मंगलबारको दिन थियो। बिहानैपख टिकटक चलाइरहेको थिएँ। एकजना कन्टेन्ट क्रिएटर डाक्टरको भिडिओ आयो। त्यहाँ उनले बिहेअघि गराउनै पर्ने तीन वटा टेस्टबारे जानकारी दिएका थिए। त्यहाँ गएर कमेन्ट सेक्सन हेरेँ। त्यहाँ डाक्टरलाई विभिन्न गालीगलौजको वर्षात भइरहेको थियो।
यसो सोचेँ उनले बनाएको भिडिओ कन्टेन्टबारे घोत्लिन पुगेँ। उनले नराम्रो कुरा त केही भनेका थिएनन् तर पनि किन यति धेरै गाली!
त्यहीबेला ब्याचलर दोस्रो वर्ष पढ्दा मधुले गरेको कुरा याद आयो।
एउटा अफ पिरियड थियो। त्यतिबेला एक जना साथीको ब्रेकअपको कुरा सुनिरहेका थियौं। अनि कुरा गर्दागर्दै बिहेको कुरा निस्कियो। त्यतिकैमा कुन साथीको बिहे अघि हुन्छ भन्ने बहस चल्यो।
सबैले मधुलाई देखाउँदै भने- ‘हेर तेरो त ब्वाइफ्रेन्ड छ, तेरै हुुन्छ पक्का’
मधुले पनि कुनै हिचकिचाहट बिना ब्याचलर सकिएपछि बिहे गरेर विदेशै जाने भनी।
‘हेर नेपाल बसेर के गर्नु छ। किरणलाई पनि बिहे गर भनिरहनुभएको हुन्छ। अब मेरो ब्याचलर सकिएपछि इन्गेजमेन्ट गरेर बाहिरै जाने हो। बिहे त विदेशबाट पैसा कमाएर आएसी गर्ने।’
‘किन नि? बिहे गरेर गए भैगो त’
‘आमाबाको पैसाले त के बिहे गर्नू। यतिका वर्षसम्म आमाबाको पैसा खर्च गर्दिसक्यौं अब बिहेको भार दिन मन छैन यार। बरू पेपर म्यारिज गर्ने। आएर भव्य बिहे।’
सबैजना मधुको कुरामा सहमत भए।
सबैले आआफ्नो योजना सुनाए।
मधुपछि कसको बिहे हुन्छ भन्ने चर्चा भयो। धमाधमा एक दुई तीन गर्दै बिहेको पालो तय गर्न थाले।
सबैको एकै गुञ्जायस थियो- हामी नेपालमै हुँदा गर है। ब्याचलर सकिनासाथ प्रायको विदेश जाने सोच थियो। किनकि कसैले नेपालमा भविष्य देखेका थिएनन्। त्यसैले पनि साथीभाइको बिहेमा आफू उपस्थित हुन पाइयोस् भन्ने सबैको आकांक्षा थियो।
त्यहीबेला मधुले सबैजना साथीहरूलाई बिहेबारे एउटा सुझाव दिई- ‘जहिलेसुकै बिहे गरेता पनि बिहे अगाडि दुवैले स्वास्थ्य जाँच गर है। त्यो गर्नुपर्छ। हाम्रो बिहे अगाडि दुवैले स्वास्थ्य जाँच गर्नुपर्छ भनेर मैले किरणलाई समेत अहिले नै भनिदिएको छु।’
म जिल्ल परेँ। किनकि यो कुरा मैले कहिले पनि सुनेको थिइनँ। बिहेअघि चिना हेर्ने चलन थाहा थियो तर स्वास्थ्य जाँच गर्ने कुरा म स्वयंलाई नौलो लाग्यो र चासो देखाएँ।
‘बिहे गर्नुअघि चिना हेरेको थाहा थियो। स्वास्थ्य जाँच त पहिलोपटक सुन्दै छु त। के कुरा गर्छेस्?’
‘बिहेअघि चिना हेर्नुभन्दा ठूलो कुरा हो स्वास्थ्य जाँच गर्नू, बुझिराख।’
‘त्यो त अत्ति भएन र भन्या?’
