सहर चकमक थियो। बत्तीहरू टिमटिमाउँथे। सडकहरू चिल्ला, मान्छेहरू छरितो, समय घडीले खिचेजस्तो— र म? म त्यो सहरभित्र एक मौन ध्वनि थिएँ जुन कसैले सुन्दैनथ्यो।
जापान नक्सामा सानो देखिने तर सपना बनाउन ठुलै लाग्ने देश। यहाँ आइपुग्दा सबै कुरा नयाँ थियो तर त्यस नयाँपनको भित्र कतै, एक अनजान शून्यता थियो, जसमा म हराउँदै थिएँ। दिनमा कलेज, रातमा काम। मनोविज्ञान पढ्ने कक्षामा बसेर म आफैँलाई बुझ्न संघर्ष गरिरहेको थिएँ।
म जापानी व्याकरण पढ्दै थिएँ तर मनभित्रका भावनाहरू टुक्रा-टुक्रा भइरहेका थिए। साँझमा जब अरूलाई जोडीहरूमा हिँड्दै देख्थेँ, म आफ्नो छायासँगै फर्किन्थेँ। झ्यालबाट हेर्दै सोच्थेँ— ‘म यहाँ किन आएको त?’
मनमा आवाज आउँथ्यो— ‘तिमी त सपना लिन आएको थियौ नि!’
तर त्यो सपना अब धुवाँ भएको थियो; अलिकति आँखा पोल्ने, अलिकति मन जलाउने। शरीर थाक्दैन थ्यो किनकि थकान बुझ्ने फुर्सद थिएन। तर आत्मा? आत्मा दिन–रात रित्तिँदै थियो, चुपचाप, नबोली जसरी म हाँस्दा पनि चिच्याइरहेको छु।
सायद यो नै हो परदेशको मौन संघर्ष जहाँ तिमी जिन्दगीसँग लडिरहेको हुन्छौ तर त्यो लडाइँ कसैले देख्दैन, कसैले सुन्दैन। जब रातको तातो राइसकुलेटरको बाफमा अनुहार लुकाउँछु, मनले भन्छ— ‘भोलि फेरि लड्नुपर्छ।’
जहाजले जापानको भूमिमा टेक्यो र मेरो मुटु एकछिनलाई रोकेको जस्तो लाग्यो। मनमा एक आवाज गुन्जियो- ‘अब फर्किने बाटो छैन।’ जसरी ढोका खुल्यो, म टाढाको दुनियाँमा टेकेँ— एकदमै नयाँ तर एकदमै अनौठो शान्त।
एयरपोर्टभित्रको झलमलले मेरो आँखा झन् अझ अन्धकारभित्र धकेलिरहेको थियो। एउटा दिशामा मान्छेहरू हिँडिरहेका थिए तर मलाई लागिरहेको थियो— म कहाँ हिँड्दै छु भनेर थाहा छैन।
मेरो नाम लेखिएको प्लेकार्ड लिएर एक जना जापानी सेन्सेई उभिनु भएको थियो। उहाँको अनुहारमा हल्का मुस्कान थियो तर त्यो मुस्कानभित्र पनि मेरो अनजानपन मेट्ने शक्ति थिएन। उहाँले केही कुरा जापानीमा भन्नुभयो, म मुस्कुराएँ र मेरो पहिलो जापानी वाक्य बोलेँ ‘वाकारिमासेन’। त्यही एक वाक्यमा मैले आफ्नो अस्तित्व बुझाएँ— ‘म बुझ्दिनँ।’
त्यही शब्दले मेरो आत्मा खोल्न थालिसकेको थियो। ट्याक्सीको झ्यालबाट बाहिर हेरिरहँदा म सोचिरहेको थिएँ— ‘अब मेरो जिन्दगी कसरी बन्ने हो?’ मन गहिरो थियो, अनुहार चुपचाप र छातीभित्र एउटा ठुलो भित्री चिच्याहट दबिएको थियो। होस्टेल पुग्दा ढोका खोल्ने आवाज आयो। त्यही क्षण एक यस्तो मोड आयो जसले मलाई आँखा रसाउने मुस्कान दियो।
