त्यो रात मलाई याद छ छोरा
तिमी यो संसार हेर्ने व्यग्र प्रतीक्षामा थियौ
नौ महिनादेखि अनेक सपना बुनेका हामी
तिमीलाई यो संसारमा स्वागत गर्न हतारिएका थियौँ।
प्रसव पीडामा बेहोस बनेकी तिम्री आमालाई
हस्पिटल लिएर दौडिँदा
मेरा मनमा अनेक कुरा खेलेका थिए छोरा
अतासिएको थियो मन
तर त्योभन्दा धेरै व्यग्र थिएँ म— तिमीलाई हेर्न।
अलिकति शून्यताले, अलिकति उमङ्गले
अनि अलिकति अत्यासपनले
अलिकति चिसोपनले
अलिकति लाजले, अलिकति व्यग्रताले
खुम्चिँदै, चिसिँदै र प्रफुल्लित हुँदै
हामी हस्पिटल पुगेका थियौँ छोरा।
जब तिमी यो संसारमा आउने समय थाहा दिइयो
कसरी वर्णन गरूँ त्यो क्षणको?
छोरा, म शून्य थिएँ त्यो क्षणमा
भोलि तिमी मेरै सामु उपस्थित रहनेछौ भन्ने खबर
जीवनमा सुनेका अन्य सबै खबरभन्दा पृथक् थियो, मेरो लागि।
म आतुर थिएँ त्यो समयको लागि
अहिले याद छैन के-के भयो त्यो बिचमा
मात्र तिम्रो प्रतीक्षाले
मेरो मन, मस्तिष्क शून्य बनाएको थियो।
र… आयो त्यो समय
तिम्री आमालाई ‘अपरेटिङ थिएटर’ लग्दा
म एक्लो भएको थिएँ
सायद संसारकै सबैभन्दा ठुलो खुसी प्राप्त गर्न
त्यति सहनु नै पर्थ्यो मलाई
म त तिम्रो कल्पनामा हराइसकेको थिएँ छोरा।
तिमी पनि त यो संसारमा
कसैलाई देख्दै थियौ भने
पहिलो व्यक्ति मलाई देख्ने वाला थियौ
तिम्री आमा तिमीलाई जन्म दिएर
केही समय विश्राम लिइरहेकी थिइन्
म त्यही भाग्यशाली बनेँ
जो तिम्रो आँखा अगाडि उभिने
पहिलो व्यक्ति बनेँ छोरा।
जब मैले पहिलो पटक तिमीलाई देखेँ
मेरा आँखा रसाएका थिए—
सायद खुसीले होला
मलाई त्यो पनि थाहा छैन छोरा
म त मात्र तिमीभित्र हराएको थिएँ।
मेरा अनुभूतिहरूलाई
अनुभवसम्म गर्न सकेको थिइनँ मैले
गर्न समय पनि थिएन सायद—
म तिमीभित्र यसरी हराएको थिएँ
त्यो क्षणलाई वर्णन गर्न सक्ने शब्द
वर्णमालाले पनि अझै भेट्टाएको छैन।
जब मैले तिमीलाई पहिलो स्पर्श गरेँ,
मलाई यस्तो लागेको थियो—
आफूलाई नै रित्याई, सम्पूर्ण तिमीलाई समर्पण गरेँ जस्तो
संसारको सबै खुसी मैले नै पाएको जस्तो
मेरो जीवनमा अहिलेसम्मकै
सबैभन्दा ठुलो बहार आएको जस्तो।
छोरा, सायद तिमीलाई पनि
त्यस्तै भएको थियो होला
ठुलो भएर, तिम्रा अनुभूतिहरू पनि
मलाई यसरी नै सुनाउनु है।
अब म ती अनुभूति सुन्न चाहन्छु छोरा—
तिम्रा सफलताका अनुभूति
जसरी तिमीले जन्मने बित्तिकै देखेको
पहिलो व्यक्ति बन्ने सौभाग्य पाएको थिएँ
त्यसै गरी तिम्रा हरेक सफलताको
साक्षी बन्न चाहन्छु म
ती सौभाग्यहरू पनि मलाई दिनु ल।