मैले नबुझेको देखेर होला उसले विस्तृतमा किन जाँच गराउन जरूरी छ भनेर बुझाउन खोजी।
‘अरू जाँच होइन एचआइभी, हेपटाइटिस बि र सि र यौनजन्य रोग लागेको छ कि छैन भनेर मात्र जाँच गर्ने हो। यसले दुवैको भविष्य सुरक्षित बनाउँछ।’
‘कसरी?’
‘उदाहरणको लागि तैँले बिहे गर्न लागेको व्यक्ति पहिले कोहीसँग सम्बन्धमा अवश्य पनि बसेको हुन्छ। र तँ स्वयं पनि बसेको हुन्छेस्।
नेपाली समाज र परिवेशमा घरपरिवारमा शारीरिक सम्बन्धबारे खुलेर नगन्य मात्रामा कुरा हुन्छ। तर घर परिवारलाई थाहा छैन भन्दैमा उक्त व्यक्ति बिहे अगाडि शारीरिक सम्बन्ध राखेकै हुँदैन र शारीरिक सम्बन्ध राखेको छ भन्दैमा उसलाई गलत नजरले हेर्न पनि मिल्दैन।
र कुरा आयो किन स्वास्थ्य जाँच गर्नुपर्छ। म तँलाई सामान्य उदाहरण दिन्छु।
यदि त कुनै मानिससँग जीवन बिताउन तयार भइसकेको छेस् भने भविष्य सुरक्षित बनाउन र आउने सन्तानको सुरक्षाको लागि जाँच गर्ने हो।
मानौं तिमीहरूले जाँच नगरी बिहे गर्यौ। गर्व बसेपछि तिमीहरूमध्ये एक जनालाई सरूवा रोग लागेको थाहा पायौ भने के हुन्छ? त्यो रोग सन्तानमा देखिने सम्भावना हुन्छ कि हुँदैन?’
म चुप लागेर त्यसले भन्न खोजेको कुरा सुनिरहेँ।
‘यदि सुरूमै जाँच गरेको भए तिमीहरू यो समस्याबाट गुज्रिन पर्दैन थियो। त्यसो हुँदा एक जनाले गर्दा अरूको जीवनमा पनि असर पर्दैन थियो।’
‘मागी छ भने त बिहेअघि कुनै एक जनालाई कुनै रोग लागेको छ भनेर थाहा पाइयो भने बिहे नगर्ला तर प्रेम विवाहमा त तनाव हुन्न र भन्या!’
‘के भो त। एकछिन भावुक भएर सोचेर मात्र हुँदैन। जिन्दगीको कुरा हो। एकछिन नराम्रो होला तर त्यो जरूरी हो। तर नेपाली समाजमा यो अभ्यास छैन।’
म त्यो साथीको कुराले घोत्लिन बाध्य भएँ।
दिनहरू बित्दै गए।
एकदिन साथीसँग कुरा गरिरहेको थिएँ। त्यतिकैमा बिहेको कुरा निस्कियो। साथीले भनेको त्यो कुराले मलाई पहिलेदेखि नै हानिरहेको थियो। त्यही मौकामा मैले उसको राय लिन मन लाग्यो र सोधेँ।
‘म तँलाई एउटा कुरा सोध्छु। तँलाई के लाग्छ भन ल।’
उसले सहजै जबाफ दिने प्रतिक्रिया जनायो।
‘बिहे गर्नुअघि तँलाई कुनै केटीले तेरो स्वास्थ्य जाँच गरेपछि मात्रै बिहे गर्छु भन्यो भने तँ के भन्छस्?’
‘तँ पागल भइस् कि क्या हो,’ मलाई जिस्कायो।
मैले गम्भीर भएर एकोहोरो त्यसलाई हेरेँ।
अनि उसले सोध्यो, ‘के जाँच नि?’