तीन जना अनुहार; अनिल भट्ट, सन्दीप खनाल र दुर्गेश खड्का। नेपालमै चिनिएका साथीहरू— त्यही कन्सल्टेन्सीका जहाँ हामीले सपना बोक्ने अभ्यास गरेका थियौँ। उनीहरू मभन्दा केही दिन अगाडि जापान आइसकेका रहेछन्। त्यही कोठामा, त्यही ओछ्यानको छेउमा उनीहरू थिए। उनीहरू मलाई हेरिरहे, म पनि स्तब्ध भएर हेरिरहेको थिएँ।
‘ब्रो!’ को स्वर आयो र त्यसको पछाडि आँसु लुकाइएको थियो। त्यो दिनको थकाइ, डर, अलमल एकछिनमै ती अनुहारहरूले पगालिदिए। हामी एकअर्कालाई टोलाउँदै, केही नबोली तर मनमनै भनेजस्तै थियौँ— ‘अब त केही ठिक हुने छ।’
हामी एउटै संघर्षमा थियौँ— दिनमा भाषा बुझ्ने, रातमा शरीर घिसार्ने र बिहान फेरि आफूलाई सम्हालेर जिन्दगी सुरु गर्ने। भान्सामा कोही भात पकाउँथ्यो, कोही तातो पानी तताउँथ्यो, कोही चुपचाप सँगै बस्थ्यो। त्यो मौन बसाइँमा पनि माया बोल्थ्यो। हामीसँग खासै कुरा गर्ने समय थिएन तर एक–अर्कालाई बुझ्ने क्षमताले भरिएको हृदय थियो।
सबैभन्दा सुन्दर कुरा, हाम्रो कहिल्यै झगडा भएन। सायद किनभने हामी बुझ्थ्यौँ हामी सबै थाकेका थियौँ, हामी सबैको पीडा उस्तै थियो र हाम्रा हाँसोहरू त्यो पीडामाथि टाँसिएको एक किसिमको सम्बल थियो। सामान्य कुरा, सानो गल्तीहरू पनि मुस्कानमा परिणत हुन्थे किनकि हामी बुझ्थ्यौँ— ‘जीवन नै गाह्रो छ, साथीहरूबिच सहजता त अनमोल हो।’
त्यो माया थियो जहाँ शब्दभन्दा व्यवहार ठुला थिए। जहाँ ओछ्यानको चिसो पनि साथीको उपस्थिति र मायाले तात्थ्यो।
हामी हाँसिरहेका थियौँ। फोटोमा, फेसबुक स्टोरीमा, साथीहरूबिच। तर त्यो हाँसो साँचो थिएन— त्यो त मौन चिच्याहट छोप्ने पर्दा मात्र थियो। म रातभर यामाटो कम्पनीमा काम गर्थेँ। बक्स उठाउने, ट्रकमा सामान राख्ने, लाइनमा उभिएर पसिना बगाउने। त्यो पसिना केवल शरीरबाट निस्केको होइन— त्यो त भित्रको चपक्क थिचिएको थियो जसले झन् गहिरो पीडा छोड्थ्यो।
रातभर काम सकेर बिहान कलेज जानु केवल पढ्नको लागि होइन, त्यो त जिन्दगीसँग प्रतिस्पर्धा गर्ने मैदान थियो। आँखा किताबमा हुन्थ्यो तर दिमाग निद्रामा हराइरहेको हुन्थ्यो। कहिलेकाहीँ टिचरले सोध्नुभयो— ‘दौसिता? नेमुई?’ मैले मुस्कुराएर भनेँ— ‘दाइजौबु देसु…।’ तर त्यो मुस्कानभित्र के-के लुकेको थियो, कसैले कहिल्यै बुझेन।
कोठामा फर्किँदा साथीहरू भेटिन्थे, हामी सँगै हाँस्थ्यौँ, खाना बनाउँथ्यौँ, गीत गुनगुनाउँथ्यौँ तर हरेक हाँसोभित्र एउटै आवाज थियो— ‘म थाकेँ।’ तर त्यो थकान देखाउने फुर्सद कहाँ थियो र?
