वैशाख महिना, वातावरणको तापक्रम बढिरहेको थियो। गर्मी छल्न निस्ती खोला लाग्थ्यौँ। दिउँसोभर खोलामा खेलेर घर फर्किँदा बाटोमा काफल, ऐँसेलु, तिजु खाँदै फर्कन्थ्यौँ। खोला जाने सधैँ प्रायः एउटा साथी हुन्थ्यो, नाताले भाइ।
सदाझैँ एक दिन खोला गयौँ। फर्किँदा बाटोमा काफल पाकेर रातै भएको देख्यौँ। रुख चढ्यौँ। खाँदा खाँदै साथीलाई जिस्काएँ, ‘काफल टिप्दे, तेरी भाउजूलाई लगिदिन्छु।’
‘ल हुन्छ,’ सहमति प्रकट गर्दै एक थैली काफल टिपिदियो।
साँझ उनलाई मेसेज गरेँ, ‘काफल कत्तिको मन पर्छ?‘
‘मन त किन नपर्ने नि? परिहाल्छ नि।’
‘ए! मैले टिपिदिएको छु, ल्याइदिऊँ?‘
‘भोलिसम्म त बिग्रेला नि, खानु भये?’
‘भोलिसम्म किन कुर्ने त, आजै आइपुग्ला नि खाने रहर भए।’
‘आज त रात पर्न लागिसक्यो।’
‘ए, मलाई रातले छेक्छ होला र?‘
अकमक्क भइन्। बुझेर नि नबुझे जसो गर्दै भनिनँ, ‘के भन्नु भएको?‘
‘हेर न बुझ पचाएको, राति भए नि ल्याइदिउँला नि।’
स्कुल पढ्दा फ्याट्ट देखेको बाहेक खासै नभेटेको मान्छे राति आउँछु भन्छ, तै पनि २/३ घण्टा जङ्गलको बाटो हिँडेर। हुन्छ भनौँ डर लागेको छ, हुन्न भनौँ रिसाइ पो हाल्छ कि! यस्तै अनेकौँ कुरा खेलाउँदै अन्तिममा भनिन्- ‘हुन्छ, तर एक्लै नआउनु यो जङ्गलको बाटो।’
अनुमति पाएपछि खुसीसाथ साँझको खाना खाएँ अनि दिउँसो काफल टिपिदिएको साथीलाई नै जाऊँ भने। ऊ पनि सहमत भयो।
निस्किएपछि आधा बाटोमा चुइगम किन्यौँ। चुइगम चपाउँदै काफलको थैलो हल्लाउँदै लाग्यौँ मायाके गाउँ, उफ्! मेरो ससुराली।
जङ्गलमा गीत बजाउँदै हिँडेका हामी, दुई चार घर देखिना साथ गीत बन्द गरेर गयौँ।
उनको घर माथि सानो प्रतीक्षालय जस्तै ठाउँ थियो। त्यही भेट हुने सल्लाह थियो। हामी पुगेको २/३ मिनेटमा सल ओढेर आइन् उनी।
देख्नसाथ अकमक्क भएँ, के बोलौँ? के भनौँ?