‘कुनै रोग लागेको छ कि छैन भनेर सामान्य जाँच।’
‘बिहेअघिको जाँच भन्छेस् अनि सामान्य जाँच पनि भन्छेस् के हो कुरा भन त।’
‘जस्तै एचआइभी, हेपटाइटिस बि र सि, यौनजन्य रोग लागेको छ कि छैन भनेर के।’
त्यो एकछिन झस्कियो। भिडिओ कलमा वाल्ल परेर मौन भई मेरो अनुहार हेरेर हाँसिरह्यो।’
अवस्था सामान्य बनाउन खोज्दै भनेँ, ‘मैले पनि केही महिनाअघि बिहेअघि केही जाँचहरू गराउनुपर्छ भनेर थाहा पाएको हो। सुरूमा सुन्दा मलाई पनि नौलो लागेको थियो। अनि तँलाई यसबारे थाहा छ कि नाइँ भनेर बुझ्न खोज्या हो के।’
‘ए, अँ मैले पनि सुन्न चाहिँ सुन्या हो तर केके जाँच गर्छ ठ्याक्कै थाहा छैन यार। तर म त सहजै मान्छु। तर घरपरिवारले के सोच्छ र भन्छ त्यो अलग कुरा हो।’
‘अनि यसरी बिहे गर्नुअघि जाँच गर्नु तँलाई कस्तो लाग्छ?’
‘भविष्यको लागि सोच्दा राम्रो हो। तर यो हाम्रो नेपाली समाजले कसरी लिन्छ भन्ने हो। जहाँसम्म मलाई लाग्छ यस्तो कुरा गर्दा घरपरिवारले हेर्ने नजर नराम्रो छ।
प्रेम विवाहमा त सहजै होला। भविष्य सुरक्षित गर्नको लागि भनेर दुवै जना सहमत होलान्। तँ आफै सोच न दुई भिन्न समुदायका केटाकेटीले बिहे गरिरहेका छन् भने त यहाँ सामाजिक रूपमा उनीहरूलाई अपनाउन कठिन छ।
मागी बिहे गर्दा विशेषगरी केटाहरूले केटीहरूलाई त्यसरी जाँचको लागि प्रस्ताव गर्दैनन् भन्ने लाग्छ। किनकि अझ पनि मागी बिहे गर्दा प्रायः केटाहरूले केटीहरूलाई गर्ने पहिलो प्रश्न नै, तिमी कुमारी (भर्जिन) हो कि होइन भन्ने छ भने हाम्रो समाज कहाँ छ भनेर सोच न।
दुवैले अतितका सबै कुरा स्वीकारेर बिहेका लागि तयार भयो। अनि अन्तिममा बिहेअघि स्वास्थ्य जाँच गर्नुपर्छ भनेर घरपरिवारलाई भन्दा उनीहरूले कसरी लिन्छन् र बुझ्छन्?’
‘त्यो कुरालाई किन घरपरिवारलाई भन्न पर्यो त। दुई जना गएर जाँच गराउने नि मिल्दैन र!’, मैले प्रश्न तेर्साएँ।
‘गर्नु ठूलो कुरा होइन तर सबैको सोच एकै किसिमको हुँदैन नि! सँगैको मान्छेले उसलाई शंकाको नजरले हेरेको अनुभूति पनि त गर्न सक्छ। त्यसैले यी सब कुरा मान्छेको चेतना शिक्षा लगायत कुराले भर पर्छ। तर व्यक्तिगत रूपमा म त सकारात्मक नै हो। किनकि यसले भविष्यमा हुन सक्ने दुर्घटनाबाट दुवैलाई बचाउँछ।
तँ आफै भन त हाम्रा आमाबाले यौन शिक्षा कहिल्यै दिए? यी कुरा आउँदा आमाबा नै भाग्नुहुन्थ्यो, सोध्दा नचाहिने कुरा नसोध भन्नुहुन्थ्यो। स्कुलमा समेत स्वास्थ्य शिक्षामा यौन शिक्षाको पढाइ हुँदा छिटोछिटो पाठ सकाउने नत्र भने गुरूबाआमा लजाउँदै ल यो आफै पढ बन्ने स्थिति थियो र अझै पनि छ भने के आश गर्नू?’
त्यसपछि म सोच्न बाध्य भएँ- भविष्यको लागि आवश्यक र राम्रो हो भने किन हाम्रो समाजले बिहेअघि गरिने स्वास्थ्य जाँचलाई चिना हेराएझैं गरी सामान्य रूपमा लिएको छैन र लिन सकेको छैन?