घरमा फोन गर्दा आमा सोध्नुहुन्थ्यो— ‘बेटा, ठिक छ त?’ र म भने भन्थेँ— ‘छ आमा, मज्जा छ!’ त्यो झूट बोल्न जरुरी थियो किनकि आमा आकाश हेरेर प्रार्थना गरिरहनु भएको हुन्थ्यो। रातभर म आफूलाई सम्झाइरहन्थेँ— ‘सकिन्छ, सब ठिक हुन्छ’
तर कहिलेकाहीँ ओछ्यानमा लम्पसार परी आँखा बन्द गरेर सोच्थेँ— ‘के साँच्चै ठिक हुन्छ?’ म त बाँचिरहेको थिएँ तर त्यो बचाइ केवल श्वास फेरिरहनु थियो, जसले जिन्दगीको स्वाद बिर्सिसकेको थियो।
थकान धेरै थियो, बोझ गह्रौँ थियो र मन कहिलेकाहीँ बिनसित्ति रुन्थ्यो। तर त्यसै थकाइको भित्र कतै सानो उज्यालो पल्टिन थालिसकेको थियो। एक दिन यामाटोको सिफ्टबाट फर्केर कलेज गएका बेला सिर्जना लेख्ने अभ्यासमा टिचरले मलाई हेरेर भने— ‘तपाईंको जापानी राम्रो हुँदै छ है।’
त्यो वाक्यले मनको गह्रौँ ढोका खोलेको जस्तो लाग्यो। पहिलो पटक कसैले मेरो भित्रको प्रयास देखेको थियो। त्यो साँझ कोठामा फर्किएपछि मैले ऐनामा हेरेँ, आँखा अझै थाकेका थिए तर त्यहाँ एउटा सानो चमक थियो— जुन ‘तिमी अघि बढ्दै छौ’ भन्थ्यो।
अरू दिनहरूमा पनि साथीहरूले एक–अर्कालाई हौसला दिन थाले— ‘ब्रो, तँ त लिस्टेनिङ राम्रो बोल्न थालेको छस्! बिहान कलेज त राम्रो जान थालेको छ है!’ यी सामान्य लाग्ने वाक्यहरू हाम्रो दिनको सबभन्दा ठुलो शक्ति हुन्थे।
एक दिन मेरो हातबाट गल्ती भयो— एक जना जापानी ग्राहकलाई केही बुझाउन खोज्दा भाषामा अलमल परेँ। तर त्यो ग्राहकले हाँसेर भनिन्— ‘ठिक छ, हिम्मत नछोड।’ त्यो वाक्य मलाई आत्मामा गढेजस्तो लाग्यो।
अब थोरै थोरै परिवर्तन आउन थाले, भाषा सहज हुन थाल्यो, काममा गति थपिन थाल्यो, मनभित्र आत्मविश्वास फुल्न थाल्यो। ती सबै क्षणहरू साना थिए तर तिनले मलाई सम्झाए— सपना केवल ठुलो हुनु पर्दैन, सपना त सानै छायामा पनि पालिन सक्छ। म अझै पनि संघर्षमै थिएँ तर अब त्यो संघर्षले मलाई कुचलिरहेको थिएन। बरु मलाई बलियो बनाइरहेको थियो।
अब सम्झिँदा त्यो दिन यस्तो लाग्छ जसरी कुनै चुपचाप गीतले अन्तिम अन्तरा गाएको होस्, जहाँ शब्दहरू थामिएका थिए तर आँखाले सबै बोलेका थिए। घरको आँगनमा त्यो चियाको कप अझै याद छ जहाँ आमाले हौसला दिन हाँस्न खोजिरहेकी थिइन् तर त्यो हाँसो आँसुभित्रै हराइरहेको थियो।