इसाराले यता बस न भनेँ। अघिको साथी फ्री फायरमा झुमिएको थियो। हामी त्यहाँ टेबलमा बस्यौँ। अघि ल्याइदिएको काफल दिएँ।
‘यति धेरै त पर्दैन थ्यो’ भन्दै थिइन्।
उताबाट साथी बोल्यो, ‘मैले टिपिदिएको हो है भाउजू।’
‘चुप लाग्’ भन्दै उसलाई गाली गरेँ।
अनि ‘हजुर नि खानु न’ भन्दै एक मुठी काफल दिइन्। वैशाख महिना भए पनि साँझ हल्का हावा चलिरहेको थियो अनि साथमा उनी, छुट्टै आनन्द आइरहेको थियो। त्यतिकैमा जून उदायो।
पूर्णिमाको जुन, वैशाखको खुला आकाश राम्रो देखिएको थियो। तर त्यो जून फिक्का लाग्यो जब साथमा अर्को जून थियो।
त्यही जून हेर्दै अनेकौँ गफ गर्यौँ, विगत समीक्षा गर्यौँ, वर्तमान बयान गर्यौँ, अनि भविष्यका योजना बुन्यौँ। कति चाँडो ४ बज्न लागेछ। भाले बासेको आवाजले झस्काइदियो।
अनि अब घर फर्कियौँ।
जीवन कालमा बिताएका २४ वटा वैशाख पूर्णिमा मध्ये त्यो वैशाख पूर्णिमा छुट्टै बन्यो, छुट्टै सम्झना रहिरहे।
पछि कुरा गर्दै जाँदा त्यो दिनको धेरै बहस हुन्थ्यो। छुट्टै आनन्द दिन्थ्यो। पूर्णिमा देख्दा त्यही रात नजरमा हुन्थ्यो। भूगोल दूरी र भविष्यले त्यसपछि भेट भएको थिएन।
समय सधैँ एकैनास रहेन, सधैँ हामी उस्तै रहेनौँ। हाम्रो नाता उहीँ रहेन। अब हाम्रो वार्तालाप पातलिँदै गयो। कहिले कुराकानी बाक्लिँदै जान्थ्यो त कहिले पातलिँदै। केही महिना यस्तै भएको प्रेम यात्रा एक्कासि ब्लकमा पुगेछ।
केही समय होला, पछि अनब्लक होला भन्ने आसै आसमा महिना बिते तर त्यो भएन। सम्पर्कका अनेक माध्यम प्रयोग गरेँ तर पनि सफल हुन सकिनँ। सास रहुन्जेल आस बाँकी थियो, छ पनि। कुनै न कुनै दिन मेरो मायाले फर्काउँछ उसलाई सोचिरहेको थिएँ तर फर्काएन।
एक दिन उसको साथीबाट म्यासेज आयो- ‘सङ्गम, के छ खबर? हरायौ त।’
‘ठिकै छ के हुनु, तिम्रो के छ नि?‘ आफू ठिक रहेको बताउँदै उनको खबर बुझ्न खोजेँ।
‘मेरो पनि ठिकै छ, खाना खायौ?’ प्रश्न गरिन्।
आफूले खाएको बताउँदै उसलाई पनि सोही प्रश्न साधेँ।
उसले पनि खाइसकेको बताउँदै ‘कता छौ? के छ त नि नयाँ?’ सोधिन्। मेरो बारे थप बुझ्न खोजिन्।
‘काठमाडौँ तिरै छु, कता हुनु। अनि तिम्रा साथीहरूको खबर के छ?‘ सोधेँ।
‘थाहा पाएकै छौ होला नि, किन चाटेको मलाई?’ जवाफ आयो।
‘छैन हौ केही थाहा पाएको, म त ब्लक पो छु त, भन न के छ?‘ पुनः सोधेँ।
उसकाे इन्गेजमेन्ट भइसकेको बताइन्। झसङ्ग भएँ।
‘मजाक गर्ने अरू कुरा थिएन?‘ झनक्क रिस उठ्यो।
उताबाट एउटा स्क्रिनसट आयो, उनले गरेको पोस्टमा लेखिएको थियो- ‘जिन्दगीमा पाएको अमूल्य उपहार हौ तिमी जुन म कहिल्यै गुमाउने कल्पना गर्दिनँ।’
‘अब त विश्वास लाग्यो?’ उनले सोधिन्।
लाग्यो भन्न बाहेक अरू केही भन्न सकिनँ।
‘पिर नलिऊ, तिमी अझै राम्री डिजर्भ गर्छौ,’ सान्त्वना दिँदै भनिन्।
‘अनि बिहे कहिले गर्ने हुन् रे नि?‘ खल्ले मनसहित जिज्ञासा राखेँ।
अब आउने पूर्णिमामा उनको विवाह मिति रहेछ। हत्तपत्त वाइफाई अफ गरेँ, आँखा चिम्लिएँ र सम्झेँ त्यो पूर्णिमाको दिन जहाँ ऊसँग पहिलो र अन्तिम भेट भएको थियो।
जुन पूर्णिमा खुसीले सजाएको थिएँ आज त्यही पूर्णिमाले मलाई औँसीको जून बनाइदियो।
त्यो स्क्रिनसट हेर्दै भनेँ- ‘वैवाहिक जीवनको शुभकामना।’