शिवरात्रिको दिन बिहान। विशाल मेलढुंगामा रहेको शिव मन्दिरमा बजेको शंखघण्टीको आवाजले ऊ ब्युँझिई। एसियाकै सबैभन्दा ठुलो ढुंगा भनेर चिनिएको मेलढुंगाको शिरमा अरू तीन वटा ढुंगा खापिएर पगरी लगाएजस्तै बनेका छन्। तिनै पगरी बनेका ढुंगाहरूको बिचमा रहेको सुरुङजस्तो भागमा ऊ तीन दिन पहिलेको झम्के साँझमा सुतेकी थिई।
पूरै चौरासी घण्टामा ऊ निद्राको संसारबाट अलग भएकी थिई। जिन्दगीमा त्रिचालिस पटक आरुका बोटका कलेजी फूल देखेकी उसको मनमा पटक पटक तिर चलेको थियो, पटक पटक सिरेटो चलेको थियो आँखामा, पटक पटक आकाश खसेको थियो शिरमाथि, पैतालामा कति पटक बेलका काँडा बिझे गनिसाध्य थिएन। मनमा गएको पहिरो रोकिने कुनै छनक थिएन। मुटुमा आएको बाढीले तहसनहस पारेको रगतको सिँचाइ प्रणाली लयमा आउने प्रणाली बनेकै थिएन। यी सबै सबै कुरा सहेर, बोकेर जिन्दगीमा– ऊ पारिको भोर्ले गाउँबाट मेलढुंगाको चिसोमा ज्यान बिछ्याउन आएकी थिई। र, सिरानमा राखेकी थिई– पुरानो अटो।
ब्युँझिएपछि सरसरती चारैतिर आँखा डुलाई। पारिपट्टि ऊ जन्मिएको भोर्ले गाउँ देखी, माथिपट्टि फलाम खानीका डाँडा देखी, पश्चिमपट्टि बालाकोटको डाँडोले पैँयूकोट मन्दिर देख्न छेकेको थियो, तलतिर पैयुँको फाँट देखी, हुवास बजार देखी, सरौँखोला बग्दै बग्दै गएर गेडी खोला, मर्दी खोलामा मिसिएको देखी। अनि एक झप्को सम्झी– सरौँखोलाको पानीसँग जिन्दगीले लगाएको साइनोलाई। हातलाई कपालमा डुलाई र लामो कालो कपाललाई गुजुल्टो पारी। अनि सरासर सिँढीको बाटो तल मन्दिर ओर्ली।
मन्दिरमा चहलपहल थियो। भक्तजनहरू मन्दिरमा पूजा गरिरहेको हेरी, अलि परतिर पूजाको प्रसाद पकाउन अगेनामा बसालेका ताउला हेरी। बल्दै गरेको आगोका लप्का हेरी। तल धारामा बग्दै गरेको पानी हेरेर मनलाई शीतल बनाउन खोजी। शिव भजनले वातावरण संगीतमय भएको थियो– त्यही भजनको तालमा ओठ हल्लाउँदै एकैछिन हराई आफैँभित्र।
धाराको पानीले आफूलाई साजी बनाएपछि ऊ पनि मन्दिरको लाइनमा उभिई। अरू महिला र केटीहरूका हातमा फूल, अक्षता, जटा सहितका नरिवल थिए तर ऊ भने रित्तै थिई। सोची–जिन्दगी नै रित्तो भएको बेला हातमा फूल अक्षताको के काम छ र मलाई? कोख नै रित्तो भएको बेला अरूका केटाकेटीको रमाइलो देखेर किन फक्रिन्छ र मन?
