गाह्रो छ सहिद भइरहन
निरङ्कुश शासकको गोली खाएर
मृत्युवरण गर्नुभन्दा
चौराहामा बसेर
आफ्ना आदर्श र सिद्धान्तहरू
निर्लज्जहरूको काँध चढी
हरेक दिन घाटा गएको हेर्न।
अत्याचारको विरुद्ध आवाज उठाउँदा
गलामा फाँसीको माला लगाई
दोबाटोको खरिबोटमा पिङ खेल्दा
गाह्रो भएन
जब क्रान्तिकारीहरूका नाइकेहरूले
डुङडुङ गन्हाएका हातहरूले
मेरो सालिकमा हार चढाउँदा
लाजले मुख छोप्न सकिनँ
ती हारहरू अस्वीकार गरी
पतित सिद्धान्त स्खलितहरूलाई
थप्पड लगाउन सकिनँ
हरेक वर्ष सहिद दिवसको नाममा
सहिदहरू माथि हुने
काइते समारोह नामका अश्लील मजाकमा
यी आँखा र कान थुन्न सकिनँ
ती गन्हाएका चरित्रबाट आउने
दुर्गन्ध नाक थुनेर फर्किन सकिनँ
गाह्रो छ सहिद भइरहन
चौबाटोमा उभिएर आदर्शको
मलामी गएको टुलुटुलु हेरी बस्न।