पुसको महिना धुम्म, माथिबाट बादलले घेरेको सिउँदो झैँ शीतका थोपा चुहिन्थे। करिब पुसको १५ भएर होला, कठ्याङ्ग्रिँदो चिसोले काठमाडौँ अझै छोडेको थिएन।
त्यत्तिकैमा ४/५ पटकको अलार्मले उठाउन नसकेको मलाई एउटा फोनले उठायो— साथी श्याम रहेछ। उताबाट अलिक टाठो आवाज आयो, ‘अरे यार, कता हो तँ? छिटो गार्डेनमा आइज!’
त्रिचन्द्रको गार्डेन— अलिक धेरै देशको चिन्ता अनि केही कम आफ्नो। त्रिचन्द्रका नेता दाइहरूको गफ सुन्दा लाग्छ, अब देश यहीँबाट बन्छ। त्रिचन्द्र आउन त्यत्तिकै सजिलो भने छैन। अलिकति मन त पुतलीसडकका कन्सल्टेन्सीहरूले नै बहकाइदिन्छन्।
त्यत्तिकैमा म बानेश्वरबाट नेपाल यातायातमा भीड छिचोल्दै बागबजार बसपार्कतिर उर्लन्छु। क्लासभन्दा बढी हाम्रो बास चिया पसलमै हुने भएकाले होला, चिया पसले दाइले हामी पुग्दा नपुग्दै चिया बनाइसकेका थिए।
त्यत्तिकैमा एउटा साथीले मुखबाट फुत्त आवाज निकाल्यो, ‘यो साथी पनि आज कोरिया उडेछ यार। त्यो साथी पोर्चुगल गएको तीन वर्ष भइसक्यो। साथी रामु त ९० लाख तिरेर अमेरिका लागेछ।’
हामीसँग अरू कुनै विकल्प थिएन। हामी जीवनभर कमाएको सर्टिफिकेट भुइँमा बिछ्याएर कोरिया गएका साथीले बनाएको घर हेर्थ्यौँ, पोर्चुगल गएका साथीले बुबालाई पठाइदिएको लाखको बिटा गन्दिन्थ्यौँ।
त्यही समयमा कसैले ‘के गर्दै छस् आजभोलि?’ भनेर सोध्दा पनि तीन फन्का घुमाएर नाकको डाँडी भाँच्ने गरी हिर्काउन मन लग्थ्यो।
त्यत्तिकैमा अर्को साथीले चुरोटको खिल्ली सल्काउँदै भन्न थाल्यो, ‘जिन्दगी चुरोट जस्तै हो, सुरुमा रमाइलो अनि फिक्का र अन्तिममा केही गाढा।’
बस्दा बस्दै हामीले एउटा अठोट लियौँ— अब हामी पनि विदेश जाने।
प्रश्न उठ्यो- कहाँ?
युके जाने! लन्डन!
एकछिन म लन्डनमै हराउन थाले— लन्डन ब्रिज, चिसो हावा, ब्राण्डेड ब्राण्डेड रक्सी।
त्यत्तिकै सोचमा हराइरहेको बेला प्रसंग निस्कियो, ‘कति लाग्छ?’
४० लाख।
फेरि सोच्न थाल्यौँ; घर, खेत, आँखा, किड्नी, गाउँ नै बेच्दा पनि ४० लाख जुटाउन मुस्किलै थियो।
अनि अर्को विकल्प?
अमेरिका! त्यो पनि पूरा छात्रवृत्तिमा रे।
मक्ख हुँदै अर्को दिनदेखि आइईएलटिएस पढ्न थाल्यौँ। तीन महिना पढेपछि जनतन ७ आयो। हेर्दा हेर्दै भिसा इन्टरभ्युको मिति आयो। सर्लक्क कोट, प्यान्ट, जुत्ता, टाई लगाएर अमेरिकी एम्बेसी छिरियो।
भिसा अफिसरले भन्यो, ‘हाहा, यो पटक हामी तपाईंलाई भिसा दिन सक्दैनौँ।’
अझै पनि त्यो बोली झलझली सम्झिन्छु। त्यो बेला उसलाई मनभरिको पीडा सुनाउन मन लागेको थियो— क्यालिफोर्नियाको हलिउड जङ्गल, न्यूयोर्क टावर, टेक्सासको सहर, डलर छाप्ने रहर, बुबालाई अमेरिका घुमाउने सपना। सबै चकनाचुर भयो।
गार्डले निकाल्यो। फुत्त बाहिर फालिएँ। आँखा रसाए, हातमा पहेँलो स्लिप थियो। त्यत्तिकैमा घरबाट फोन आयो— उठाउनै सकिनँ।
नुन खाएको ढुकुर जस्तै लुत्रुक्क परी फेरि त्रिचन्द्र जान थालेँ। केही साथी भने अब लोक सेवाको अठोट लिएर पढ्न थाले। म चाहिँ अझै विदेशकै सपना बुन्न छोडेको थिइनँ।
पुतलीसडककै एउटा कन्सल्टेन्सीको दाइले गफमै हुरुक्क पार्न थाले, ‘जापान, १२ लाखमै, विद्यार्थी भिसामा पुगिन्छ। महिनाको ३ लाख घरमै पठाउन सकिन्छ भाइ!’
यति भन्नासाथ म आफैलाई सम्हाल्न सकिनँ। घरमा नभनी ५० हजार र ओरिजिनल डकुमेन्ट अर्को दिन नै बुझाएँ।
हिरागाना, कताकाना पढ्न सुरु गरियो। गाउँतिर त यसलाई गाई खाने भाषा भन्छन्। 'हजिमेमाशिते', 'अनातानो', 'खाईमाश गैमास', 'वतासिनो नमयेवा'... खै के के हो, के के!
जनतन पढ्दै गर्दा १० जनामा २ जनाले मात्र भाषा पास गर्यौँ। पक्का भयो, मेरो भिसा नआए अरूको त आउँदैन।
कन्सल्टेन्सीमा पनि चहलपहल बढ्न थाल्यो। बेलाबेला म आफै पढाइदिन्थेँ।
हेर्दा हेर्दै भिसा आउने दिन आयो। एक दिन बैंकमा थिएँ, ०१७........ नम्बरबाट कल आयो।
उताबाट मधुरो स्वरमा भनियो, ‘सरी भाइ, तिम्रो भिसा आएन।’
साथीको सोधेँ, आएको रहेछ। १० जनामा ९ जनाको भिसा आयो रे।
फोन नकाट्दै नजिकैको कुर्सीमा थचक्क बसेँ। आफूलाई सम्हाल्न सकिनँ। जनतन मन भने बुझाउन पर्ने रहेछ, बुझाइयो पनि।
साथीको सबै काम सकियो। हेर्दा हेर्दै उड्ने दिन आयो। केही बोल्न सकिनँ, त्यत्तिकैमा बिदा गरियो।
जिन्दगीभर कमाएको त्यो एउटै साथी थियो— रुँदा आँसु पुछिदिने, हाँस्दा सँगै हाँसिदिने, काँध थामिदिने। र, त्यो पनि लाग्यो मुगलान तिर— कहिल्यै नभुल्ने वाचासहित।