बुबाले मलाई हेरेर चुपचाप निहुरिनु भयो। सायद उहाँले भन्न चाहनुभएको थियो- ‘हाम्रो सपना बोकेर हिँड्नु, छोरा।’ तर शब्दभन्दा विश्वास गहिरो हुन्थ्यो। मैले बिस्तारै आफ्नो झोला काँधमा हालेँ। त्यो झोला लुगाको मात्र थिएन; त्यो त १६ लाखको ऋण, सपना, जिम्मेवारी, डर र हिम्मतको बोझ थियो।
त्यो गेटबाट बाहिर निस्कँदा मैले फर्केर हेरेँ; घर, आँगन, त्यो ओछ्यान, आमा रोइरहेको अनुहार सबै टाढिँदै थिए तर मनभित्र गहिरिँदै थिए। एयरपोर्ट पुग्दा मानौँ म अब अर्को संसारमा पाइला टेक्दै थिएँ। तर त्यो यात्राको सबभन्दा भारी मोड थियो— आफ्नैलाई छोडेर, आफैँलाई खोज्न हिँड्नु।
त्यो बिदाइ, त्यो झोला बोकेको पल, त्यो आँखा रसाउने सास अब अझै गहिरो लाग्छ। किनभने म जान्दछु त्यो दिन मैले एक मात्र सपना होइन, पूरै जीवन बदल्ने हिम्मत बोकेको थिएँ।
मैले धेरै पटक बोल्न खोजेँ तर शब्दहरू भित्रै थुनिए। केही कुरा थिए जो बोल्दा पनि बुझिँदैन थिए, केवल महसुस गर्न सकिन्थ्यो। म यहाँ लेख्दै छु किनभने म बोल्न सकिनँ। म बाहिर हाँसिरहेको थिएँ तर भित्र कतै एउटा चिच्याउने मौनता मभित्रै बन्द थियो।
म बाहिर ‘ठिक छु’ भनेर हिँड्थेँ तर ओछ्यानमा पर्दा आँखाबाट निस्किएको एउटा असह्य सास मात्रै बाँकी रहन्थ्यो। सायद यो जापानमा बाँच्ने कथा सबैका लागि एउटैजस्तो देखिन्छ- काम, पढाइ, भाषा, पैसा। तर ती समान देखिने कथाहरू भित्र अत्यन्त फरक मौन आवाजहरू हुन्छन्।
कोही ‘म घर सम्झन्छु’ भन्न सक्दैन किनभने घरमा बोल्यो भने उता डर, निराशा र पीडा फैलिन सक्छ। कोही ‘म थाकेँ’ भन्न सक्दैन किनभने यहाँ बाँच्न अझै सय दिन बाँकी छन्। म पनि यिनीहरू मध्ये एक थिएँ— मौन थिएँ तर भित्रभित्रै हर रात चिच्याइरहेका थिएँ।
अब म लेख्दै छु किनभने यो मौनता अब मौन रहन मिल्दैन। म लेख्दै छु ताकि अर्को कुनै नेपाली युवा जो एउटा सानो कोठामा एक्लो परेर ‘के म ठिक छु?’ भनी आफैँसँग लडिरहेको छ, उसले महसुस गरोस्— ‘तँ एक्लो छैनस्।’
यो कथा मेरो मात्र होइन— यो त हजारौँ मौन आत्माहरूको आवाज हो जो बोल्न सकेनन् तर बाँच्दै गएका छन्। अब तिनीहरूको आवाज शब्दमा बाँधिएको छ। यो मौन आवाज अब चुप बस्ने छैन।