नास्कको नोस्टाल्जिया
जाडोयामको एक चिसो बिहान, म र पाठक लैनचौरको बसस्टपमा उभिएका थियौं।
'मास्कबिना नास्क जानू भनेको उपत्यकाको धुलो, धुवाँसँग प्रेमसम्बन्ध गाँस्नु जस्तै हो' भन्ने चट्टानी मान्यतालाई अनुसरण गर्दै मास्कले अनुहार छोपेर ठिङ्ग उभिएका थियौं। केही समयको पर्खाइपछि साझा यातायातको हरियो बस हाम्रो अगाडि अडियो।
'जाने हो! जमल हो, शहिदगेट-थापाथली-कुपन्डोल-जावलाखेल' सहचालकको नियमित रेसिपी आवाज गुञ्जिँदै गर्दा हामी बस चढ्यौं। 'रस आवर' भएर होला,बसका सिट भरिएको रहेछ, हामी बसको गल्लीमा दायाँ बायाँ मिलेर उभियौं।
बस स्काई वाक टावर, घण्टाघर र धरहरा हुँदै थापाथलीबाट बागमती नदी पार गर्यो। कुपन्डोलमा पुग्दा एउटा मात्र सिट खाली भयो, पाठकजीले सिट ओगटे।
हरिहर भवनमा धेरै मान्छे झरे, बस खाली खाली जस्तै भयो। म पनि अलि अगाडिको रोजी सिटमा बसेँ। पुल्चोक नजिकै बस जाममा फस्यो र यही मौकामा सहचालक भाडा उठाउन आयो, गोजीबाट सर्लक्क चौरी निकालेर मेरो र पाठकको भाडा तिर्न म बाध्य भएँ।
'सैनिकीलाई टुँडिखेल, मायालुलाई लगनखेल, जावलाखेल.....' गीतजस्तै जावलाखेलको गोलाचक्कर नाघेर दक्षिणतिर एकान्तकुना जाने बाटोमा साझा सुलुलु बग्दै गयो। नास्कको गेटैमा हामी फुत्रुक फुत्रुक झर्यौ। घडी हेरेँ- ९:३० भइसकेको रहेछ।
'गेटको छेउको भित्तामा किन यत्रो भिड?' पाठकले निकै कौतुहलपूर्वक सोधे।
'किन निलो भित्तासँग फोटो खिच्न आशक्ति? के विशेष छ यसमा?,' मैले मुस्कुराउँदै जबाफ फर्काएँ- 'यो सामान्य दिवार होइन, यो भित्ता त हजारौं लोक सेवामा तयारीकर्ताको सपना हो।'
पाठक बिस्तारै बुझिरहेका थिए। अलेक्जेन्डर महानजस्तै विजयको राप र ताप प्रदर्शन गरिरहेकातर्फ इङ्गित गर्दै मैले अगाडि थपेँ, 'यी अनुहारहरूमा देखिने उमङ्ग, चमक, र जोश नवनियुक्त अधिकृतहरूको हो।'
उनीहरू अझै हात मिलाउँदै, बधाई दिँदै खुसी साटिरहेका थिए। तर मेरो जान पहिचानका 'आले' थरका पाल्पाली अधिकृत भने यो भिडमा कहीँ पनि देखा परेनन्।
त्यसपछि हामी केहीलाई पन्छ्याउँदै र केहीलाई पछ्याउँदै नास्कको गेटबाट प्रवेश गर्यौं। बुझियो- नयाँ अधिकृतहरू नास्कको नास्ता खाएर अडिटोरियम हल- स्वागत समारोहमा जानुपर्ने रहेछ।
परिसरभित्र हरियालीका बीचको पिच बाटोबाट अगाडि बढ्दै गर्दा राणाकालीन शैलीको आलिसान महल 'सम्पदा सदन' दायाँपट्टी पर्यो। केही पर, फराकिलो आँगनसहितको 'वृहस्पति सदन' देखापर्यो-जहाँ कालो बुटहरू बज्दै थिए। कार्यक्रम हुने भवन भने गुम्बज शैलीको रहेछ। ढोकाको छेउमा तालिम शुभारम्भको ब्यानर टाँसिएको थियो।
कसैको चियाको चुस्की लिँदै बाफ फालिरहेका थिए, कसैले हलको पृष्ठभूमिमा तस्बिर खिचिरहेका। म र पाठक केही पर बसेर त्यो उल्लास र जोश नियाल्दै थियौं।
त्यतिकैमा मेरो नाम उच्चारण गर्दै कसैले तिखो स्वरले बोलायो। हेर्छु त- आले! क्यामेरा बोकेर आउँदै थिए। परिचय भयो, साथमा भएका मान्छे रहेछन् विमल भन्ने अर्का अफिसर। पाठकले पनि झ्याप्पै बधाई दिन भ्याए। छोटो कुराकानीपछि उनीहरू भिडमा हराए, हामी भने अझै उनीहरूको ऊर्जाशील उपस्थितिको अवलोकनमा हराउँदै थियौं।
अडिटोरियम हलको ढोका घरर खुल्यो। निला कोटधारी अधिकृतहरू सिँढी उक्लिँदै गए। एकछिनपछि कलात्मक ढोकाले उनीहरूलाई पालैपालो निल्दै गयो।
'जाने कि?,' मैले पाठकलाई इसारा गरेँ। उनी राजी भए। हलले मानौं ब्ल्याक होलले जसरी हामीलाई खिच्यो र हामी विलुप्त भयौं।
'आम्मामा, हलभित्र कति कोलाहल हो?'
