आँखाले मनको कुरा बोल्छ रे! नजर जुधेपछि नै हो मलाई उनी मन पर्न थालेको। अफिसको पहिलो दिन थियो। उनले मेरो हातमा प्रोजेक्ट फाइल दिँदा पहिलो पटक हाम्रो नजर जुधेको।
ओहो! ५ वर्ष भइसकेछ, उनको आँखामा हराएको। ती मौन र अबोध नयन।
हप्तामा तीन दिन मात्र हाम्रो भेट हुन्थ्यो। त्यो पनि एकछिनको लागि। ‘यस्तो नबोल्ने मान्छेले कसरी सबैसँग मिलेर काम गर्न सक्छ होला?’ केही महिना यही सोच्थेँ म तर उनी मबाहेक अरू सबैसँग बोल्थिन्। मेरो भागमा झुटो मुस्कान नि पर्दैन थ्यो।
खै! किन होला त्यस्तो कुन्नि?
खैर! सबको आ–आफ्नो बानी हुन्छ तर उनी मेरो बानी बन्न थालिन्। उनलाई देखेको एक वर्षपछि उनको आँखा मात्र होइन, उनी नै मलाई मन पर्न थालिन्। त्यसपछि म, म रहिनँ।
म आरभ रहिनँ।
मेरो मन, मेरो रहेन।
सबैमा रशुकै झल्को थियो (अहिले नि छ कि!)
त्यसपछि म अलि बढी बोल्न थालेँ उनीसँग। कामको सिलसिलाले मात्र होइन, अरू कुरा पनि गर्थ्यौँ। कहिले हाँस्दै, इमोजी पठाउँदै कुरा गर्थिन् भने कहिल्यै एकदम नराम्ररी गाली नि खाइन्थ्यो। त्यो सब उसको मुडको कुरा थियो।
कहिलेकाहीँ त कामले गरेको मेसेजको नि जवाफ आउँदैन थ्यो। त्यति बेला म रिसले चुर हुन्थेँ, मानौँ उनीमाथि मेरो हक नै भएको जस्तो।
‘आज अफिसमा गएर रिस पोख्नुपर्छ’ यति भन्दै उनको अगाडि जान्थेँ तर उनलाई देख्ने बित्तिकै सारा रिस गायब। हामी अलि नजिक भएको जस्तो लाग्थ्यो तर फेरि मेरा मेसेजहरू इगनोर हुन्थ्यो। मैले निकै अनुनय विनय गरेपछि बल्ल भेट्थिन् मसँग। म मज्जाले उनीसँग कुरा गर्थेँ। उनी प्रायः मौन बस्थिन्। कुनै कुनै बेला बोल्थिन्।
एक बेलुकी उनको मेसेज आयो, ‘आरभ सर, आज भेट्न सक्नुहुन्छ?’
दुई वर्षमा उनले पहिलो पल्ट मेरो नामले मलाई बोलाएकी थिइन्। नत्र सम्बोधन नि सर मात्र।
म चकित र खुसी दुवै थिएँ र अलि चिन्तित नि। ‘ला! केही अप्ठ्यारोमा पो छिन् कि?’ मैले रत्तीभर ढिलाइ नगरी ‘हुन्छ’ भनेँ।
उनले नारायणी किनारमा भेट्ने भनिन्। करिब सात बजेतिर हामी त्यहीँ भेट्यौँ। खासै बोल्न नरुचाउने रश्मिको अनुहारमा बेग्लै चमक थियो। झमक्कै साँझ परेको बेला नि उनको चेहरा धपक्क बलेको थियो। हामी किनारको भर्याङमा बस्यौँ। त्यो दिन पहिलोपल्ट उनी मसँग हाँसिन्, बोलिन् र जिस्किन नि भ्याइन्।
‘ओहो! यिनलाई त क्याफेको साटो नारायणी किनारमा पो ल्याउन पर्ने रहेछ,’ मनमनै सोचेँ।
त्यो दिन उनी बोल्दै गइन् र म सुन्दै गएँ। म निकै खुसी थिएँ, उनलाई देखेको दुई वर्षपछि बल्ल उनीसँग त्यति कम्फर्ट तरिकाले घुलमिल जो हुन पाएको थिएँ।
त्यो समय रमाइलो थियो मेरो लागि किनभने मेरो सपना, बिपनामा परिणत हुँदै थियो। करिब दुई महिनासम्म। हाम्रो भेटघाट बाक्लियो। खुसी हुँदा नि उनको कल आउँथ्यो र दुखी हुँदा उनी मेरो काँधमा शिर राखेर मज्जाले रुन्थिन्। भ्याएसम्म सबै कुरा भन्न भ्याउँथिन्।
अन्तिम पटक हामी भेट्दा नि उनी खुब खुसी थिइन् तर त्यसको भोलिपल्टबाट खै के भयो भयो, उनी न त मतिर हेर्थिन् न त राम्ररी कुरा गर्न खोज्थिन्। मेरो मन साह्रै पिरोल्थ्यो। अचानक रातारात मान्छे कसरी बद्लिन सक्छ?