पालो आएपछि टीका लगाई, हातमा अलिकति प्रसाद लिई र पश्चिमपट्टिको भागबाट फुत्त बाहिर निस्किई।
मावली गाउँ हिरुखर्कमा बसेर पढेकी ऊ। जन्मेको पारिको भोर्ले भए पनि उसले बाँचेको जिन्दगीको लगभग एक तिहाइ उमेर उसले बालाकोटमा बिताएकी थिई। बालारानी माध्यमिक विद्यालयमा नीलो सर्ट र फ्रकमा फुरुक्क फुरुक्क परेर उसले स्कुले जीवन बिताएकी थिई। दुई चुल्ठी पारेर बाट्ने लामो कपालमा लालीगुराँसजस्तै रिबनका फूल फुल्थे, कानमा यार्लिङ र पाउमा पाउजु कहिले छुटेन उसको।
गोल्र्याङजस्ता ठुला र शीतल आँखा, पैँयूकोटको चउरजस्तो मिलेको निधार, मुसुरबारीजस्ता गाला, लुँखुदेउरालीको भन्ज्याङजस्ता आँखा, फलाम खानीका थुम्काजस्ता छाती र भोक्सिङका आलुबारीजस्ता ओठ भएकी ऊ स्कुलभरि सबै केटाका आँखाले खोजिरहने मोनालिसा थिई। कुनै दिन ऊ स्कुल नआउँदा स्कुल सुनसान हुन्थ्यो, केटाहरू बालारानीको मन्दिर छेउछाउ गएर उसैका गफ गरेर बस्थे। रूपसँगै पढाइको सुन्दरताले उसलाई ऊ बनाएको थियो। ऊ चुम्बक थिई स्कुलकी, अरू सबै फलाम। ऊ लालुपाते थिई बारीको छेउकी, अरू सबै मल्यातो। ऊ पुतली थिई बगैँचाकी, अरू सबै माहुरी। हो, ऊ नै बालारानी थिई। ऊ अर्थात् अनामिका।
स्त्रीका लागि रूप पनि एक सबैभन्दा ठुलो हतियार हो। त्यही धारिलो हतियार उपहार पाएकी ऊ। ब्रह्माले फुर्सदमा कुँदेर बनाएको ज्यान र सरस्वतीले बिहानीपख दिएको बोलीको वरदान थियो ऊसँग। त्यही वरदानले नै ऊ त्यो पाखाभरिकै केटाहरूको केन्द्रबिन्दु बनेकी थिई, लमीहरूको निसाना बनेकी थिई। यस्तै सुन्दर समय बाँचेर रमाई ऊ।
नीलो कञ्चन आकाशमा पनि कहिलेकाहीँ एक्कासि कालो बादल मडारिन सक्छ, चट्याङ पर्न सक्छ। उसको जिन्दगीमा पनि खै कताबाट अलच्छिने बतास आयो, दुर्भाग्यको बादल छायो र नियतिको चट्याङले हान्यो।
२०५९ सालको माघे संक्रान्तिमा सेतिबेनीको मेलामा ठोक्किएका एक जोर आँखाले उसको जिन्दगीलाई पहरामा ठोक्काइदियो। मुस्काएका ओठले मह घोली घोली तेजाब ओकले। एकैछिनको चिनजानले सधैँका लागि जिन्दगी च्यातिदियो। शिलाबाट झोलुङ्गे पुलसम्मको सँगैको यात्राले उसलाई सिमाना कटायो। नेपाने होटेलमा सँगै खाएको चाउमिनले जिन्दगीभरि आँसु पिउन बाध्य पार्यो।
हो, यो कथा हो उसको बिक्रीको। जिन्दगीको बिक्री। रूपको बिक्री। लालुपातेको मूल्यको कहानी।
बिस वर्ष अघिको बेहोसीले बेचिएकी ऊ, अहिले राहु केतु अलि सोझिएपछि शुक्र उदाउने साइतमा जन्मगाउँ आइपुगेकी थिई। घरमा आई तर घरको न्यानो माया पाइन। बाआमालाई देखी तर छोरी हुनुको अधिकार पाइन। गाउँमै शिक्षक बनेर स्कुले केटाकेटी पढाउने भाइलाई भेटी तर भाइका आँखामा दिदीका रहर भेटिन। गोठपल्तिरको कटहरको बोटमुनि गएर बसी तर कटहरको बोटले पनि उसलाई चिनेन।
भोर्लेबाट पारि हिरुखर्कतिर एकटकले हेरिरही। बरु त्यही हिरुखर्कले उसलाई खोजेजस्तो मानी। पारिबाट कसैले बाँसुरी बजाएर उसकै विरहको भाखा बजाएजस्तै सुनी। चिसापानीको डाँडामा च्यादरजस्तै बनेको पातलो बादलले उसलाई साउती मारेजस्तो मानी। दुब्लाएर ख्याउटे बनेको सरौँखोलाका रह–रहले उसलाई फेरि साइनो गाँस्न बोलाएजस्तो लाग्यो। दियालीडाँडा, निगालीतिरका बारीले बोलाएजस्तो लाग्यो। अनि हिँडेकी हो, जन्मगाउँ छाडेर मावली गाउँमा।
मेलढुंगा भनेर जानेको ढुंगा अचेल महाशिला भनेर पुजिने देउता बनेको सुनी। ढुंगा देउता बनेको कहानी उसले आफ्नै जीवनमा सुनी। माने के हुँदो रहेनछ र भन्ने लाग्यो। फेरि आफैँ जन्मेको आँगन बिरानो भएको अपमान सहेकी उसले सोची– ढुंगा त देउता बन्ने हाम्रो समाजमा किन म जस्ता बेचिएकाहरू छोरी रहन सक्दैनन्? राहु केतुको दशा लागेको भाग्य बोकेको छोरी मान्छेको निधारले किन फेरि दसैँका टीका लगाउन पाउँदैनन्? चुल्ठोमा गुराँस सिउरेर हिँड्ने केशले किन जमराको आशीर्वाद पाउँदैनन्? जन्माएपछि अन्माउनु पर्नेले किन चिन्दैनन् आँखाभित्रका दुखका लज्जावती झारहरू?