भित्रको आवाजलाई पाठकले ठट्टा गर्दै कानेखुसी गर्यो, 'ई-क्लासिको भए जस्तो!'
ब्याक बेञ्चरको रूपमा म बायाँपट्टिको ब्लकमा बस्न पुगेँ, पाठक पनि पछिपछि। दुई कुर्चीले हाम्रो वजन बोक्यो। आँखा डुलाउँदा बीचतिर देखिए आले। उनले हात हल्लाए, म मुसुक्क मुस्कुराएँ।
त्यसपछि आयो उद्घोष-
'नवनियुक्त शाखा अधिकृतहरूलाई बधाई ! नास्क खुला हृदयले तपाईंहरूको स्वागत गर्दछ।'
कार्यकारी निर्देशक डा. राजन खनाल सरको दमदार मन्तव्यमा तालीको गडगडाहटले हल घन्किरह्यो। ती अधिकृतहरू उमङ्गका फिलिङ्गाहरू, खुसीयालीका आवेगहरूलाई प्रत्यक्ष प्रसारण गरिरहे।
हामी भने हलको त्यो ताप अनुभव गरी त्यहाँबाट रफुचक्कर भयौं। हलबाहिर निस्केपछि फेरि नास्क परिभ्रमणको मौका नआउने पूर्वानुमानसहित एक चक्कर लगाउने सहमति भयो।
क्यान्टिनको छेउ हुँदै हिँड्दा मासुको मीठो सुगन्धले पाठकको नाकमा अजीवको झनझनाहट भयो कि क्या हो! हाउभाउले लाग्यो- यी बुढा त मासुको मर्मज्ञ पारखी रहेछन्।
त्यहाँबाट अगाडि बढ्दा होस्टेल, त्यस पछाडि पुस्तकालय देखियो। भित्र छिरेर हेर्यौं, दर्शनदेखि फिक्सनसम्मका हजारौं पुस्तकहरू सजिएका थिए। पुस्तकालयबाट निस्केपछि हामी फुटबल मैदान पुग्यौं। मैदान दुबोको हरियालीले आकर्षक देखिन्थ्यो।
त्यसपछि भलिबल, बास्केटबल, ब्याटमिन्टन कोर्ट छिचोलेपछि परिसरको सुदूर कुनातर्फ अत्याधुनिक जिम हलभित्र हामीले प्रवेश गर्यौं। त्यहाँ टिटी समेत खेल्ने व्यवस्था रहेछ।
पाठकले १० केजीको डमबल उठाउने कोसिस गर्दै थिए कि नाडीको डिजिटल घडी झम्कियो- २ बजिसकेछ।
मैले आलेलाई फोन गरे, तर मोबाइल बन्द। अब भने हामी लम्कियौं, पुस्तकालयको छेउ पारेर तर अर्को बाटोबाट।
आरूलगायत अन्य सजावती बोट र फूलले सजिएको मार्ग हुँदै हामी पश्चिमी दिशा नाप्दै गयौं। युवा अधिकृतहरू सम्झनाका तस्बिरहरू खिच्नमा व्यस्त थिए- कसैले समूहमा, कसैले एक्लै। आले त शाही अन्दाजमा खाना खाइरहेकै होलान् भित्र क्यान्टिनमा- मेरो अनुमान थियो। हामी चाहिँ उनीहरूका ती पुलकित हर्कतहरूको साक्षी बन्दै अगाडि बढिरह्यौं।
शिलामा कुँदिएको 'नास्क' लोगो छेउमा फोटो खिचाउनेहरूको पनि बाक्लो घुइँचो रहेछ। एक जनाले मलाई सामूहिक तस्बिर खिचिदिनको लागि अनुरोध गरे, मैले नकार्न सकिनँ। लगातार चार-पाँच क्लिक हानिदिएँ।
