मलाई लाग्छ
मैले यो देशको कुनै पार्टीको सदस्यता
सिरानीमा राखेर सुत्नु पर्छ म
कुनै पार्टीको सदस्यता पैतालामा राखेर हिँड्नु पर्छ म
कुनै पार्टीको सदस्यता शिरमा घुमाएर
कुनै पार्टीको सदस्यता निधारमा टाँसेर हिँड्नुपर्छ म
अनि बल्ल मलाई चैनसँग निद्रा पर्छ
अनि बल्ल मेरो भविष्य बन्छ
अनि मात्र मलाई डर हुँदैन मेरा कुनै पनि क्रियाकलापमा
कहिलेकाहीँ
सपनीमा कुनै पार्टीको नेता आउँछ र सोध्छ
हाम्रो सदस्यता छ?
म छैन भन्छु
उसले मेरो निद्रा लिएर जान्छ
म निदाउन पाउँदिनँ
म त निदाउन नपाएको मात्र हुँ
यहाँ कत्तिको मन्त्री फुत्किएको छ
कत्तिको पेन्सन हुन लागेको जागिर
कत्तिको कार्यकारी कुर्सी
कत्तिको प्रधानाध्यापक
कत्तिको शिक्षण पेसा
कत्तिको कम्प्युटर अपरेटर
कत्तिको सहायक कर्मचारी
कत्तिको कृषि अनुदान
कत्तिको पिउन पद
कसैले फेरि सोध्छ
हाम्रो पार्टीको सदस्यता लिएको छ?
एक मनुवा छ हजुर भन्छ
छ हजुर भनेकै भरमा तोक आदेश लाग्छ
आजकै मितिदेखि लागू हुने गरी
ऊ मन्त्री बन्छ
आजकै मितिदेखि लागू हुने गरी
ऊ कार्यकारी बन्छ
आजकै मितिदेखि लागू हुने गरी
ऊ नगरपालिकाको सहायक कर्मचारी बन्छ
ऊ कम्प्युटर अपरेटर बन्छ
ऊ प्रधानाध्यापक बन्छ
ऊ पिउन बन्छ
उसले लाखौँको कृषि अनुदान पाउँछ
उसले बाख्रा पाल्ने सहुलियत ऋण पाउँछ
छोराले करार जागिर पाउँछ
छोरीले प्रतिष्ठानमा नियुक्ति पाउँछ
सालोले स्वकीय सचिवको पद पाउँछ
अरू के के पाउँछ
सबै लेख्न थाल्यो भने त यहाँ कहाँ अटाउँछ?
याद छ त्यो को हो?
त्यो मान्छे त्यही हो
जो
नेता/मेयर/मन्त्रीको सार्वजनिक कार्यक्रम हुँदा
फोटोमा सबैभन्दा नजिक देखिन्छ
सबै जसो फोटोमा सँगै देखिन्छ
फेसबुकमा सधैँ जसो स्ट्याटस हाल्छ र उसैको गुणगान गाउँछ
कामभन्दा धेरै प्रतिवादमा उत्रन्छ
इच्छाअनुसार गाडी चलाउँछ
इच्छाअनुसार बिल तेर्स्याउँछ
इच्छाअनुसार भुक्तानी पाउँछ
अनि अझ आफ्नै तोकले अर्कोलाई
करारको जागिर खुवाउँछ
लोक सेवाको सिफारिसमा आएको मनुवा कुनामा थन्काउँछ
र
सदस्यता नियुक्तिले जिम्मेवारी तोक्दै हैकम चलाउँछ।
मलाई थाहा छ
मलाई यो देशमा कुनै पार्टीको सदस्यता नलिएसम्म
मेरो वृत्ति विकास हुन सक्दैन
मेरो सिफारिस कुनै पुरस्कार
वा
कुनै नियुक्तिमा हुन सक्दैन
कुनै सरुवा र बढुवामा हुन सक्दैन
यो देशमा
मलाई सबैभन्दा गाह्रो भनेको
बिना कुनै पार्टी सदस्यता
यही देशमा नागरिक भएर बाँच्नु हो।