उसलाई भक्कानिएर रुन मन लाग्यो। तर भक्कानिएर रुँदा पनि सान्त्वना दिने मान्छे नभएपछि रुन पनि नसकिँदो रहेछ भन्ने बुझी। एकाएक सम्झी– उसका स्कुले साथीहरू। आँखाभित्र एकै पटक पल्टाई एक बिसे समयको पर्दा अनि देखी– रुपेशको जुलफी उस्तै गरी हल्लिँदै थियो, दयारामको आँखाले उसैलाई खोजिरहेका थिए, सबिताको जिस्कने बानी उस्तै थियो, मन्जुलाको हत्केलामा प्रमेशको नाम अझै पनि नीला अक्षरमा बाँचिरहेकै थियो।
त्यही बेला सम्झी– स्कुले जीवनमा भरेको अटो। अनि सरासर भित्र पसी, आफ्नो रहन नसकेको घरभित्र। आँटीमा गई, बार्दलीबाट एक पटक पिच्च थुकी आँगनमा र भित्र पसी लामो कोठाभित्र। सन्दुक खोली र पिँधमा भएको उसको पुरानो स्कुले अटो झिकी। काखीमा च्याप्प समातेर झरी सरौँखोलाको ओरालोतिर।
सरौँखोलाको उही पुरानो रहछेउ पुगेर ठुलो ढुंगामा बसी। अनि अटोका पाना पाना पढ्न सुरु गरी।
सम्झी– अटोमा अक्षर बगाएका ती स्कुले साथीहरू अहिले जिन्दगीमा कहाँ कहाँ बग्दै होलान्? यही खोलाजस्तै ढुंगामा बज्रिँदै होलान् कि कुलोजस्तै सललल बगेका होलान्? यस्तै सोच्दै पन्ना फर्काइरही। पाना नं. १७ मा पुगेर झल्याँस्स ब्युँझिई।
दहकी सुनिता गुरुङले लेखेको त्यो पाना यसरी टुङ्गिएको थियो– अनामिका, जिन्दगी कहाँ पुगेर पहरामा बज्रिन्छ भन्ने कसलाई थाहा छ र? कुनै दिन त्यसरी बज्रिएछ भने त्यो बज्राइको कथा लेखेर सुनाउनुपर्छ दुनियाँलाई। यसले हामी जहाँ भए पनि कथामा बाँच्न सक्छौँ नि है?
हो, त्यही लाइन पढेपछि उसमा अचानक आफू बेचिएको कथा लेख्ने भूत सवार भयो। तर लेख्ने पो कसरी? उसलाई लेखनको कोरी बाटी केही त थाहा थिएन।
जो सुकै मरोस् भन्दै ऊ देउता बनेको ढुंगा भेट्न निस्केकी हो माथि जोरकाफलतिर। पाखापानीको बाटो जोरकाफल आइपुग्दा झमक्क साँझ परेपछि त्यही पुरानो मेलढुंगामा अटोको सिरानी लिएर सुती। अनि पूरै चौरासी घण्टामा ब्युँझेपछि देउता बनेका ढुंगालाई पुजेर पश्चिमतिर लागी।
लुँखुदेउराली बजारमा कसैले गाउँपालिकामा कथाकार हाकिम आएका छन् भनेर कुरा गरेको नसुनेको भए यो कथा पनि लेखिँदैन थ्यो होला सायद! कतै त्यो सुनेपछि उसको आशा पलायो र सरासर त्यो भेटै नभएको कथाकारको कार्यकक्षसम्म उसका पैतालाले बाटो नापेका हुन्।
ऊ मेरो कार्यकक्षमा पसिरहँदा म भने झ्यालबाट तल पैँयूखोलातिरको हरियो धानको फाँट हेरेर मग्न थिएँ।
मेरो कोठाको ढोकैबाट सर भनेर बोलाउने पात्र उही थिई। म मेरो कुर्सीमा थिएँ, ऊ ढोकामा उभिएकी थिई। ऊ उसले पढेको बालारानी स्कुलको एक सय मिटरको दूरीमै कथा सुनाउने रहर बोकेर उभिएकी थिई।