पाठक त सुइँ सुइँ हिँडेछ मलाई नकुरिकन। क्यान्टिन नं २ को नजिकमात्र भेटाउन सकेँ। अन्तिम प्रशिक्षण भवनको छेकोबाट हामी बाहिरियौं।
पेटमा डुहुरे मुसा बेस्सरी कुदिरहेका थिए। सोझो मनले सोच्यो- 'यत्तिबेरसम्म घुमाएपछि खाजाको अफर त पाठकजीबाट आउँछ होला,'
तर उनी मौन थिए।
दुवै भोको- 'हम तो डूबेंगे सनम, तुमको भि ले डूबेंगे' भन्ने चिप्ल्याउने अकंलवाला हिन्दी उखान चरितार्थ भयो।
केहीबेरको पर्खाइपछि साझा आयो- यसपटक दुवै सिट पायौं। तर दुर्भाग्य के रह्यो भने भाडा दिने बेला पाठकले हजारको नोट निकाल्यो। भाडा अन्तत: मैले नै तिरें।
'एम्बास्डर होटल' नजिक झरेपछि उनी फटाफट नक्सालतिर लागे। न धन्यवाद, न बिदाइ-चुपचाप गायब।
म भने निराश मुद्रामा बेलायती र भारतीय दूतावासबीचको साँघुरो गल्ली हुँदै गन्तव्यतर्फ प्रस्थान गरेँ।
'अर्को चोटि त यो पाठकलाई कहीँ पनि घुमाउन लगे त के!' चेतसहित मनले निश्चित गर्यो।
दिनले रातलाई पछ्याउँदै गयो, रातले दिनलाई लखेट्दै गयो, यो सिलसिलाका बीच, करिब चार महिनापछि आलेले फेसबुक स्टोरीमा नास्टभित्र फुलेका आरूका फूलसहितको रमणीय भिडिओ स्टोरीमा पोष्ट्याएको रहेछ। मैले पनि प्रतिक्रिया दिएँ- 'बोटमा फूलेको फूल र अनुहारमा खुलेको हाँसोको मिश्रण- मन छोइहाल्छ नि, हाकिम साब!'
त्यसको केही समयपछि आलेले मेसेन्जरमा भिडिओ कल नै गरे र चिया खान बोलाए। मैले किन नकार्नु थियो र, सहर्ष स्वीकार गरिहालेँ।
भोलिपल्ट शनिबार, भेट हुने स्थान: जिग्री सेकुवा, जावलाखेल।
म गुगल म्यापको सहायताले चिडियाखाना छेउ हुँदै जिग्री पुगेर माथिल्लो तलाको खुला स्थानमा बसेँ। हावा खाँदै १५ मिनेट कुर्दा पनि आले देखा परेका थिएनन्। यो अवधिमा वेटरले 'सर, के लिनुहुन्छ?' भनेको दुईपटक भयो।
अन्नत: एफजेड बाइकमा निलो ट्रयाकसुट र सेतो जुत्ता लगाएर आले प्रकट भए। गौर गरेँ, उनको निलो ट्रयाकमा 'BAT-39' लेखिएको छ।
उनले स्टाफ कलेजबाट ब्याटमिन्टन खेलेर आएको बताए। बनाना लस्सी र सेकुवा अर्डर गरियो।
'कस्तो चलिरहेको छ त तालिम?' भन्ने मेरो प्रश्नसँगै आलेले आफ्नो नास्क डायरी खोल्यो।
