आफ्नैका हातहरू समात्न खोज्छु
कतिखेर आफैलाई लत्त्याइदिन्छन्
पत्तै नपाई समय घर्किसकेको रहेछ
कायल भइसकेँ आफ्नैका हातहरूबाट
म थाकेँ आमा आफ्नै कथाहरूबाट।
विश्वास बनाउन खोज्छु आफ्नैहरूमा
कतिखेर आफ्नै धोका बनिसकेको हुन्छ
पत्तै नपाई समयले छोडिसकेको रहेछ
कायल भइसकेँ आफ्नैका विश्वासहरूबाट
म थाकेँ आमा आफ्नै विश्वासहरूबाट।
सिरानी बनाउन खोज्छु काखहरूलाई
कतिखेर आफ्नै कफन बनिसकेको रहेछ
पत्तै नपाई स्वार्थहरूले छोडिसकेको हुन्छ
कायल भइसके आफ्नैका काखहरूबाट
म थाकेँ आमा आफ्नै स्वभावहरूबाट।
धर्ती टेक्दाटेक्दै स्वाद बिर्सने रीतिहरूलाई
कतिखेर आकाश पल्टन्छ भन्ने कल्पनामा
पत्तै नपाई प्रकृतिले लत्त्याइसकेको हुन्छ
कायल भइसके आफ्नैका प्रवृत्तिहरूबाट
म थाकेँ आमा आफ्नै हातका रेखाहरूबाट।
प्रत्येक पाइलाहरूलाई आफ्नै मात्र बनाउन खोज्छु
कतिखेर कुन्नि कसको पाइलाहरूमा हिँडिदिन्छु
यन्त्रवत इच्छाहरूमा आफ्नै उत्सर्ग गरिरहेछु
न छिटो हिँड्न सक्छु न पुरानैमा फर्किन सक्छु
म थाकेँ आमा आडम्बरी जीवनको गति देखेर।
हिजो आफैलाई नयाँ देख्थे नयाँ आशाहरू बनाउँथे
कतिखेर कुन्नि समयले हातहरू छोडिसकेको रहेछ
म हरदिन आफ्नै समयमा आफैलाई खोजिरहेँ
समय मलाई जिस्काउँदै क्षितिजमा हाँसिरहन्छ
म थाकेँ आमा आफ्नै समयको गति खोजेर।