सकसको सहरमा हाँसेको देखिन्छ
तर मुटुमा तुफानले बास लिएको हुन्छ
कहिले बाआमाको सपना बोकेर हिँड्छ
कहिले सन्तानको भविष्यमा जीवन राखेर बाँच्दछ।
बचपनदेखि नै उसलाई सिकाइन्छ,
‘तिमी छौ नि छोराजस्तो, डराएर हुन्न बाँचिन्छ’
पढ्न, कमाउन, सफल बन्न प्रेरित गरिन्छ
तर भावना भन्ने शब्द उसलाई कमै बुझाइन्छ।
रुन मन लाग्छ, तर रुने छुट छैन
किनभने ऊ ‘हिम्मत’ को परिभाषा हो
आमाले माया गर्छिन्, तर बुझेको जस्तो लाग्दैन
उनी बुझ्छिन् छोरा कमाइरहेको छ
तर छोराको भित्री थकाइ देख्दिनन्।
श्रीमती प्रेम गर्छिन्, साथ पनि दिन्छिन्
तर उनलाई लाग्छ— ‘ऊ मेरो लागि त मजबुत छ’
ऊ चुपचाप सुनिरहन्छ गुनासा
तर कहिल्यै भन्न सक्दैन—
‘म पनि थकित छु आज।’
ऊ सबैका लागि पहाड बनेर उभिन्छ
घरको छानो, परिवारको भरपर्दो बिर्को हो
तर उसले बोकेको बोझ कहिल्यै हलुका हुँदैन
किनभने त्यो बोझ सपनाको मात्रै होइन
जिम्मेवारीको वजन हो— जुन हर दिन गहिरिन्छ।
साथीहरू पनि उसलाई रमाइलो गर्ने मान्छे सम्झन्छन्
तर त्यो रमाइलोमा लुकेको छ—
थुप्रै अधुरो निद्रा, छटपटी रात र भोलिको चिन्ता
कसैले पनि सोध्दैन उसलाई
‘तेरो आफ्नै मनको कुरा के हो?’
कविता, कथा, गीतहरूमा
प्रेमिकाको पर्खाइ, आमाको ममता, छोरीको सपना लेखिन्छ
तर पुरुषको आँसुलाई शब्द दिइँदैन
किनभने उसलाई रोएर मन हलुका पार्न छुट दिइँदैन।
ऊ बाँचिरहन्छ—
पारिवारिक कर्तव्यको परिधिभित्र
समाजले बनाएको कठोरता भित्र
उसको आत्मा चिच्याइरहेको हुन्छ
तर आवाज कहिल्यै बाहिर आउँदैन।
त्यसैले,
जब ऊ सुतिरहेको देखिन्छ
थकानले हैन— पीडाले निदाएको हो।
जब ऊ मुस्कुराइरहेको देखिन्छ
त्यो हाँसो हैन— साहसको मुखौटा हो।
संसारले सोच्ने गर्छ—
पुरुष भनेको साहसी, बलियो र निडर पात्र हो
तर कहिलेकाहीँ उसलाई पनि चाहिन्छ—
एक न्यानो अँगालो, एक गहिरो समझदारी
जहाँ उसले भन्न सकोस्—
‘म पनि थकित छु, म पनि रुने मान्छे हुँ।’