आले 'भेरी समूह' मा परेका रहेछन्- जसमा ३२ जना सहभागी। कक्षा मङ्गल सदनको पहिलो तल्लामा हुँदो रहेछ, कक्षामै चिया-कफीको व्यवस्थासहित। दिनमा १००-१०० मिनेटका तीन सत्र चल्ने, दोस्रो सत्रपछि खाजा पाइने। क्याफे स्टाइलको टेबल, अगाडि टक्क नेमप्लेट। नास्कको निलो डायरी अनिवार्य।
कथाले तीव्रताका साथ लय लिइसकेको थियो। लस्सी आइपुगिसक्ने बेलासम्म- उता आले तालिमका सिकाइ, रमाइलो, नाचगान, गफगाफ, सेमिनार, हाइकिङ, त्रिशूली राफ्टिङसम्मका याद बाँडिरहेको थियो।
'२५ दिने दोस्रो रेसिडेन्टल त झन रोमाञ्चक!' भन्दै अब उसले होस्टल बसाइँका अनुभवहरू पल्टाउन थाल्यो।
'प्रशान्त सदनको कोठा नं.४०९, मेरो रेसिडेन्टलको सारथी, मलाई बिहान उठ्नै गाह्रो -तर समयानुसार ट्र्याक सुट र सेतो बुट लगाएर ठिहिरो जाडोमा सामेली हुनुपर्ने। गरम-गरम चिया क्यान्टिनमा, बिहान ६:१० मा गोडाफाट सतर्क।'
'दुई उपसमुह: अल्फा र ब्राभो। एक दिन योग, अर्को दिन परेड, रोटेसनमा। कक्षा सकिएपछि डान्स कक्षामा सहभागी-चल्तीको भाषामा' चान्समा डान्स!' कति साथीहरूलाई त म तान्दै डान्स कक्षामा ल्याएँ।'
यस क्रममा सेकुवा खाँदै उसले रेसिडेन्टल बसाइँ अविस्मरणीय, रमाइलो र सुन्दर भएको सुनायो। तर बीचमा ज्वरो-खोकीले गर्दा एलएलबी समूहमा परेर गाह्रो समेत भएको रहेछ।
'के हो यो एलएलबी?' -मेरो प्रश्न।
चपलताका साथ मुस्कुराउँदै उसको उत्तर आयो। 'फौजी कोड भाषा, बिरामी समूह।'
उसले ब्लड डोनेसनमा सहभागी हुन नसकेको तर 'मुन्नाभाई एमबिबिएस' फिल्म हेर्न नछुटाएको प्रसङ्ग उप्कायो। अन्तिम सेकुवालाई निलेपछि उसले चिठ्ठी सलामको डेमो पनि कडै दियो। अझै कुरा नसकिएकोले कोल्ड कफी अर्डर भयो।
"नास्कमा चहलपहल त उग्रै हुन्छ !" -उसको उद्गार गीत, संगीत, साहित्य, कला र्याम्प वाक, दोहोरी, फेसन शो-सबै थरी कार्यक्रमहरू। आलेले 'रैया चाँदीको' नाचेको, 'राष्ट्रसेवक हौं' गीतमा दोहोरी गाएको बताए।
रेसिडेन्टल कप-फुटबलमा ट्रफी, ब्याडमिन्टनमा उत्कृष्ट खेल! होस्टल बसाइँको अन्तिम दिनमा टिम अल्फा र ब्राभोबीचको भीषण प्रतिस्पर्धा-थग अफ वार, विभिन्न दौड लगायतका रमाइला खेलहरू। आले भावविभोर हुँदै भन्दै थियो- 'क्या रमाइला दिन थिए नि!'
'ती मुमेन्टहरू त म लाइफटाइम मिस गरिरहनेछु।' उसले अंग्रेजी मिसाएर बोलेको सुनेर मैले मनमनै सोचेँ- सायद यो स्टाफ कलेजको 'कम्युनिकेटिभ इङ्लिस' को चमत्कार हो!
