैबाट यतै बस्नुस्।’
मलाई पनि ढुंगो खोज्दा द्यौता मिले झैँ भयो।
आजभोलि भन्दाभन्दै म सिकरकटेरी बस्न थालेको तीन महिना नाघ्यो। मनमा एउटा प्रश्न सधैँ गढिरहन्छ- खै! खोनाथ सिकरकटेरी फर्केला र?