उसलाई देखेर मनमा अनेक प्रश्न उब्जिरहेका थिए, भावनाका तरंग बगिरहेका थिए तर मैले धेरै पटक आफूलाई रोक्ने कोसिस गरिरहेँ!
प्रायः सहरका गल्लीहरूमा अनेकौँ मानिस हिँडिरहन्छन्। जसलाई देख्यो उसैलाई गएर आफ्ना भावना पोखिहाल्नु पनि त राम्रो कुरा होइन। बरु कहिलेकाहीँ केटाहरू सँगै भएको बेला टाढैबाट आहा क्या राम्री! ओइ त्यो तेरो भाउजू हो हेर्दै नहेर् न त्यहाँ भनेर जिस्किँदै हिँड्न सकिन्छ।
जेठ वैशाखको गर्मीमा धनगढीका रोडहरू त्यति धेरै चहलपहल देखिँदैन। यता कता देखिहाले पनि कलेजको गेटतिर अटो रिक्साबाट झर्दै छाता ओढिरहेका देखिन्छ। हो ठ्याक्कै त्यसरी नै आजभन्दा करिब चार वर्षअघि देखेको हुँ मैले पनि उनलाई, कैलाली बहुमुखी क्याम्पसको गेटमै।
हातमा गुलाबी छाता, आँखामा चस्मा, साइडमा एक काने ब्याग। हो, त्यही दिनदेखि हो मैले मेरो मनभित्र कसैको आकृति कोर्न थालेको। उसको अगाडि परिरहूँ, बरु झुटो बोलेरै किन नहोस् उसको मुस्कानमा हाँसो देखिरहन पाउँ अनि बेलाबेला फोन र म्यासेजमा बोलिरहन पाउँ। यही होइन र प्रेमको वास्तविकता?
कहिलेकाहीँ बाटोमा देखिएका चिज आफ्नै अगाडि त्यो पनि ३/४ वर्षसम्म आफ्नै समीपमा रहने कुराले मन कति हर्षित हुन्छ! मन फुट्ने गरेर खुसी हुन्छन् भन्छन् नि मान्छे, हो त्यो यस्तै पलको लागि भनेका होलान्। मैले आकाशमा झुल्किरहने जुन मेरो छेउमै पाएको थिएँ।
बिबिए पहिलो सेमेस्टरको कक्षा सुरु भयाे। कक्षामा अछाम, बाजुरा, डोटी, कैलाली लगायत धेरै जिल्लाका विद्यार्थीहरू थिए। पहिलो दिन सबैसँग हेलो, हाइ गर्दै बित्यो। मैले उनलाई नजिकबाट नियालेर हेरेको त्यही पहिलो दिन हो।
कोट र पाइन्टमा सजिएकी उनी थोरै चन्चले, मुसुक्क मुस्कुराइरहने अनि बेला बेला कक्षाको अघिल्लो बेन्चमा बसेर सरहरूसँग पढाइको बारेमा सोधिरहने। उसलाई देखेर मनमा प्रेमको हावा चल्न थालेको थियो।
कति कुराहरू त भ्रम नै ठिक छन्, सत्य थाहा भयो भने दिल टुट्ने गर्छ। त्यसैले मैले पनि उनको बारेमा धेरै अध्ययन नगरेरै प्रेम गर्न थालिसकेको थिएँ।
कलेज लाइफ सकिँदै थियो। साथीहरूबिच अब त टाढा हुन्छौँ है भन्ने कुराहरू चल्न थालिसकेको थियो, छुटिने दिनहरू पनि नजिकिँदै थियो।
मैले आजभन्दा अगाडि उसलाई प्रेमको भाव नदेखाएको पनि होइन। सँगै घुम्न जाँदा होस् या कलेजको कुनै कार्यक्रममा, धेरै पटक उनको अगाडि पर्ने कोसिस गरेको छु। प्रेम व्यक्त गर्ने कोसिस पनि नगरेको होइन।
म कति दिन उसलाई प्रेम व्यक्त गर्न नसकेकोमा बन्द कोठाभित्र आफै रोएको छु। एउटा कुरा थाहा छ? पुरुष मान्छेलाई कि उसको मन पर्ने स्त्रीले रुवाउन सक्छ कि मन पर्ने स्त्रीको यादले। नत्र त जिन्दगीमा जल्दै गरेको लासले पनि आँखामा आँसु ल्याउन सक्दैन।
कलेजमा हुने हरेक कार्यक्रममा उसको आफ्नै साथी सर्कल थियो। सुन्दर उनको केटा साथी नहुने कुरै भएन। केटाहरू नाच्नकै लागि उसको अगाडि पछाडि झुम्मिइरहन्थे। सायद उसका नजिक भएर होलान् उनी पनि तिनीहरूसँग खुब नजिक भइदिन्थिन्।
तपाईंहरूलाई लाग्दैन, के तपाइले मन पराउने मान्छेले अरूसँग सामाजिक दूरी कायम गरिदिओस्? कसैले उसको हात नसमाती देओस्?