‘उनलाई केही समय चाहिएको होला’ सोच्दै मेसेजको क्रम पातलिन थाल्यो। हप्ताको एक चोटि मेसेज गर्थेँ तर त्यसको नि जवाफ आउन्न थ्यो।
‘भेटम् न’ सोध्थेँ म।
‘हुन्छ भेटम् न केही दिनपछि।’
‘कफी खाने?’
‘भोलि’
र त्यो भोलि कहिल्यै आएन पनि।
मेरो जिन्दगी मानौँ रशुकै वरिपरि घुमिरहेको थियो। केही खालीपन थियो। केही गुमाएको जस्तो। दिन बित्दै गयो, महिना पनि र उनी पहिलाकै रशु रहिनन्। तर म त्यति बेलासम्म आरभ मात्रै थिइनँ। आरभको मन मस्तिष्कमा रशुको कुलत बसिसकेको थियो।
एक साँझ अफिसबाट रुम फर्किएँ। रुममा बहिनीले ल्याइदिएको ठुलो ऐना थियो। त्यही ऐना अगाडि उभिएँ। अचानक मनमा कयौँ प्रश्नहरू उब्जिन थाल्यो।
‘के म त्यति नराम्रो छु?’
‘के म बोल्न लायकको मान्छे नै होइन?’
‘हैन, मैले के चाहिँ त्यस्तो गल्ती गरेँ र?’
कोठामा ब्लुटुथ स्पिकर बज्दै थियो, पुरै कोठा घन्किने गरी तर मेरो ध्यान ती प्रश्नहरूमै अड्केको थियो। आफ्नो हालत, अनुहार र मनमा उठेका जटिल प्रश्नहरू, मलाई आफूमाथि घृणा बोध हुन थाल्यो।
अचानक मेरो श्वास अड्किन थाल्यो। मुटु भारी भएर आयो। म छटपटिन थालेँ। मेरो छटपटाहट बढ्दै थियो र सँगसँगै आफूप्रतिको घृणा पनि। घृणाले हो कि छटपटाहटले, मैले ऐना भुइँमा बजारेँ। अब मेरो बिम्ब भुँइमा छरपस्ट थियो, ऐनाको हरेक टुक्रामा।
अझै नि म र मेरो मन शान्त भएन। बरु चिटचिट पसिना आउन थाल्यो। आफूमाथिको रिस बढ्दै थियो।
‘मलाई आफूमाथि किन यति रिस उठेको?’ यति सोच्न सक्ने अवस्थामा नि थिइनँ। म बिलकुल शून्य अवस्थामा थिएँ। मेरो स्थिति अझ बिग्रिँदै थियो कि?
आफूमा भएको सम्पूर्ण ताक जुटाएर दाहिने हात भित्तामा हानेँ। त्यो चोट त मलाई अझै नि याद छ। भित्तालाई त खैर केही भएन तर धन्न मेरो औँलाको जोर्नी बाँकी रह्यो। एकछिन त रन्थनिएँ। आँखा तिरमिर, भुइँमा कता टेकिरहेको छु केही होस थिएन। बल्लबल्ल खाटलाई छामछुम पार्दै अडेस लिएँ। हातको दुखाइ यति धेरै थियो कि पैतालामा सिसाका टुक्राहरू बिझेको नि पत्तो पाइएन। त्यति बेला त्यही पीडाले म शान्त भएको थिएँ।
आहा! जिन्दगीमा कहिलेकाहीँ पीडा नि प्रिय हुने है?
म त शान्त भएँ तर मेरो मन अझै पोलिरहेको थियो। म चिच्याउन चाहन्थेँ, कराउन चाहन्थेँ, भक्कानिएर रुन चाहन्थेँ। कोही मलाई हेरिदियोस्, रोएको, कराएको, चिच्याएको, कसैले मेरो आँसु पुछिदियोस्।
‘कोही’ र ‘कसैले’ भन्दा पनि म रशुलाई खोज्दै थिएँ। उनले मलाई एक चोटि नि मान्छे सोचिन कि? सायद म उसको लागि एउटा चिज र वस्तु नै रहेँ।
किन उनी मेरो नजिक आइन्?