त्यतिकैमा वेटरले कोल्ड कफी ल्यायो। हामी पिउँदै गयौं।
उसले आफैले खिचेर सम्पादन गरेको भिडिओ युट्युबमा देखायो- उनी रिपोर्टरझैं देखिन्थे।
'एनिमल फार्म' किताबमात्र पढ्न सकेको रहेछ उसले लाइब्रेरीबाट। 'कताकता पो भ्याउनु त।' बरू त्यहाँ ऊ चेस खेलेर धेरैजसो हारेको कुरा बिना हिचकिचाहट सुनायो। अचेल पनि कक्षा सकेर साँझ ७ बजेसम्म टेबुलटेनिस खेल्दो रहेछ।
'यदि नास्कले त्यहाँ सबभन्दा बढी समय बिताउनेलाई पुरस्कार दिन्छ भने, म पनि दाबेदार हो।' आले ठट्टा गर्न उत्सुक रह्यो।
अब प्रसंग मोडियो देश दर्शन 'के वाइ सी' कार्यक्रमतर्फ। भेरियनहरू बाँके बर्दियाको सफल सफर गरिआएका रहेछन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ खोज्दै जंगल सफारी त गरेछन् आलेहरू तर 'बाघको गन्ध मात्र सुँघेर फर्किएछन्। थारू होमस्टे, संस्कृति र नाचले भने सबैको मन छोएको थियो रे।
'सामान्य प्रशासनबाहेका समूह बिदाई हुँदैछन्, अब हामी चाहिँ कार्य आबद्धता तालिमको लागि जिल्ला-जिल्लामा जाँदैछौं, चिठ्ठा तानेर।' यो नास्ट डायरीको अन्तिम पाना थियो, उसले बिट मार्यो।
कफी सकियो। तिर्ने बेला- मैले गोजीमा हात हाल्न लागेको थिएँ, उसले ईसारा गर्यो- 'म तिर्छु।'
भर्खर अफिसर भएका हुन्- शायद आत्मगौरवसँगै तिर्नुपर्ने जिम्मेवारी पनि महसुस गरेका होलान्। मलाई त 'के खोज्छस् कानो, आँखो' भइहाल्यो।
छुट्टा पैसामा उनले दुई वटा सेन्टर फ्रुट पनि ल्याए- एउटा मलाई दिए। अनि अर्को रजनीकान्त स्टाइलमा खाने चक्करमा उसको सेन्टर फ्रुट भुइँमा खस्यो।
'नाथममा डाइनिङ एटिक्युटमा यसरी नै मासु भुइँमा खसेर महाभारत भो।' यही भन्ने दाउ खोजेको पो थियो कि आलेले!
पानी पर्नेजस्तो मौसम, भेटलाई टुङ्गयाउने निधो भयो। जावलाखेलको चोकसम्म उनले मलाई छोडिदिने भए। आले पार्किङतिर लाग्यो। म वासरूम गएर फर्किंदा पो ता बल्ल देखेँ- पर कुनाको टेबलमा चुरोटको ठुटा बुङबुङ तान्दै रहेछन् पाठकजी त।
मनमनै सोचें- 'अब यो पाठकले देखिहाल्यो भने अर्को झमेला, भाग-भाग'
त्यसैले म मुन्टो लाटोकोसेरोले झैं घुमाएर छिटो छिटो बाहिर निस्केँ। धन्न उसले देखेन। आलेले बाइक स्टार्ट गर्दै थियो।
मौसमले भने भयंकर रौद्र रूप धारण गर्दै थियो। आकाश मिलिक्क मिलिक्क गर्दै चिरा परिरहेको थियो। बतासको खेदाइले काला बादलहरू आत्तिँदै, कहालिँदै यत्रतत्र दौडिरहेका थिए।
अटेरी गर्दै हामी कुल १५० केजीको तौललाई बाइकको थाप्लोमा चढाएर एक घुम्तीमात्र के नाघेको थियौं-"घररररर…..!"
भयानक गर्जन- मुसलधारे पानी।
'देउरालीमा बतास चल्यो,बतास चल्यो………'
प्रेमध्वज प्रधानको कालजयी गीतले जिन्दगीको ती पलको झझल्को सम्झाएर जान्छ- म पनि टाइम मेसिनमा यात्रा गरेर नास्क पुगिरहनेछु, जहाँ म मस्त रमाइरहेको हुन्छु, निस्फिक्री।
मलाई स्पर्श गर्ने त्यहाँको मिठो र सुगन्धित बतास, जसले अंगअंगमा अलग्गै चपलता थप्थ्यो। आरुका फूलसहितको तस्बिरको पोज, वसन्तको रङ्गिन रौनक, ब्याचीहरूसँगका ती रमाइला पलहरू-यी सबै दृश्यहरू मलाई समयको रिभर्स गियरमा तानिरहेका छन्।
अचानक म थचक्क नास्कको परिसरमा अडिएर एक द्रष्टा बनेको महसुस गर्छु। त्यहाँ बितेका चार स्वर्णिम मासका सबै क्षणहरू, सजीव संसार-सपना जस्तै!
यस कुरामा कुनै शंका छैन कि-यादहरुको सन्दुकभित्र रहेका ती सुनौला पलहरू जीवनको अन्तिम साससम्म म सुम्सुम्याउँदै रहन सक्नेछु।
त्यसैले त- मभित्र सधैं जीवित रहनेछ, नास्कको नोस्टाल्जिया।