जब आफूले माया गरेको मान्छेले कसैसँग खुलेर कुरा गर्छ, हाँस्छ, उसको आँखामा चमक देखिन्छ, त्यो देख्दा एकछिनको लागि सबै थोक रोकिएको जस्तो लाग्छ। म उनीसँग खुसी देखिन्छु तर भित्रभित्रै मन थाम्न गाह्रो हुन्छ। त्यो हाँसोमा म छैन भन्ने कुराले चिसो पस्छ मनभित्र।
जब कसैले उसको हात समाएको देखिन्छ, आँखा अगाडि अँध्यारो आउँछ जस्तो लाग्छ। त्यो हात त मैले समाउने सपना देखेको थिएँ तर अरू कसैको भयो भन्ने यथार्थले चिथोर्छ।
कति पटक त यस्तो लाग्छ, किन यस्तो माया गरेँ?
किन मन दिएँ त्यहाँ जहाँ म कहिल्यै नपुग्ने छु?
तर फेरि पनि मन मान्दैन, उसैलाई हेर्छ, उसैलाई सम्झिन्छ।
कक्षाकोठा भित्र सधैँझैँ ऊ अगाडि डेस्कमा बसिरहेकी थिई; कपाल छोडेर, किताबमा झुकेर, कहिलेकाहीँ साथीहरूसँग हाँस्दै। म भने पछाडि कुनामा बसेर एकोहोरो हेरिरहन्थेँ।
उनीलाई थाहा थिएन, म उसको अनुहार पढ्थेँ किताबभन्दा बढी। उसको हाँसो, उसको आँखा झिम्क्याउने तरिका, हातको चाल, सबै मेरा लागि कविता जस्तै लाग्थ्यो।
म जान्दथेँ- ऊ मेरो होइन तर मनले कहिल्यै मान्दैन थ्यो। उसले पानी पिउँदा छुने बोतल पनि मलाई अमूल्य लाग्थ्यो।
कहिलेकाहीँ उनी पनि निराश भएर पुगेकी हुन्थिन् मानौँ उसलाई कसैले आज नराम्रो भन्दियो वा उसले केही कुरा गुमायो। अक्सर कक्षामा किताबको पानाहरूमा हराइरहने ऊ कहिलेकाहीँ आँखाबाट चस्मा फुकालेर झ्याल बाहिर हेर्दै टोलाइरहन्थी। मानौँ उसका सपनाहरू झ्याल बाहिर हावामा उडिरहेका छन्।
मैले कहिल्यै भन्न सकिनँ- ‘म तिमीलाई मन पराउँछु।’
शब्दहरू मेरो गलामा अड्किन्थे। डर लाग्थ्यो यदि उसले मेरो नजरलाई हल्का ठट्टा ठानिहाली भने? यदि हाम्रो यो भौतिक नजिकको दूरी पनि हरायो भने?
ऊ मलाई देख्छे कि देख्दिन, थाहा छैन। तर म चाहिँ उसलाई हरेक दिन, हरेक क्षण हेर्छु— चुपचाप। कहिल्यै बोल्दिनँ, केवल मनभित्र उसलाई प्रश्न सोधिरहन्छु- ‘किन तिमी यति सुन्दर छौ? अनि किन म यति कमजोर?’
कसैलाई थाहा छैन कि त्यो बोर्डमा लेखिएको भन्दा बढी मैले उसका आँखामा पढेको छु। उसले लगाउने चस्मामा मैले आफ्नो आकृति देखेको छु। कसैलाई थाहा छैन कि त्यो एकै पलको नजरले पनि कति रात हराएका छन् मेरा।
ऊसँग म केही पनि होइन। सायद कहिल्यै केही हुने छैन पनि। तर मेरो लागि ऊ सम्पूर्ण कविता हो— जुन म हरेक दिन मौन स्वरमा दोहोर्याउँछु।
कलेजको त्यो अन्तिम दिन थियो। चार वर्ष एउटै कक्षा, एउटै समय, एउटै वातावरण तर फरक थियो त हाम्रो मनको संसार, म चुपचाप पछाडिको बेन्चमा बसेँ, ऊ सधैँझैँ अगाडि।
घामको किरण उसलाई चुमिरहेको थियो, झलमल्ल देखिँदै। उसले फर्केर हेर्न सक्थी तर हेरिन। म भने फेरि पनि उसैलाई हेरेँ, अन्तिम पटक।
घण्टी बज्यो। ऊ उठी, साथीहरूसँग हाँस्दै फोटो खिच्न लागी। टाढैबाट हेरेँ, त्यो हाँसोमै मेरो सपना थियो। कुनै बेला लाग्थ्यो— एक दिन म भन्नेछु सबै कुरा। तर आज? आज म चुपचाप थिएँ।
उसले मलाई देखी होला वा देखिन। तर म उसको नजिक गएँ। सामुन्ने उभिएँ।
हात हल्लाएँ— ‘बाइ…’
म त्यसै मुस्कुराएँ। मनमनै प्रश्न उब्जिरहेका थिए म किन बोलिनँ उनीसँग? कतै मेरो प्रश्नको जवाफ ‘एस’ पो हुन्थ्यो कि?
फेरि आफैले आफ्नै मनको प्रश्नको जवाफ फर्काएँ। हामीबिच प्रेम त केबल मैले एकतर्फी हेरेर मात्रै लगाएको थिएँ। म त केवल ‘हेरेर मात्रै बसेको प्रेम’ को पात्र थिएँ।