किन उनी मसँग बोलिन्?
हामी त्यति नजिएको नभए मेरो मनमा केही आशा त पलाउने थिएन नि।
मनमा कुरा खेलाउँदै थिएँ। ध्यान गोडामा पुग्यो। ढिला नगरी म मेडिकलतिर लागेँ। आफूले भ्याए जति सिसाको टुक्रा हातले निकालेँ, कपडाले पैताला बाँधेँ, चप्पल लगाएँ अनि बाइक लिएर मेडिकलतिर निस्केँ।
मेडिकलबाट निस्केपछि मेरो दाहिने हात र देब्रे गोडामा ब्यान्डेज थियो। धन्न हिँडडुल गर्न केही अप्ठ्यारो भएन। त्यो रात जसोतसो सुतेँ।
भोलिपल्ट अफिसमा अलि ढिलै पुगेँ। अफिसका साथीहरूले निकै सोधपुछ गरे तर मसँग केही जवाफ थिएन। झुटो बोलेँ ‘माइनर दुर्घटना थियो। केही भएन। म ठिक छु।’
‘आज बरु बिदा लिएको भए हुने,’ एक जना साथीले भने।
‘हात गोडा चलेकै छ। केही ठुलो असर छैन,’ मैले जवाफ फर्काएँ।
बिदा त लिन्थेँ होला तर म त्यहाँ रशुकै लागि भनेर गएको थिएँ। उनले ‘के भयो?’ सोध्नेछिन् कि। मतिर अलि ध्यान राख्ने हुन् कि? अलिकति भए नि ख्याल राख्ने हुन् कि?
तर अचम्म, उनले मेरो ख्याल राख्नु त परको कुरो, मनिर आएर सोधपुछ नि गरिनन्। त्यति हुँदा नि आशा मरेको थिएन।
अफिसमा सबै जना भएर होला। अफिसपछि पक्कै उनको मेसेज आउनेछ। मसँग भेट्नेछिन्। म ढुक्क थिएँ।
अफिस सकियो। म रुम पुगेँ। न कुनै मेसेज आयो न त फोन नै। म पर्खिरहेँ तर त्यो पर्खाइ व्यर्थ थियो।
मनमा एउटै प्रश्न थियो- ‘के रशु साँच्चिकै मानव नै हो नि?’
‘के उनमा भावना र संवेदना बाँकी छ र?’
‘माया नै गर्न नसके नि दया देखाउन त सक्थिन् उनले।’
‘कति झुटो रहेछ त्यो भेट र नजिकपन।’
त्यो दिन महसुस भयो; म हुनु नहुनु, बाँच्नु मर्नुले त उनलाई रत्तीभर फरक नपर्ने रहेछ। त्यो क्षण मलाई रशुमाथि घृणा लाएर आयो। त्यो आँखा झुटो लाग्न थाल्यो। त्यति भावनाविहीन त उनी कसरी हुन सक्छिन्?
हिजोको घटनाले म निकै स्तब्ध थिएँ। म रिसाहा होइन तर हिजो मैले रिस त्यो ऐना र आफूमाथि पोखेँ। सायद मेरो मानसिक अवस्था बिग्रिँदै थियो कि? तर म ठिक हुन चाहन्थेँ। म अब त्यो तितो बन्धनबाट मुक्त हुन चाहन्थेँ। म फेरि खुसी हुन चाहन्थेँ। र अन्त्यमा मैले त्यो अफिसबाट सरुवा हुने निर्णय लिएँ। एक महिनामै मैले अफिस छाडेँ।
अफिस छोड्नभन्दा अगाडि म रशुसँग अन्तिम चोटि भेट्न चाहन्थेँ। मैले उनलाई मेसेज नि गरेँ।
‘एक पटक भेटौँ न।’
‘भोलि’ उनले भनिन्। त्यो भोलि अझै नि आएको छैन। अब त त्यो ठाउँ छोडेको नि दुई वर्ष भइसक्यो। कसलाई के नै याद होला र?
अझै नि म रशु र उनको यादको लतबाट मुक्त हुन सकेको छैन। हुन सक्दिनँ पनि सायद।
‘उनले मलाई सामाजिक सञ्जालमा ब्लक त गरिनन् नि?’
‘मेरो स्टोरी र पोस्टमा केही रियाक्ट गरिन् कि नाइँ?’
‘त्यो जूनलाई हेर्दा उनी मलाई याद गर्छिन् कि नाइँ?’
‘नारायणी किनारमा जाँदा मेरो याद आउँदो होला कि नाइँ?’
रशु, तिमीलाई मेरो सम्झना आउँछ कि नाइँ?